२०८१ फागुन १२ गते सोमवार / Feb 24 , 2025 , Monday
२०८१ फागुन १२ गते सोमवार
Ads

प्रमाणबिनाका उजुरी दर्ता नगर्न संघको ध्यानाकर्षण

hardik ivf
२०८१ फागुन १२ गते ०६:२०
प्रमाणबिनाका उजुरी दर्ता नगर्न संघको ध्यानाकर्षण

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायीले बिनाआधार र बिनाप्रमाणका उजुरीहरू दर्ता नगर्न र मेलमिलापको माध्यमबाट समस्या सहजीकरणका लागि वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीको ध्यानाकर्षण गराएको छ ।

संघका तर्फबाट आइतबार  महानिर्देशक खत्रीलाई सहजीकरणका लागि ध्यानाकर्षणपत्र बुझाउँदै संघका कार्य्बाहक महासचिव कर्णराज कटुवाल नेतृत्वको व्यवसायी टोलीले वैदेशिक रोजगार प्रशासनलाई सुधार गर्न विभिन्न विषयमा सुधार गरिनुपर्ने माग गरेको छ । संघले प्रमाणबिनाका आधारहीन उजुरी दर्ता गरिँदा व्यवसायीलाई हैरानी हुने वातावरण बनेको भन्दै पछिल्लो समय विभिन्न व्यक्ति तथा संस्थाका नाममा आधार र प्रमाणबिनाका उजुरीहरू दर्ता गर्ने प्रवृत्तिमा वृद्धि भएको जनाएको छ ।

प्रमाणबिनाका उजुरीले व्यवसायीहरू चेपुवा र झन्झटमा परेको भन्दै  व्यवसायीहरूको हित, संरक्षण र उनीहरूको अधिकारलाई कदर गर्न पनि महानिर्देशक खत्रीको गंभीर ध्यानाकर्षण गराएको कार्य्बाहक महासचिव कटुवालले मध्यान्ह दैनिकलाई जानकारी दिए ।

नेपालको आर्थिक समृद्धिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका वैदेशिक रोजगार व्यवसायीहरूलाई आवश्यक नीतिगत सहजीकरण र कानुनी संरक्षण प्रदान गर्नुपर्ने अवस्थामा सहजीकरण हुन नसकेको व्यवसायीहरूको गुनासो बढेका कारण पनि महानिर्देशकको ध्यानाकर्षण गराउनुपरेको कटुवालले बताए ।

उनले भने, ‘उजुरीहरू मुख्यतः केही अनधिकृत व्यक्ति तथा समूहहरूले आफ्नो स्वार्थ पूर्तिका लागि दर्ता गर्ने गरेका छन् । केही मिडियाकर्मी, सामाजिक अभियन्ता वा अन्य तेस्रो पक्षका व्यक्तिहरूले उक्साहटमा पारेर पनि दर्ता गरिएका उजुरीहरूले व्यवसायीहरूलाई मानसिक तनाव र आर्थिक नोक्सानी पुर्‍याएका छन् ।’

अनधिकृत उजुरी रोक्न उजुरीकर्ताको परिचयपत्र तथा पीडितसँगको सम्बन्ध अनिवार्य गर्ने व्यवस्था आवश्यक भएको ध्यानाकर्षणपत्रमा उल्लेख गर्दै संघले बिनाआधार र बिनाप्रमाणका उजुरीहरू दर्ता हुने र अनधिकृत व्यक्तिहरूलाई विभागका कार्यकक्षमा नै निर्विवाद रूपमा प्रवेश दिँदा गलत नियत भएका व्यक्तिहरुले त्यसलाई व्यक्तिगत लाभका लागि दुरुपयोग गरी वास्तविक समस्यामा रहने श्रमिक तथा पीडितहरूले न्याय नपाउने अवस्था उत्पन्न हुने बताएको छ ।

महानिर्देशक खत्रीलाई बुझाएको ध्यानाकर्षणपत्रमा अनधिकृत व्यक्तिहरूको पहिचान गर्न परिचयपत्र, पीडितहरूसँगको सम्बन्ध स्पष्ट गर्नुपर्ने भन्दै संघले उजुरी दर्ता गर्नुअघि अनिवार्य रूपमा मेलमिलापको प्रक्रियालाई अघि बढाउन पनि आग्रह गरेको छ । 

प्रारम्भिक छलफल नगरी उजुरी दर्ता गर्दा विशेषगरी व्यक्तिगत लेनदेन र अन्य विभिन्न प्रकारका कारोबारलाई समेत वैदेशिक रोजगारीको आवरण दिने गरिएको भन्दै कार्यबाहक महासचिव कटुवालले इजाजतवाला सस्थाहरूका विरुद्धमा उजुरीहरू दर्ता गर्नुअघि प्रमाणको आधार अनिवार्य बनाउन सकिए मात्र वैदेशिक रोजगारका सन्दर्भमा श्रमिकहरूका वास्तविक समस्याहरूको  समाधान हुने दाबी गरे ।

मेलमिलाप कक्षमा छलफल गरिएमा उजुरीहरूको वास्तविकता प्रस्ट हुने र समस्या समाधानको पहिलो प्रयास हुने संघको भनाइ छ ।

जबाफमा महानिर्देशक खत्रीले विभागले सकेसम्म प्रमाण हेरेर नै उजुरी दर्ता र कारबाही गर्ने गरेको बताए । संघका  सुझावहरूलाई गम्भीरताका साथ लिई व्यवसायीका समस्याहरू समाधान गर्ने आश्वासन पनि दिए ।

संघका कार्यबाहक महासचिव कटुवालको नेतृत्वमा गएको व्यवसायी टोलीमा संघ कार्यसमिति सदस्य राजेन्द्र बस्नेत, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका सचिव तुलसी पुरी एसोसिएसन कार्यसमिति सदस्यीय विद्यालक्षी बज्राचार्य र संघको मेलमिलाप प्रतिनिधि व्यवसायी नरेश पुनलगायतको सहभागिता थियो ।

ADV

सम्बन्धित खबर

Advertise