काठमाडौं : सरकारले वैदेशिक रोजगारीमा जाने नयाँ कामदारका लागि श्रमस्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतवारको बैठकले उक्त निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता अर्थ तथा संचारमन्त्री युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् ।
नेपाल सरकारको नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले फागुन २९ गतेदेखि वैदेशिक रोजगारीमा जाने श्रम स्वीकृति स्थगन गर्ने निर्णग गरेको थियो । त्यसको भालिपल्ट फागुन ३० देखि श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन रहेको छ । त्यसपछि सबै म्यानपावर कम्पनी बन्द रहेका छन् । त्यसयता जापान र दक्षिण कोरीयामा केही नेपाली कामदार वैदेशिक रोजगारीमा जान पाएका भएपनि खाडी र मलेसिया रोजगारीमा जाने कामदार जान पाएका छैनन् ।
श्रमिक सूचना बैक स्थापना र मन्त्रालयको वार्षिक कार्यक्रमबारे जानकारी दिन आइतबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले श्रम स्वीकृति सूचारु गर्ने प्रस्ताव यसअघि नै मन्त्रिपरिषदमा पुगी सकेको जानकारी दिदै अन्तराष्ट्रिय उडान शुरु हुने निश्चित भएपछि श्रमस्वीकृति प्रदान गर्ने बताएका थिए । सरकारले भदौ १६ पछि सतर्कता अपनाएर अन्तराष्टिय उडान शुरु गर्ने निर्णय गरेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ५ गतेको बैठकले परिस्थिति हेरेर विदामा नेपाल आएका सहित नयाँ रोजगारीमा जाने कामदारलाई श्रम स्वीकृति दिने निर्णय गर्न सक्ने अख्तियारी मन्त्रालयलाई दिएको थियो । त्यसपछि वैदेशिक रोजगार कार्यालय काठमाण्डौंले असार १८ गतेबाट विदामा आएका तथा करार अवधि वाँकी रहेकाहरुलाई पुन: श्रम स्वीकृति दिन शुरु गरे पनि नयाँ श्रम स्वीकति दिएको छैन । सीसीएमसीले वैदेशिक रोजगारीमा जाने नयाँ कामदारहरुलाई कोभिड–१९ परीक्षणको खर्च सम्बन्धित कामदारले नै व्यहोर्ने गरी श्रम स्वीकृति दिनु पर्ने म्याण्डेट दिएको छ ।
लकडाउन र अन्तर्राष्ट्रिय उडान प्रतिवन्धका कारण रोजगारदाताले भिसा दिई वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति प्राप्त गरेका १ लाख १५ हजार कामदार विदेश जान नपाएको र पूर्व स्वीकृति प्राप्त गरेका ३ लाख २८ हजार ६ सय ८१ जना कामदारको अन्तिम श्रम स्वीकृति हुन नसकेको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रम स्वीकृति सकेसम्म छिटो खुला गर्न माग गरेको खियो । नेपाल राष्ट्र बैंकले पनि कोरोनाको संक्रमणका कारण वैदेशिक रोजगारीमा जाने कामदारहरुको संख्यासँगै विदेशबाट भित्रिने रेमिट्यान्स घट्ने क्रम जारी रहेको जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies