सीपमूलक वैदेशिक रोजगारमा जापान जाने युवा–युवतीलाई लक्षित गरेर राजधानीमा अत्याधुनिक जापान स्पेसिफिक स्किल्ड ट्रेनिङ सेन्टर संचालनमा आएको छ । हार्भेस्ट मुन ग्रुप प्रा. लि.ले राजधानीको गैरीधारामा स्थापना गरेको ग्लोबल स्किल प्रा. लि. नामको उक्त तालिम केन्द्रको आइतबार नेपाली संचालक तथा जापानी रोजगारदाता कम्पनी प्रतिनिधिले संयुक्त रूपमा उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा हार्भेस्ट मुन ग्रुप प्रा. लि.का अध्यक्ष तथा कार्यक्रमका सभापति रामप्रसाद श्रेष्ठले आकर्षक तलब पाउने जापानको रोजगारीमा जान चाहने युवा–युवतीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार तालिम दिएर सीपयुक्त र दक्ष बनाउने तालिम केन्द्रको मूल लक्ष रहेको बताए ।
आफूले मलेसियामा ३० हजार नेपाली युवा–युवतीलाई रोजगारीमा पठाएको तर उनीहरू अदक्ष भएकाले तलब र मानवअधिकारका पक्षमा कमजोर देखिएका कारण त्यसलाई हटाउन जापान सरकारको मापदण्डअनुसार योग्य बनाउनेगरी पाठ्यक्रम तयार गरेको पनि अध्यक्ष श्रेष्ठले बताए ।
जापानी रोजगारदाताहरू सीपलाई प्राथमिकतामा राख्ने, त्यसभन्दा बढी जापानी भाषामा दक्ष कामदारको खोजीमा रहेको भन्दै अध्यक्ष श्रेष्ठले जसरी भए पनि जापानी भाषामा पोख्त हुन प्रशिक्षार्थी युवा–युवतीहरूलाई आग्रह गरे । उनले भने, ‘भाषा जानेको कामदार ठगीमा पर्दैन भने सुपरभाइजरसँग आफ्नो समस्या राखी छलफल गरेर समाधान गर्न सक्छ । त्यसैले, रोजगारीमा जापान जानेका लागि भाषाको दक्षता अपरिहार्य छ ।’
सेन्टरले जापान जाने विद्यार्थीलाई नपढाउने भन्दै टीआईपी र एसएसडब्लूअन्तरगतका मात्र पढाउने भन्दै अध्यक्ष श्रेष्ठले सफल प्रशिक्षार्थीले अत्यन्तै न्यून शुल्कमा जापान पठाउने बताए । जापानमा नेपाली कामदार कर्मठ, इमानदार र बहादुरको पहिचान बनाएर काम गरिरहेको भन्दै अध्यक्ष श्रेष्ठले उक्त पहिचानलाई यथावत् राखेर जापान गएको कामदार सीप, पुँजी र प्रविधि लिएर स्वदेश आई रोजगारी सिर्जना गर्न सकोस् भन्ने उद्देश्य पनि तालिम केन्द्रको रहेको बताए ।
जापानी संस्था एनएसओका नेपाल प्रतिनिधि गणेशमान लामाले जापानले दक्ष विदेशी कामदार भित्र्याउन सन् २०१९ देखि विभिन्न मुलुकसँग श्रम सम्झौता गरी एसएसडब्लू प्रणाली अपनाएको जानकारी दिँदै फिलिपिन्स, थाइल्यान्ड जस्ता मुलुकले ३० हजार कामदार पठाउँदा नेपाल २ हजारमा सीमित रहेकाले जापानी श्रम बजारको मागअनुसार जनशक्ति आपूर्ति गर्न यस प्रकारका तालिम केन्द्र स्थापना आवश्यक भएको बताए । उक्त तालिम केन्द्रले केयर गिभर, कुक, वेट्रेस, स्काफोल्डिङलगायत १४ विधामा तालिम प्रदान गर्ने बताएको छ ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै सुलेखा श्रेष्ठले तालिम केन्द्रको स्थापना अन्तर्राष्ट्रिय अवसर प्राप्तिका लागि महत्त्वपूर्ण भन्दै जापानको श्रम बजार नेपालीका लागि उपयुक्त अवसर भएकाले नेपाली युवा–युवती उक्त अवसरबाट लाभ लिन अन्तर्राष्ट्रिय मापदण्डअनुसार सीप र क्षमताको विकासमा सक्षम रहून् भनेर तालिम केन्द्र स्थापना गरिएको बताइन् ।
कार्यक्रममा सुनागु होल्डिङ जापानका अध्यक्ष ससाकागुची ताकेहिरो, आईएमजी कम्पनी लिमिटेडकी मारिको यासुई, सुजुरान अस्पताल समूह, जापानका अध्यक्ष यामानो सिनिचिरो, एनडब्लूएसओ जापानका अध्यक्ष हिरोमी गोटो, सुनागु होल्डिङ, जापानका प्रतिनिधि किमुरा मनामी, एनडब्लूएसओका नेपाल प्रतिनिधि विष्णु सिंखडाको पनि विशेष उपस्थिति थियो ।
जापानी रोजगारदाताहरूले आगामी ५ वर्षमा १ लाख नेपालीलाई रोजगारी उपलब्ध गराउने लक्ष्य राखेको बताएका छन् । उनीहरूले जापानमा वृद्ध अवस्थाका नागरिकको जनसंख्या बढेको भन्दै जापान सरकारले २०२५ अप्रिलदेखि घरघरमा गएर काम गर्ने अनुमति दिएकाले विदेशी कामदारको तलब आकर्षक रूपमा बढ्ने जानकारी पनि दिएका छन् ।
जापानमा औद्योगिक मेसिन उत्पादन उद्योग, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स उद्योग, नर्सिङ तथा स्याहार, भवन सरसफाइ र व्यवस्थापन, कच्चा माल उत्पादन उद्योगदेखि कृषि, मत्स्यपालन तथा अक्वाकल्चर, खाना तथा पेय पदार्थ उत्पादन, खाद्य सेवासहित निर्माण, पानीजहाज निर्माण तथा मेसिनरी उद्योग, अटोमोबाइल मर्मत सम्भार, उड्डययन, होटलसम्बन्धी उद्योगमा विदेशी कामदारको माग रहेको छ ।
जापानले नेपालसहित फिलिपिन्स, इन्डोनेसिया, म्यानमार, चीन, कम्बोडिया, मंगोलिया, थाइल्यान्ड र भियतनामलगायतका देशबाट कामदार लैजाने गरेको छ । हाल जापानमा कामदार पठाएका पूर्वी एसियाली मुलुकहरूमध्ये भियतनाम, थाइल्यान्ड र इन्डोनेसियामा तीव्र आर्थिक वृद्धि भई आफ्नो देशमा नै रोजगारीका अवसर सिर्जना भएकाले ती मुलुकबाट कामदार जाने क्रम घटेको छ ।
भियतनाम, थाइल्यान्ड र इन्डोनेसियाबाट जापान जाने कामदार रोकिँदा नेपालीका लागि उक्त अवस्था अवसर बन्ने बताइएको छ । दक्ष जनशक्तिको उक्त माग पूरा गर्न ग्लोबल स्किल प्रा. लि.ले संचालन गर्ने यस्ता तालिम केन्द्र उपयोगी सावित हुने अनुभवीहरू बताउँछन् ।