२०८१ फागुन २० गते मङ्गलवार / Mar 04 , 2025 , Tuesday
२०८१ फागुन २० गते मङ्गलवार
Ads

मधेशमा ५१ अस्पताल अवैध, ‘एक्सन’मा प्रदेश सरकार

hardik ivf
निमिष झा
२०८१ फागुन १५ गते ०६:३०
मधेशमा ५१ अस्पताल अवैध, ‘एक्सन’मा प्रदेश सरकार

काठमाडौं : ३ माघमा सर्लाही हरिपूर्वा नगरपालिका– ५ की पविताकुमारी रायको बेहोसी अवस्थामै पित्तथैलीको शल्यक्रिया गरिएपछि मधेशमा जनताको स्वास्थ्यसँग कतिसम्म खेलबाड भइरहेको छ भन्ने तथ्य उजार भएको छ ।

जनकपुरस्थित मुस्कान अस्पतालले बहोसी अवस्थामा नै रायको शल्यक्रिया गरेको थियो । अस्पतालका डा. ज्ञानकुमार साह नेतृत्वको टिमले शल्यक्रिया गरेपछि होस नखुली अवस्था गम्भीर भएपछि उनलाई अन्त लैजान अस्पतालले भनेपछि उक्त अस्पताल दर्ताबिना नै सञ्चालनमा रहेको भेद खुल्यो । 

अस्पताल जस्तो संवेदनशील क्षेत्र सरकारको जानकारीबिनै चल्छ त ? मधेशमा अहिले यस्तै प्रश्न उठेको छ । आममानिसको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यस्तो संवेदनशील विषयमा सरकारले ध्यान नदिँदा मधेशभर नै अवैध र अनधिकृत रूपमा अस्पतालहरू बग्रेल्ती चलिरहेका पाइएको छ । 

मुस्कान अस्पताल दर्ता नभएको सार्वजनिक भएपछि मधेशमा थुप्रै अस्पतालहरू दर्ताबिनै चलिरहेका पाइएको छ । यसले जनस्वास्थ्यको क्षेत्रमा राज्यको निरीहता छताछुल्ल पनि भएको छ ।

यसरी दर्ताबिनै अस्पताल चलिरहेको पाइएपछि मधेशका मुख्यमन्त्रीले ‘एक्सन’ चलाएका छन् । अवैध र अनधिकृत अस्पतालहरू चलिरहेका घटना सार्वजनिक भएपछि मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह एक्सनमा उत्रिएका हुन् ।

मुख्यमन्त्री सिंह अहिले जनकपुरसहितका निजी अस्पतालहरूमा दैनिकजसो छड्के तथा अनुगमन गरिरहेका छन् । मुख्यमन्त्री सिंह कहिले एम्बुलेन्स चालक बनेर डाक्टरसँग कुरा गर्छन् त कहिले सेवाग्राही बनेर अकस्मात् अस्पताल पुगेर अनुगमन गर्छन् ।

मुख्यमन्त्रीको निरीक्षणपछि निजी अस्पतालमा बिरामीमाथि हुने लापरबाही र अस्पतालको गुणस्तरीयताको विषय भटाभट खुल्न थालेको छ । मुख्यमन्त्री ‘एक्सन’मा उत्रिएपछि मधेशमा अस्पतालहरू अवैध र अनधिकृत रूपमा संचालन भइरहेका तथ्य पनि खुलेको हो ।

यादवको शल्यक्रिया गर्ने मुस्कान अस्पताल मुख्यमन्त्रीको निर्देशनमा अहिले बन्द छ भने निर्देशन अटेर गर्ने जनकपुरको भ्रमरपुराचोकस्थित जनकपुर मोर्डन हस्पिटलका संचालक रामभरोस महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

अवैज्ञानिक अस्पताल

अवैध र अनधिकृत मात्र होइन, जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइलगायतका मापदण्ड पूरा नगरी चलेका अस्पताल मधेशमा बग्रेल्ती छन् । ती अस्पतालहरू पनि मुख्यमन्त्रीको नजरमा परेका छन् ।

मुख्यमन्त्री सिंहले त्यस्ता निजी अस्पतालहरूलाई बन्द गर्न लगातार दबाब बढाएका छन् । मुख्यमन्त्री सिंह, मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह, स्वास्थ्य मन्त्रालयका अधिकारी र सुरक्षा अधिकारीको लगातारको निरीक्षणमा राजधानी जनकपुरधामसहित प्रदेशमा संघ, प्रदेश र स्थानीय सरकारबाट स्वीकृति नलिईकनै अस्पताल संचालनमा रहेका खुलेको हो ।

मुख्यमन्त्री सिंहले स्वीकृति प्राप्त तर नवीकरण नभएका, स्वीकृति प्रक्रियामा रहेका र स्वीकृतिबिनै संचालनमा रहेका अस्पताललाई वैधता प्राप्त गरेर मात्र सेवा संचालन गर्न निर्देशन दिइसकेका छन् ।

अनुगमनका क्रममा मुख्यमन्त्री सिंहले निजी अस्पतालका लागि लिइएको स्वीकृति कागजातलगायत दस्ताबेज, मापदण्डअनुसार जनशक्तिको संख्यात्मक उपलब्धता र खटनपटन, स्वास्थ्य उपकरण, सेवाको उपलब्धता र गुणस्तर तथा भौैतिक संरचनाबारे जानकारी लिएका थिए ।

‘स्वीकृति नलिई मनपरी ढंगले अस्पताल चलाउन पाइँदैन’, मुख्यमन्त्री सिंहले भने, ‘स्वीकृति लिनुस्, अस्पताल राम्रोसँग चलाउनुस् । होइन भने बन्द गर्नुस् ।’ 

मुख्यमन्त्री सिंहका अनुसार निजी अस्पतालहरूमा धेरै लापरबाही रहेको अनुगमनमा पाइएको छ । ‘अधिकांश अस्पताल दर्ता नै नगरी संचालनमा रहेका भेटिएपछि सबैलाई बन्द गर्न निर्देशन दिएको छु’, उनले भने ।

मुख्यमन्त्री सिंह र स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिंहले अहिलेसम्म ५१ अस्पतालहरूको अनुगमन गरिसकेका छन्, जसअन्तर्गत दर्ता नभई संचालित १७ अस्पतालहरू भेटिएको छ । ती अस्पतालहरू अहिले बन्द गरिएको छ । मुख्यमन्त्री सिंहले ती अस्पतालहरूलाई दर्ता गरेर चलाउन निर्देशन दिएका छन् । 

यस्तै, २० अस्पतालहरू नवीकरण नगराएको भेटिएको छ । नवीकरण नभएका यी अस्पताललाई २ महिनाभित्र सबै कागजात लिएर प्रदेशको स्वास्थ्य मन्त्रालयमा नवीकरण गराउन निर्देशन दिइएको छ ।

यसैगरी, १४ अस्पतालहरू संचालन स्वीकृत नवीकरणका केही शर्तहरू पालना नगरेको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरले जानकारी दिए । यसबाहेक अनुगमन भएका अन्य ९ वटा अस्पताल भने नियमसंगत संचालित रहेका पाइएको छ ।

अवैध तथा नियमविपरीत संचालित निजी अस्पतालहरूको नियमनका लागि मुख्यमन्त्री सिंह सक्रियतापूर्वक लागेका ठाकुरले बताए । बन्द गरिएका अस्पतालहरू सबै अवैध तरिकाले संचालनमा रहेका पाइएपछि संचालनमा रोक लगाइएको जनस्वास्थ्य अधिकृत ठाकुरको भनाइ छ ।

ब्रह्मपुरीस्थित नवजीवन हस्पिटलले गत ४ वर्षदेखि र वैदेही हस्पिटल प्रा. लि.ले २ वर्षदेखि नवीकरण नगेका पाइएको छ । एड्भान्स सिटी स्क्यानले २ वर्ष ६ महिनादेखि नवीकरण नगराएको पाइएको छ । 

राजधानी जनकपुरधाम र यस वरिपरिका ९० प्रतिशत निजी स्वास्थ्य संस्था दर्ताबिना नै चलिरहेका मधेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झा बताउँछन् ।  

उनले भने, ‘पान पसल त दर्ता नगरी चलाउन पाइन्नँ तर मधेशमा थुप्रै अस्पताल दर्ताबिनै चलिरहेका छन् । दर्ता नगरी अस्पताल चलाउनु भनेको राज्यको कानुनलाई अटेर गर्नु हो ।’ 

कुनकुन अस्पताल बन्द ?

मुस्कान हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा. लि.
अरमान हस्पिटल
सहयोग हस्पिटल
जनकपुर मोडर्न हस्पिटल एन्ड रिसर्च प्रा. लि.
श्री माँ गायत्री मेमोरियल हस्पिटल
रामा मेमोरियल हस्पिटल प्रा. लि. 
जनकपुर सीता हस्पिटल प्रा. लि.
बी. एन. हस्पिटल एन्ड रिसर्च सेन्टर प्रा. लि.
ज्योति आँखा अस्पताल
न्युरो सेन्टर
कृष्णा अस्पताल प्रा. लि.
जनकपुर गोदावरी अस्पताल प्रा. लि.
जनक मेमोरियल अस्पताल प्रा. लि.
गीता श्री इ. एन. टी स्पेसिलिटी क्लिनिक
जनकपुर मोडेल अस्पताल प्रा. लि.

ADV

सम्बन्धित खबर

Advertise