२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

ठाउँ ठाउँमा वर्षा र हिमपात

किसान उत्साहित, सडक र हवाई सेवा अवरुद्ध

draupadi film
मध्यान्ह
२०८१ फागुन १७ गते १७:१९
ठाउँ ठाउँमा वर्षा र हिमपात

काठमाडौं : पश्चिमी वायु प्रणाली सक्रिय हुँदा हिमाली र पहाडी क्षेत्रमा हिमपात तथा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको हिमाली भेगमा हिमपात र उच्च पहाडी क्षेत्रमा भारी वर्षा भएको हो । बागमती, लुम्बिनी र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

लामो समयको खडेरीले अन्न बाली बिग्रन थालेको भन्दै चिन्तित बनेका सुदूरपश्चिम र कर्णालीका किसानलाई हिमपात र वर्षाले राहत पुगेको छ । कर्णालीका हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा, कालीकोट र जुम्लाका अधिकांश ठाउँमा भारी हिमपात भएको छ भने अन्य पहाडी जिल्लामा गहुँ, जौंलगायत अन्न बालीलाई पुग्ने गरी वर्षा भएको छ ।

५ हजार मिटर उचाइका नारा र न्यालु लेकमा झन्डै ३ फिट हिउँ परेको छ भने हिमपातपछि जनजीवन कष्टकर भए पनि अन्न बाली, तरकारी र फलफूल सप्रिने भन्दै किसान खुसी भएको छ ।

कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा हिमपातले सेताम्मे बनेको छ । रारामा बिहीबार रातिदेखि हिमपात भएको छ । रारामा झन्डै २ फिटसम्म हिउँ परेको रारा राष्ट्रिय निकुञ्जका रेन्जर धर्मजित साउदले बताए ।

हिमपात भएपछि हिमाली जिल्लाका किसानले वरपर जमेको हिउँको डल्लो स्याउका बोट वरपर राख्न थालेको कर्णालीको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले बताए । उनका अनुसार स्याउको बोट आसपासको क्षेत्र सिञ्चित हुने भन्दै हिउँका डल्ला राख्न थालिएको हो । ‘जति धेरै हिउँ प¥यो, उति धेरै स्याउ फल्छ,’ उनले भने, ‘सिँचाइ गर्नुपर्ने झन्झटबाट किसानले मुक्ति पाए, स्याउमा रोगकिराको प्रकोप पनि यस वर्ष कम हुने देखियो ।’

हिमपातका कारण कर्णालीका सबै हिमाली जिल्लामा सुर्खेत र नेपालगन्जबाट हुने हवाई सेवा उडान रद्द भएको छ । हुम्लास्थित सिमकोट विमानस्थलमा झन्डै २ फिट हिउँ जमेको छ । हिमपातका कारण मध्यपहाडी राजमार्ग, गमगढी—नाग्म सडक र सिमकोट—हिल्सालगायत झन्डै एक दर्जन सडकमा यातायात सेवा बन्द भएको छ ।

हिमपातका कारण स्थानीयलाई घरबाहिर निस्कन समस्या भएको छ । बाक्लो हिमपातका कारण हुम्लाको नाम्खा गाउँपालिकाबाट सदरमुकाम सिमकोट आउने सबै पैदल मार्ग बन्द भएका छन् ।

बिहीबार रातिदेखि भएको हिमपातका कारण मध्यपहाडी लोकमार्गअन्तर्गतको रुकुम पूर्व–बागलुङ सडक खण्डको आवागमन अवरुद्ध भएको छ । पातिहाल्ने र आसपासमा हिमपात भइरहेकाले लोकमार्ग बन्द भएको रुकुम पूर्वका डीएसपी माधवराज खरेलले बताए ।

मुगुस्थित गमगढी—नाग्मा सडकअन्तर्गतको सातमोडमा भारी हिमपात भएपछि यातायात बन्द भएको छ । हुम्लाको सिमकोट—हिल्सा सडकका अधिकांश ठाउँमा बाक्लो हिउँ जमेको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । सिमकोट विमानस्थलको हिउँ हटाएपछि मात्र हवाई सेवा सुचारु हुने उनले जानकारी दिए ।

बिहीबार रातिदेखि बझाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा पनि वर्षा र हिमपात भएको छ । वर्षाले जयपृथ्वी राजमार्गको तमैल–जालेबगर सडक खण्डमा पहिरो खस्दा यातायातसमेत अवरुद्ध भएको छ । 

बझाङका सुर्मा, साइपाल, तलकोट, मस्टा, छबिसपाथीभेरा, थलारा, केदारस्युँ, दुर्गाथली, बित्थडचिर गाउँपालिका तथा जयपृथ्वी र बुंगल नगरपालिकाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । साइपाल गाउँपालिकाको धुली, काँडालगायत क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमेको छ । यस्तै खप्तड राष्ट्रिय निकुञ्जमा पनि बाक्लो हिउँ जमेको छ । 

बाजुराको गौमुल, बुढीनन्दा, हिमालीलगायत गाउँपालिकामा हिमपात भएको स्थानीयले बताएका छन् । यस्तै डोटीको गैरा, साउखर्क, डडेलधुराको हगुल्टेमा पनि हिमपात भएको स्थानीयले जानकारी दिएका छन् । 

हिमपात र वर्षासँगै बढेको चिसोका कारण जनजीवन पनि प्रभावित भएको छ । दैनिक ज्यालामजदुरी गर्ने, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । निरन्तर वर्षा र हिमपातले तामाङ समुदायको ग्याल्पो ल्होसार पनि प्रभावित भएको छ । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise