काठमाडौं : मार्च दोस्रो सातादेखि युगाण्डामा सुरु हुने महिला क्रिकेट शृंखलामा ४ देशको सहभागिता रहने भएको छ । ८ मार्चदेखि १६ सम्म युगाण्डा, नेपाल, हङकङ र नामिबियाको बीचमा टी–२०आई शृंखला हुने भएको हो ।
शृंखलामा सबै टोलीले एकअर्कासँग २–२ खेल खेल्ने छन् । ४ टिमको लिगमा शीर्ष २ टोलीबीच फाइनल हुनेछ भने तेस्रो र चौथो स्थानको टोलीका बीचमा तेस्रो स्थानका लागि खेल हुनेछ ।
नेपालले पहिलो खेल ८ मार्चमा नामिबियासँग खेल्ने छ । त्यस्तै दोस्रो खेल ९ मार्चमा युगाण्डासँग र तेस्रो खेल १० मार्चमा हङकङसँग खेल्ने छ ।
यस्तै, चौथो खेल १२ मार्चमा नामिबियासँग, पाँचौं खेल १३ मार्चमा युगाण्डासँग र छैटौं खेल १४ मार्चमा हङकङसँग खेल्ने छ ।
नेपाली टोली शृंखला खेल्न ५ मार्चमा युगाण्डातर्फ प्रस्थान गर्नेछ । शृंखलाका लागि पहिलो चरणको क्याम्पमा १८ जना खेलाडीहरूलाई प्रशिक्षणमा पनि बोलाइएको छ । क्याम्पमा केही नयाँ खेलाडीहरू पनि छन् ।
टोलीमा यू–१९ विश्वकप खेलेका ३ नयाँ खेलाडीहरू छन् । जसमा सना प्रवीन, रिया शर्मा र सीमाना केसी छन् । त्यस्तै शोभा रोकाया समावेश हुँदा शबनम राई फर्किएकी छन् भने सिता रानामगर टोलीमा छैनन् ।