काठमाडौं : आकर्षक तलबको वैदेशिक रोजगारमा सिंगापुर र चेक रिपब्लिक पठाइदिने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । इलाका सूर्याेदय नगरपालिका– १० घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका– १० पेप्सीकोला बस्ने ३२ वर्षीय मिकेश सुवेदी र धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका– ६ घर भई काठमाडौं महानगरपालिका– २ बस्ने ३७ वर्षीय सरन थापालाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
वैदेशिक रोजगारीमा सिंगापुर पठाइदिने प्रलोभनमा पारेर १३ जनाबाट ७१ लाख १९ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको जाहेरी परेको र सोही जाहेरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सरनलाई काठमाडौं तीनकुनेबाट पक्राउ गरेको बताएको छ । त्यस्तै, १ जनालाई चेक रिपब्लिक पठाइदिने भनी २ लाख ५० हजार लिएको उजुरीका आधारमा सुवेदीलाई पक्राउ गरेको हो ।
उनीहरू दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले बताएको छ ।