दोहा, कतार : कतारमा गायक डम्बर नेपाली सम्मानित भएका छन् । ‘मेरो भोइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को कतार अडिसनमा निर्णायकका लागि कतार आइपुगेका नेपालीलाई दलित एकता सञ्जाल नेपाल, राष्ट्रिय समन्वय समिति कतारले भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको हो ।
गायक नेपालीकै प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममार्फत उनलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । ३ दशकभन्दा लामो समयदेखि आफूलाई गीतसंगीतको क्षेत्रमा समर्पण गर्दै विशेष योगदान गरेको भन्दै सम्मान गरिएको थियो । सम्मान ग्रहण पश्चात् बोल्दै नेपालीले आयोजकलाई धन्यवाद ज्ञापन गरे । समाजमा अहिले पनि जातीय विभेद रहेको आफू जानकार रहेको बताउँदै नेपालीले आफ्नो जात धर्म र कर्मप्रति गर्व गर्नुपर्ने विचार राखे । उनले नेपाली गीतसंगीतका टेक्निकल पार्टदेखि सबै क्षेत्रमा दलितकै बाहुल्यता रहेको बताउँदै उनले दलितहरू बीचको एकता अपरिहार्यताको आवश्यकता औंल्याए ।
समितिका अध्यक्ष प्रकाश विश्वकर्माको सभाध्यक्षतामा सम्पन्न भएको सम्मान कार्यक्रममा बोल्ने वक्ताहरूले विश्व २१ औ शताब्दीमा चलिरहँदा पनि समाजमा छुवाछुत व्याप्त रहेको प्रति चिन्ता व्यक्त गरे । उनीहरूले सामाजिक रूपमा सहज जीवन यापन गर्न पनी विभेदको सिकार हुनु परेको प्रति चिन्ता व्यक्त गरे ।
समितिका वरिष्ठ उपाध्यक्ष विमल परियारले स्वागत मन्तव्य राखेका थिए भने महासचिव अमृत विश्वकर्माले सहजीकरण गरेका थिए । सम्मान कार्यक्रमको समापन गर्दै सभाध्यक्ष विकले देशका आमूल परिवर्तनमा संगीत र कलाकारले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा कलाकारहरूले पनि आधुनिक शैलीमा हुने विभेदप्रति गीतसंगीतमार्फत सचेतना फैलाउन आवश्यक रहेको बताए । सम्मान कार्यक्रममा नेपालीले आफ्ना हिट गीतहरू गाएर उपस्थितलाई मनोरञ्जन प्रदान गरेका थिए ।