काठमाडौं : अष्ट्रेलियाको सिड्नीमा देशभक्तिपूर्ण चलचित्र ‘काँडेतार’को शनिबार सिभिक थिएटरमा विशेष प्रदर्शन सम्पन्न भएको छ ।
सो अवसरमा आयोजक डि. बोइज इन्टरटेनमेन्टका संचालक जीएम ठकुरी, पूर्वमहावाणिज्यदूत तथा समाजसेवी दीपक खड्का, एनआरएनए अष्ट्रेलियाका पूर्वअध्यक्ष मन केसी, मनोज अधिकारी र सिड्नी निवासी नेपालीहरूको तर्फबाट नेपाली चलचित्रको माध्यमबाट नेपाली समाजलाई पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै चलचित्रका निर्माता तथा कलाकार नवल खड्कालाई सम्मान गरिएको जीएम ठकुरीले जानकारी दिए ।
चलचित्र काँडेतार यथार्थपरक र राष्ट्रप्रेमले ओतप्रोत भएकाले चलचित्रलाई दर्शकहरूले साह्रै उत्कृष्ट प्रतिक्रिया पाएकाले अब अष्ट्रेलियाको अन्य स्थानमा थप शोहरू हुने ठकुरीले जानकारी गराए ।
अष्ट्रेलिया, सिड्नी निवासीप्रति आभारी छु भन्दै सामाजिक सञ्जालमा खड्का लेख्छन्, ‘देशभक्ति पूर्ण चलचित्र हेर्न आउनुभएका सम्पूर्ण सिड्नी र यसको आसपासमा रहनु, बस्नु हुने तपाईं प्रिय चलचित्रकर्मी, नेपालीजन र प्रत्यक्ष, अपत्यक्षरूपमा सहयोग पुर्याउनु हुनेप्रति आभार ।’
काँडेतारमा गायिका सत्यकला राई कार्यकारी निर्माता, अन्जु केसी, माकिको राई, नादिया खड्का, सनया खड्का निर्माता रहेका छन् । नवल खड्का, सुरविना कार्की, रेविका गुरुङ, गौरव पहाडी, प्रशान्त यादव, मुरलिधर, प्रेम सुब्बा आदि कलाकारको अभिनय रहेको काँडेतारको निर्देशक स्वयं नवल खड्का हुन् । निर्माण पक्षका अनुसार काँडेतार नेपालमा पुनः प्रदर्शन गरिने भएको छ ।