काठमाडौं : इटहरीको कान्छीचोकस्थित इदगाहमा पकली मर्कजको इलाका स्तरीय भेला सम्पन्न भएको छ । भेलाले इटहरीको पकलीस्थित करिब दुई सय वर्ष पुरानो इस्लामी धार्मिक धरोहरहरू मर्कजी मस्जिद, मर्कजी कब्रिस्तान र मर्कजी इदगाहको संरक्षण तथा सम्वद्र्धन गर्न नयाँ कार्ययोजना ल्याएको छ । भेलाले इदगाह परिसरमा इस्लामी सांस्कृतिक केन्द्र स्थापना गर्न सरकारसँग माग राख्ने निर्णय गरेको छ ।
ईलाकाका मुस्लिम समुदायको शैक्षिक अवस्थामा परिवर्तन ल्याउन सन् १९०३ देखि पकली, इस्लाह टोलमा सञ्चालनमा रहेको मद्रसा इस्लाहुल मुस्लिमीनलाई व्यवस्थित रूपमा सञ्चालन गर्ने विषयमा समेत छलफल भएको छ ।
भेलाले उक्त मद्रसामा आधुनिक पाठ्यक्रम अनुसारको आवासीय सुविधा समेतको कन्या सेक्सन (बनात) सञ्चालन गर्ने अभियानलाई सफल पार्न सबैले सहयोग र समर्थन गर्ने र आ–आफ्ना घरका विद्यार्थी भर्ना गराउने, यस वर्षको जकात, फित्रा, सदका तथा अन्य सहयोग मर्कजी मद्रसा इस्लाहुल मुस्लिमीनलाई प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
भेलाले ईलाकाका सबै एमामहरूबीच नियमित समन्वय कायम गरी इस्लामी शिक्षा र सामाजिक सद्भावलाई प्रवद्र्धन गर्ने गतिविधि गर्ने तय गरेको छ । त्यस्तै भेलाले मजरा सोहनपुरमा नयाँ मस्जिद निर्माणका लागि आवश्यक जग्गा खरिद गर्न ईलाकाका समुदायबाट भरपूर आर्थिक सहयोग हुने कुरामा प्रतिबद्धता जनाएको छ । भेलाले पूर्व मन्त्री मोहम्मद जाकिर हुसैन, वडाध्यक्ष प्रभातकुमार आचार्य, डा.खालिद हुसेन, जफीर अहमद, मोहम्मद जिया हुसैन, अब्बास मन्सुरीलगायतलाई सल्लाहकारमा मनोनयन गरेको छ ।