२०८१ फागुन १४ गते बुधवार / Feb 26 , 2025 , Wednesday
२०८१ फागुन १४ गते बुधवार
Ads

मौद्रिक नीति समीक्षा : मुद्रास्फीति अपेक्षाभन्दा तल नै सीमित, आंशिक नीतिगत परिवर्तन

hardik ivf
मध्यान्ह
२०८१ फागुन १३ गते २०:३०
मौद्रिक नीति समीक्षा : मुद्रास्फीति अपेक्षाभन्दा तल नै सीमित, आंशिक नीतिगत परिवर्तन

काठमाडौं : आउँदो चैत २५ गतेदेखि कार्यकाल सकेर बाहिरिन लागेका गभर्नर महाप्रसाद अधिकारीले मंगलबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा ल्याएका छन् । चालु आर्थिक वर्षमा ल्याइएको मौद्रिक नीति कार्यान्वयनको अर्धवार्षिक समीक्षा गर्दै गभर्नर अधिकारीले विद्यमान व्यवस्थामा आंशिक परिवर्तन गरेका छन् ।

‘मूल्य वृद्धिको पछिल्लो प्रवृत्तिले नीतिगत दर बढाउनु पर्ने आवश्यकता औंल्याएको भएतापनि आर्थिक क्रियाकलाप विस्तारलाई समेत उच्च प्राथमिकतामा राख्नु पर्ने भएका कारण आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति जारी गर्दा लिइएको सजगतापूर्वक लचिलो कार्यदिशालाई यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ । 

समीक्षाअनुसार चालु आर्थिक वर्षको ६ महिनासम्मको औसत मुद्रास्फीति लक्ष्य भन्दा लक्ष्य भन्दा तल रहेको छ । ‘मुद्रास्फीतिलाई ५ प्रतिशतको हाराहारीमा राख्न मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गर्ने नीति लिइएकोमा चालु आर्थिक वर्षको ६ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति ४.९७ प्रतिशत रहेको छ’, समीक्षामा उल्लेख छ ।

बैंकिङ क्षेत्रको ब्याजदर करिडोर सीमा लक्ष्यको तल्लो बिन्दुमा नै कायम रहेको र बैंकबाट प्रवाह हुने मुद्राप्रदाय पनि प्रक्षेपणभन्दा तल नै रहेको समीक्षामा उल्लेख छ । ‘आर्थिक वर्ष २०८१/८२ मा विस्तृत मुद्राप्रदाय १२.० प्रतिशतसम्म र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा १२.५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरिएकोमा २०८१ पुस मसान्तमा वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १०.२ प्रतिशतले र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.० प्रतिशतले वृद्धि भएको छ’, समीक्षामा उल्लेख छ ।

‘मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५.० प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ’, प्रस्तुत अर्धवार्षिक समीक्षामा उल्लेख छ । साथै, अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा तरलता सहज भएसँगै अल्पकालीन ब्याजदर लगायत बैंक तथा वित्तीय संस्थाहरूको आधार दर तथा निक्षेप र कर्जाको ब्याजदरसमेत घटेको छ । २०८० पुसमा ९.३५ प्रतिशत रहेको वाणिज्य बैंकहरुको औसत आधार दर २०८१ पुसमा ६.६५ प्रतिशत कायम भएको छ । त्यसैगरी, २०८० पुसमा ७.३२ प्रतिशत रहेको वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर २०८१ पुसमा ४.७५ प्रतिशत कायम भएको छ । २०८० पुसमा ११.३८ प्रतिशत रहेको वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर २०८१ पुसमा ८.६९ प्रतिशत रहेको छ । 

त्यस्तै, समीक्षाअनुसार बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात २०८० पुसमा ३.७३ प्रतिशत रहेकोमा २०८१ पुसमा ४.९२ प्रतिशत पुगेको छ । २०८१ पुसमा वाणिज्य बैंकको ४.७३ प्रतिशत, विकास बैंकको ५.११ प्रतिशत र वित्त कम्पनीको १२.८५ प्रतिशत निष्क्रिय कर्जा अनुपात रहेको छ । २०८० पुसमा वाणिज्य बैंकको ३.६३ प्रतिशत, विकास बैंकको ३.६१ प्रतिशत र वित्त कम्पनीको ९.१८ प्रतिशत निष्क्रिय कर्जा अनुपात रहेको थियो । 

मौद्रिक नीतिको अधिकांश व्यवस्थालाई यथावत राखेपनि अर्धवार्षिक समीक्षामार्फत् लघुवित्तको कर्जाको ब्याजदर, व्याक्तिगत सवारी साधनको ऋण मूल्य अनुपात लगायतका केही विषयमा भने राष्ट्र बैंकले नीतिगत हेरफेर गरेको छ । 

लघुवित्त वित्तीय संस्थाहरूको कर्जाको ब्याजदर २०८२ जेठदेखि आधार दरसँग आवद्ध गरी तय गर्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकको समीक्षामा उल्लेख छ । ‘व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मूल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिनेछ’, समीक्षामा भनिएको छ, ‘असल कर्जाको विद्यमान १.१० प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई १.० प्रतिशत कायम गरिनेछ ।’

त्यस्तै, नन् डेलिभरेबल फरवार्डको हकमा प्राथमिक पुँजीको विद्यमान १५ प्रतिशतको सीमालाई वृद्धि गरी २० प्रतिशत कायम गरिने समीक्षामा उल्लेख छ ।

ADV

सम्बन्धित खबर

Advertise