त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावी प्रक्रिया सुरु भएको छ । आगामी ५ चैतमा मतदान हुने स्ववियु चुनावका लागि विद्यार्थी संगठनहरू दर्ता भएका छन् । विद्यार्थी संगठनहरूको दर्ता अगावै उम्मेदवारी घोषणाको लहर चलेको थियो । राजनीतिक दल निकट विद्यार्थी संगठनका तर्फबाट र स्वतन्त्र उम्मेदवारी घोषणाले क्याम्पसहरूलाई चुनावमय बनाइसकेको छ । ठूला क्याम्पसहरूमा भएको उम्मेदवारी घोषणाले राष्ट्रिय राजनीतिलाई पनि प्रभाव पार्न थालिसकेको छ । मुख्य कुरा त कुनै अप्रिय निर्णय नभए अब चुनाव हुने निश्चित भएको छ । विगतका नजिर हेर्ने हो भने नियमित चुनाव हुनु आफैंमा सफलता हो किनकि लामो समयसम्म स्ववियु चुनाव नहुने समस्याबाट विश्वविद्यालयहरू ग्रसित हुँदै आएका छन् ।
तर, यस पटक नियमित चुनाव हुने छाँटकाँट देखिएको छ । यसको जस विद्यार्थी संगठनहरूलाई नै जान्छ । विद्यार्थी संगठनहरूकै अग्रसरताका कारण स्ववियुको २ वर्षभित्रै हुन लागेको हो । यस पटक ठूला दलहरूबीच गठबन्धन नगर्ने घोषित नीतिका कारणले पनि स्ववियु चुनाव निर्धारित मितिमै हुन बल पुगेको छ । विशेषगरी नेपाली कांग्रेस र नेकपा एमालेको मूल नेतृत्व नै कुनै पनि चुनावमा गठबन्धन नगर्ने नीतिमा छन् । त्यसको असर स्ववियु चुनावमा परेको छ । नेविसंघ र अनेरास्ववियुले एक्लै चुनाव लड्ने निर्णय गर्दा अरू विद्यार्थी संगठनहरू पनि उत्साहित देखिएका छन् । कसैले पनि गठबन्धन नगर्दा स्ववियु जित्ने आँकलनका कारणले पनि अवरोध नभएको हुन सक्छ ।
अबको दायित्व निष्पक्ष निर्वाचन गराउनु हो । स्ववियु चुनाव निष्पक्ष रूपमा सम्पन्न गर्नु भनेको भोलिको समाजको सुरक्षा पनि हो किनकि उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरू माझ हुने यो चुनाव देशकै भविष्यसँग जोडिएको हुन्छ । आज स्ववियु चुनावमा उम्मेदवार बन्ने र मतदान गर्नेहरू भोलि समाजका महत्त्वपूर्ण भूमिकामा पुग्छन् । त्यस्तो बेला उनीहरुले स्ववियु चुनावमा भएको प्रयोगलाई दोहोर्याउने छन् । स्ववियु चुनावमै धाँधलीको अभ्यास सिके भने भोलि आमचुनावमा पनि त्यस्तै अभ्यास दोहोर्याउने छन् । यदि अन्तर्वस्तुका आधारमा बहस गर्ने र नेतृत्व चुन्ने अभ्यास गरे भने समाजका अरू संस्थाहरूमा पनि त्यही प्रभाव सर्ने छ । त्यसैले, स्ववियु चुनाव देशकै भविष्यसँग जोडिने भएकाले यसलाई अर्थपूर्ण रूपले हेर्न जरुरी छ ।