अर्घाखाँची : माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले माओवादी केन्द्र अहिले सरकारमा जाने सोचमा भन्दा संगठन बनाउन लागेको बताएकी छिन् ।
उपाध्यक्ष भुसालले पार्टीलाई २०६४ सालकै अवस्थामा फर्काउने अभियानमा रहेको बताइन् ।
प्रेस सेन्टर नेपाल अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार भेटघाटमा कार्यक्रममा बोल्दै भुसालले नेपालमा अहिले सस्थागत रूपमा भ्रष्टाचार बढिरहेको दाबी गर्दै माओवादी केन्द्रले सडक र सदनबाट जनताको पक्षमा सरकारलाई खबरदारी सुरु गरेको बताइन् ।
भुसालले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासन र समृद्धिका पक्षका काम गर्दा र भ्रष्टचारका फाइल एक पछि अर्को खोल्दा देशीविदेशी शक्तिको चलखेलका कारण कांग्रेस–एमालेले रातारात समीकरण बनाएको दाबी गरिन् ।
उनले आगामी निर्वाचनमा माओवादी केन्द्रले कुनै पनि राजनीतिक दलसँग चुनावी तालमेल नगर्ने बताइन् ।
भुसालले माओवादीको सरकारले जनताको पक्षमा काम गरेकै कारण सरकारबाट बाहिरिँदा कार्यकर्ताहरूको मनोबल उच्च भएको दाबी गरिन् । भष्टाचारलाई सस्थागत गर्नका लागि सरकारले संसदलाई छलेर अदालतले फैसला गरेका कतिपय मुद्दाबाट नेताहरूलाई चोख्याउने उद्देश्यले अध्यादेश ल्याएको दाबी गर्दै त्यो पास नहुने देखेपछि सरकार आफैले थापेको पासोमा फसेको टिप्प्णी गरिन् ।
भुसालले प्रत्यक्ष्य निर्वाचित कार्यकारी प्रमुखको पक्षमा माओवादी केन्द रहेको भन्दै विज्ञबाट मन्त्री बनाउने पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा रहेको उल्लेख गरिन् । पार्टी संविधान संशोधनको पक्षमा रहेको र अब निर्वाचन खर्चिलो बनाउने पक्षमा माओवादी नरहेको उनले जिकिर गरिन् । ‘हामीलाई सरकारमा जान होइन, जनतामा जान हतारो छ’, भुसालले भनिन, ‘हामी जनताको एजेन्डामा एकजुट सडक र सदनबाट सरकारलाई खबरदारी गर्छौँ, संघर्ष गर्छौँ’, उनले भनिन् ।