काठमाडौं : दक्षिण कोरियाको एक बंगुर फार्ममा कार्यरत नेपाली कामदार मृत अवस्थामा फेला परेपछि कामदारको मानसिक स्वास्थ्य र कार्यस्थलको वातावरणबारेको बहस पुनः सतहमा आएको छ ।
दक्षिण कोरियाको छल्लानाम्दो मोक्पोस्थित ‘वुसंग पिग फार्म’मा कार्यरत म्याग्दीका २८ वर्षीय तुलसी पुन मगर शनिबार मृत अवस्थामा फेला परेका थिए । मगरको मृत्युबारे अनुसन्धान भइरहेको बताइएको छ तर कोरियाली प्रहरीको रिपोर्टमा ‘आत्महत्या गरेको’ उल्लेख गरेर कागजात नेपाली दूतावासलाई बुझाइएको छ ।
उक्त घटनालगत्तै दूतावासमा कार्यरत श्रम काउन्सिलर मैयाँ कँडेलसहितको टोलीले रोजगारदातासँग गरेको छलफलपछि अन्य १५ नेपाली कामदारहरूलाई त्यहाँबाट अन्यत्र जान रोजगारदाताले अनुमति अर्थात् रिलिज पेपर दिएको बताइएको छ । मृतक मगरको शव शुक्रबार नेपाल पठाउने तयारी रहेको छ ।
उक्त कम्पनीमा कार्यरत नेपालीले त्यस कम्पनीमा काम गर्दा अत्यधिक शारीरिक तथा मानसिक तनाव झेल्नुपरेको गुनासो सुनाएका छन् । रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत कोरिया गएकामध्ये विगत ५ वर्षमा ८५ जना नेपालीको ज्यान गएको दूतावासका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसी नेपालीले उल्लेख गरेकोे छ ।
दक्षिण कोरियाका लागि नेपाली राजदूत शिवमाया तुम्बाहाम्फेले समस्यामा पर्नासाथ खबर नगर्ने प्रवृत्तिले जोखिम बढाएको भन्दै कामको सिलसिलामा अप्ठ्यारो परेको खण्डमा दूतावासलाई जानकारी गराउन पुनः अपिल गरेको बताइन् । त्यसका लागि दूतावासले ०१०–८४१७–२३९७ नम्बर सार्वजनिक गरेको छ ।
रोजगारदातासँग भाषाको समस्या, कामको बोझ र नेपालबाट परिवारले दिने तनाव व्यवस्थापन गर्न नसक्दा दक्षिण कोरियामा नेपालीले आत्महत्याको बाटो रोज्ने गरेका पाइएको छ । त्यसको रोकथामका लागि दूतावासले अनलाइनमार्फत मनोपरामर्श र स्थानीय स्तरमा योग कक्षा पनि संचालन गर्दै आएको छ ।
खाडी मुलुक र मलेसियाको तुलनामा राम्रो कमाइ हुने दक्षिण कोरियामा बंगुर फार्म जस्ता ठाउँमा गाह्रो काम पनि गर्नुपर्ने अवस्था छ । राजदूत तुम्बाहाम्फेले कमाइ र कामका बारेमा नेपालमा नै जानेर बुझेर जानुपर्ने बताइन् ।
वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउनेमध्ये करिब १२ प्रतिशत नेपाली कामदारले आत्महत्याको बाटो रोजेका देखिएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार गत वर्ष वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका १ हजार २७३ मध्ये १४७ जना नेपाली कामदारले आत्महत्या गरेका थिए । रोजगारीको सिलसिलामा ज्यान गुमाउनेमध्ये मृत्युको पहिलो कारणमा विभिन्न प्रकारका रोगको संक्रमण, दोस्रो कारण प्राकृतिक मृत्यु र तेस्रो कारण आत्महत्या हुने गरेकोे बोर्डको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो समय सामाजिक संजालमा हुने चर्चाको लहलहैमा लागेर कमाइको ठूलो हिस्सा शेयरको कारोबारमा लगाउने र गुमाउने गरेका कारण पनि दक्षिण कोरियामा कार्यरत कामदार मानसिक दबाब र तनावमा पर्ने गरेका बताइन्छ ।
केही समयअघि नेपाल आएका मलेसियाका मनोसामाजिक परामर्शदाताहरूले कामदारको शारीरिक तन्दुरुस्ती र अन्य रोग परीक्षणसहित मानसिक स्वास्थ्य परीक्षणको विषय सरकारी नीतिको प्राथमिकतामा रहनुपर्ने सुझाव दिएका थिए । तर, त्यसतर्फ खासै पहल नदेखिएको बताइएको छ ।
मानसिक समस्यामा रहने युवाहरूले आत्महत्या गर्ने, बीचमै रोजगारी छाड्ने, कम्पनीसँग सेवा, सुविधा जस्ता विषयमा अनावश्यक झगडा गर्ने प्रवृत्ति पनि देखिएको मलेसियाका मनोपरामर्शदाताहरूको भनाइ छ ।