बर्दिया : बर्दियाको गेरुवा गाउँपालिका र राजापुर नगरपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई ६ लाख २० हजार रुपैयाँको ‘युनिक छात्रवृत्ति’ वितरण गरिएको छ ।
युनिक नेपालले गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा रहेका माध्यमिक तहका १४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ देखि १२ कक्षासम्म अध्ययनरत ७७ जना विद्यार्थीहरुलाई छात्रवृत्ति रकम वितरण गरेको हो ।
कार्यक्रममा २७ जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँकादरले दिर्घकालिन छात्रवृत्ति र ५० जना विद्यार्थीलाई जनही ७ हजारका दरले अल्पकालिन छात्रवृत्ति प्रदान गरिएको छ ।
‘युनिक छात्रवृत्ति’ अन्तर्गत दिर्घकालिन छात्रवृत्ति सामुदायिक विद्यालयमा कक्षा ८मा अध्ययनरत विद्यार्थीहरुलाई ५ वर्षसम्म र अल्पकालिन छात्रवृत्ति ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई एक वर्षको लागि निर्देशिका बमोजिम विद्यार्थीहरुको आवेदन संकलन गरी छनोट समितिले गरेको निर्णय अनुसार प्रदान गरिएको हो ।
छात्रवृत्ति रकमको चेक युनिक नेपालका संरक्षक तथा पूर्व भूमिसुधार मन्त्री डा. गोपाल दहित लगायत गेरुवा गाउँपालिका तथा राजापुर नगरपालिकाका वडा अध्यक्षहरुले एक कार्यक्रमकाबीच छात्रछात्राहरुलाई हस्तान्तरण गरे ।
राजापुर नगरपालिकाको वडा नं. २ जोतपुरमा केन्द्रीय कार्यालय रहेको युनिक नेपालले उच्च शिक्षा हासिल गर्नका लागि युनिक छात्रवृत्ति लागु गरी प्रत्येक वर्ष छात्रवृत्ति वितरण गर्दै आएको छ । यसबाट विपन्न अवस्थामा रहेका नागरिकका बालबालिकाहरुलाई उच्च शिक्षा हासिल गर्न सहज भएको छ ।