काठमाडौं : ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि स्पष्टीकरण सोधेका छन् । यसअघि, सोधेको स्पष्टीकरणको जवाफ चित्त नबुझेको भन्दै मन्त्री खड्काले पुनः स्पष्टीकरण सोधेका हुन् ।
२४ घण्टे स्पष्टीकरण पत्रमा घिसिङले आन्तरिक र अन्तर्राष्ट्रिय भ्रमणलगायत विषय सोधिएका छन् । नेपाल–भारत द्विपक्षीय विद्युत् विनिमय समितिको बैठकमा कुन निकायको स्वीकृति लिएर गएको भनेर समेत पत्रमा सोधिएको छ ।
प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा खड्का नियुक्त भएयता आन्तरिक भ्रमण काज, बिदा, अन्तर्राष्ट्रिय भ्रमणमा कति पटक गएको भन्ने विषायमा पनि घिसिङलाई स्पष्टीकरण सोधिएको छ । गत पुस २२ र २८ गते समेत मन्त्री खड्काले घिसिङलाई स्पष्टीकरण सोधेका थिए ।
घिसिङले पुस २८ मा बुझाएको स्पष्टीकरण वस्तुगत र चित्तबुझ्दो नभएको समेत अहिलेको पत्रमा लेखिएको छ । ऊर्जामन्त्री खड्काले यसअघि पनि १५ बुँदे र ६ बुँदे विवरण माग गरेका थिए ।