२०८२ भदौ २९ गते आइतवार / Sep 14 , 2025 , Sunday
२०८२ भदौ २९ गते आइतवार
Ads

कोरियाको प्रक्रिया सुस्त हुँदा ६० हजार प्रभावित

shivam cement
मध्यान्ह
२०८१ फागुन ८ गते २२:३४
 कोरियाको प्रक्रिया सुस्त हुँदा ६० हजार प्रभावित

काठमाडौं : आकर्षक मानिएको दक्षिण कोरियाको रोजगारी प्रक्रिया सुस्त हुँदा करिब ६० हजार नेपाली युवायुवती प्रभावित भएका छन् । दक्षिण कोरियाले भाषा परीक्षाको तालिका सार्वजनिक नगर्दा भाषा अध्ययन गरेका ३० हजारभन्दा बढी र रोजगारीमा लैजाने प्रक्रिया सुस्त हुँदा भाषा परीक्षा उत्तीर्ण गरेका पनि ३० हजार गरी ६० हजारभन्दा बढी युवायुवती अलमलको अवस्थामा देखिएका छन् ।

उत्पादनमूलक क्षेत्रका लागि अघिल्लो वर्ष पुसमा नै भाषा परीक्षाको आवेदन खुलाएको दक्षिण कोरियाले यस वर्ष फागुन पहिलो हप्ता बितिसक्दा पनि आवेदन खुला गर्ने छाँटकाँट नदेखाएको परीक्षाको प्रतीक्षामा रहेका भक्तपुरका सुन्दर नगरकोटी बताउँछन् ।

गत वर्ष भाषा परीक्षा पास गरेका १७ हजार ३० जनामध्ये अझैसम्म ३ हजार बढीको सीप परीक्षाको नतिजा नआएको इपीएस कोरिया शाखाका सूचना अधिकारी कमलराज श्रेष्ठको भनाइ छ । दक्षिण कोरियाले नेपालबाट यसअघि लैजाने गरेका कृषि, उत्पादन क्षेत्रका अतिरिक्त सेवामूलक, वन, होटल पानीजहाज निर्माणको रोजगारीमा पनि नेपाली लैजाने प्रचारप्रसार भएपछि युवायुवतीको ठूलो संख्या भाषाको तयारीमा लागेका थिए ।

आवेदकको संख्या ठूलो र उत्तीर्ण हुने संख्या सानो भएका कारण  कोरियाका लागि लोकसेवाको भन्दा चर्काे तयारी आवश्यक हुने धेरैजसोको भनाइ छ । भाषा अध्ययनकै लागि बेरोजगार युवायुवतीको लाखौं रुपैयाँ खर्च हुने गरेको छ ।  

भाषा परीक्षा उत्तीर्ण भए पनि रोजगारीका लागि जाने प्रक्रिया सुस्त छ । पानीजहाज कम्पनीमा काम गर्न भाषा परीक्षा पास गरेर छनोट भएका ३ हजार ५०० भन्दा बढी युवा १ वर्षभन्दा लामो समयदेखि उडानको प्रतीक्षामा बसेका छन् । 

भाषा परीक्षा पास गरेका ३० हजारभन्दा बढी कोरिया जाने पर्खाइमा रहेका कारण नयाँ भाषा परीक्षामा ढिलाइ भएको कतिपयको अनुमान छ । विगतमा भाषा परीक्षाका लागि आवेदक हिंसात्मक शैलीको प्रदर्शनमा उत्रिएका थिए ।

भाषा परीक्षाको आवेदन ढिलाइ हुनुमा त्यसले पनि असर गरेको कतिपयको भनाइ छ । नेपाल र दक्षिण कोरियाबीच गत नोभेम्बरमा सकिएको द्विपक्षीय श्रम सम्झौता पनि नवीकरण हुन बाँकी छ ।
निजी क्षेत्रका म्यानपावर कम्पनीलाई संलग्न गराउने भनिएको ‘इ–सेभेन’ भिसा पनि इपीएसकै प्रक्रियाबाट पठाउने नेपालले प्रस्ताव गरेको छ । त्यसले कोरियाली पक्षमा अलमल थपिदिएको कतिपयको भनाइ छ । कोरियाले इ–सेभेन भिसामार्फत अन्य देशबाट कामदार लगिरहेको छ । 

सन् २००८ देखि दक्षिण कोरियाले इपीएस प्रणालीमा अदक्ष  नेपाली कामदार लैजान सुरु गरेको हो । हालसम्म ६० हजारभन्दा केही बढी नेपाली इपीएसमार्फत रोजगारीका लागि दक्षिण कोरिया गएका छन् ।
यसअघि गत पुसमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले इपीएस उत्तीर्ण भई रोस्टरमा रहेकासहित नेपाली कामदारलाई शीघ्र रोजगारीमा लैजान दक्षिण कोरियाली राजदूत थी पार्क ताई योङसँग आग्रह गरेका थिए ।
 

ADV

सम्बन्धित खबर

Advertise