लिस्बन : प्रवासमा रहेर पत्रकारिताको माध्यमबाट विशेष योगदान पुर्याएको भन्दै स्पेन निवासी पत्रकार अशिम लोप्चन तामाङलाई सम्मान गरिएको छ ।
बिरिसु मिडिया प्रालिद्वारा काठमाडौंमा आयोजित ‘तेस्रो स्टार म्युजिक एण्ड फिल्मस अवार्ड–२०८१’ को अवसरमा पत्रकार तामाङलाई ‘समाज सेवा र पत्रकारिता सम्मान’ द्वारा सम्मान गरिएको हो ।
नेपाल पत्रकार महासंघ युरोप शाखाका उपमहासचिव समेत रहेका तामाङलाई नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले ‘सम्मान पत्र’ प्रदान गरेर सम्मान गरेका थिए । काभ्रे जिल्ला खानिखोला–४, मा बुवा भिमबहादुर लोप्चन र आमा माइली माया लोप्चनको कोखबाट जन्मिएका उनी विगत ४ वर्षदेखि प्रवासमा रहेर पत्रकारितामा क्रियाशील रहँदै आएका छन् । प्रवासी भूमिमा रहेर नेपाली समुदायको हितमा समर्पित भइ पत्रकारिता र समाज सेवाको माध्यमबाट पूर्याएको योगदानको कदर स्वरूप तामाङलाई ‘समाज सेवा र पत्रकारिता सम्मान’ प्रदान गरेर सम्मान गरिएको बिरिसु मिडियाले जनाएको छ ।
अवार्ड कार्यक्रममा समाजमा विशिष्ट योगदान दिने अन्य व्यक्तिहरुलाई समेत सम्मान प्रदान गरिएको थियो । तामाङ विदेशमा रहेर पनि नेपाली समुदायलाई एकत्रित गर्ने, उनीहरूको हक–अधिकारको रक्षा गर्ने, आपतकालीन परिस्थितिमा सहयोग गर्ने, नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्ने लगायतका सामाजिक तथा परोपकारी कार्यमा सक्रिय रहदै आएका छन् ।
विभिन्न संघसंस्थामा आबद्ध भइ सामाजिक गतिविधिमा सकृय रहँदै आएका उनी कोरोनाको महामारी, बाढीपहिरो र भूकम्प पीडितको सहयोगमा सकृयताका साथ लागेका थिए । प्रवासमा रहेर पनि पत्रकारितासंगै समाजसेवामा लागि परेका उनी यसअघि माल्टामा पनि सामाजिक कार्यमा अग्रसर थिए ।
सो अवसरमा सम्बोधन गर्दै प्रथम उपराष्ट्रपति झाले निजी संस्थाहरुले सम्मान र अवार्ड कार्यक्रम गरेर नयाँ पुस्ताका कलाकारलाई हौसला प्रदान गरेको र पुराना कलाकारहरुलाई सम्मान गरेकोमा खुशी व्यक्त गरे ।
उनले बिरिसु मिडियाको प्रशंसा गर्दै भने, ‘सरकारी तहबाट गर्न नसकेको काम निजी संस्थाले आँटेर गरेको छ । यो राम्रो कामको खुलेरै प्रशंसा गर्छु ।’ कार्यक्रममा विशिष्ट अति(थिको रुपमा नेकपा समाजवादीका केन्द्रीय सदस्य संगीता तामाङ, युवा नेता एंव खानिखोला गाउँपालिका वडा नं ४ का वडाध्यक्ष निशान मोक्तान, युवा नेता मिलन थापा रहेका थिए । बिरिसु मिडियाका निर्देशक एवं कार्यक्रम संयोजक सुस्मिता स्याङ्तानले अवार्ड कार्यक्रम भव्यरुपमा सफल भएको र नेपालको इतिहासमै सबैभन्दा बढी समेटिएको बताइन् ।
कार्यक्रम बिरिसु मिडियाका अध्यक्ष विवेक लोप्चनको सभापतित्व, प्रबन्ध निर्देशक नरेन भट्टराईको स्वागत तथा सञ्चारकर्मी कर्म लामा लोलेको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा कलाकार, पत्रकार एंव विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।