बझाङ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बझाङ जिल्ला पार्टी कार्यालय स्थापना गरिएको छ । पार्टीका सक्रिय सदस्यहरूको अगुवाइमा आयोजित कार्यक्रममा पार्टीको झण्डा फहराउँदै, नाराजुलुससहित बजार परिक्रमा गरिएको थियो ।
रास्वपा बझाङ जिल्ला सभापति सत्यराज उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ नागरिक महेश्वरी सिंहको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा रास्वपा प्रदेश सल्लाहकार सत्यराज रावल, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुखहरू, सञ्चारकर्मी, व्यापारी समुदायका व्यक्तित्वहरू, रास्वपा नेताकार्यकर्ता, तथा पार्टीप्रति आस्था राख्ने शुभेच्छुकहरूको उल्लेखनिय उपस्थिति रहेको थियो । कार्यक्रममा वक्ताहरूले रास्वपाले अघि सारेका सिद्धान्त, नीतिहरू तथा बझाङमा पार्टीको उपस्थितिको महत्वबारे धारणा राखेका थिए ।
कार्यक्रममा सभापति उपाध्यायले पार्टी कार्यालय स्थापना भएसँगै जिल्लामा रास्वपाको औपचारिक राजनीतिक यात्रा थप मजबुत भएको उल्लेख गर्दै जनताको अभिमतलाई प्रतिनिधित्व गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि ज्येष्ठ नागरिक सिंहले नयाँ पुस्ताको नेतृत्वलाई सशक्त बनाउन र पारदर्शी शासन प्रणालीको विकास गर्न रास्वपाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
विशिष्ट अतिथि बजालले स्थानीय तहमा नयाँ राजनीतिक सोच आवश्यक रहेको भन्दै रास्वपाले त्यस दिशामा सकारात्मक प्रभाव पार्ने बताए ।
कार्यक्रममा विभिन्न कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए भने केही स्थानीय युवा समूहहरूले नृत्य प्रस्तुत गरेका थिए ।