काठमाडौं : केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा मच्छिन्द्र फुटबल क्लब प्रवेश गरेको छ ।
दशरथ रंगशालामा शनिबार भएको दोस्रो सेमिफाइनलमा मच्छिन्द्रले आयोजक केपी ओली एफसीलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको छ ।
यस जितसँगै मच्छिन्द्रले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा आर्मीले सङ्कटा फुटबल क्लबलाई २–१ को झिनो अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।
मच्छिन्द्रका स्टेफाने जलीले २ गोल गरे भने मनिष डाँगी र रोशन रानाले समान एक–एक गोल थपे ।
खेलको ३९औं मिनेटमा मनिष डाँगीले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५०औं मिनेटमा रानाले गोल थप्दै अग्रता दोब्बर बनाए । अन्तिम समयतिर जलीले ८५औं र ९०औं मिनेटमा गोल गर्दै मच्छिन्द्रको सहज जित पक्का गरे ।
अब उपाधि भिडन्तमा मच्छिन्द्रले विभागीय टोली त्रिभुवन आर्मीको चुनौती सामना गर्नेछ ।