२०८२ असार ८ गते आइतवार / Jun 22 , 2025 , Sunday
२०८२ असार ८ गते आइतवार
Ads

कारागारका कैदीबन्दी घरेलु इलममा, मासिक १५ हजारसम्म कमाइ

shivam cement
मध्यान्ह
२०८१ फागुन २० गते १०:२५
कारागारका कैदीबन्दी घरेलु इलममा, मासिक १५ हजारसम्म कमाइ

चितवन : जिल्ला कारागार कार्यालय चितवनका कैदीबन्दीमध्ये दुई सय ३२  कैदीबन्दी घरेलु इलममा लागेका छन् । ती मध्ये एक सय ८० जना कैदी र ५२ जना बन्दी हुन् । कार्यालयमा अहिले ४५ महिला र छ सय ६८ पुरुष गरी सात सय १३ कैदीबन्दी छन् ।

कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुङ्गानाका अनुसार अहिले सबैभन्दा धेरै कैदीबन्दी गलैँचा बुन्ने र मुढा बनाउने काममा लागिरहेका छन् । गलैँचा बुन्ने ९१ र ९६ जना मुढा बुन्ने काममा छन् । यस्तै, यहाँ फर्निचर बनाउने, कपडा सिलाउने, पर्स (ब्याग) बनाउने, कपडा बुन्ने (ऊनीको टोपी, गलबन्दी, स्वेटर बुन्ने), गुडिया, खेलौना बनाउने कपासको बत्ती कात्ने, कपाल काट्ने, नाम्लो, डोरी बुन्ने, सुनचाँदीका गहना बनाउने, सिरकडसना बनाउनेलगायतका काममा उनीहरू लागेका छन् ।

उनीहरूले मासिक रु सातदेखि १५ हजारसम्म कमाउने गरेका छन् ।  कारागारमा कैदी जीवन बिताइरहेका सानु चेपाङले भने, “मैले गलैँचा बनाउने काम गर्छु । आफ्नो खर्च कटाएर मासिक रु सतदेखि आठ हजार छोराछोरीका लागि पठाउने गरेको छु ।” विगत सात वर्षदेखि गैँडा मारेको मुद्दामा कैद सजाय भोग्दै आउनुभएका चेपाङ आफू कारागार बाहिर रहँदा १२ वर्षको उमेरदेखि गलैँचा बनाउने काम गरेको सुनाए ।

उनले भने, “सुरुमा हामी दुई जना कैदी मिलेर यो व्यवसाय सुरु गरेका हौँ । अहिले यस पेसामा यहाँभित्रका एक सयभन्दा बढी आवद्ध छन् ।” उनीहरूले मासिक रु सातदेखि १० हजारसम्म बचाएर घर पठाउने गरेको उनले बताए । यहीको कमाइले उनले चार छोराछोरीको पढाइ खर्च, खानेपानी, बिजुलीको पैसा तिर्दै आएको सुनाए । अहिले आफ्नै नेतृत्वमा गलैँचा बनाउने काम भएको जनाउँदै उनले आफूले कारागारभित्रका झण्डै एक सय जनालाई काम दिन पाएकामा सन्तुष्ट रहेको बताए

आफूले सबैलाई तालिम दिएर काममा लगाएको उनको भनाइ छ । कैद सजाय तोकेकाले समय बिताउन र आफ्नो खर्च जुटाउन सीपमूलक काममा लाग्ने गरेको उनले बताए । गैँडा मुद्दामा नै कैद सजाय भोग्दै आएका पदमबहादुर प्रजा अहिले मुढा बन्न तल्लिन छन् । उनले मासिक आफ्नो खर्च व्यवस्थापन गरेर घरमा केही खर्च पठाउने गरेको बताए । विसं २०६९ मा गैँडा मारेको मुद्दामा उनी पक्राउ परी कारागार चलान भएका थिए । कारागार आइसकेपछि हुने मानसिक तनाव व्यवस्थापनका लागि आफूले काम गर्न थालेको र अहिले त्यही कामले मीठोमसिनो खान, आफ्नो इच्छाअनुसारको लगाउन र घरपरिवारमा समेत खर्च पठाउन सकिएको सुनाए ।

लामो समय कैद भुक्तान गर्नुपर्ने यस्ता कैदीलाई यहाँ भएका यस्ता उद्योगले राहत दिने गरेको उनले बताए। कार्यालयका निमित्त प्रमुख ढुङ्गानाका अनुसार अहिलेभित्र रहेर मानसिक समस्या हुनुभन्दा काम गरेर बस्नेको सङ्ख्या बढ्न थालेको छ । कारागार व्यवस्थापन विभागले घरेलु इलम केन्द्रका रूपमा यस्ता कारागारलाई विकास गर्न समेत प्रक्रिया अघि बढाएर कामदारको सङ्ख्या माग गरेको उनले बताए ।  यहाँ उत्पादित सामग्री स्थानीय बजारसहित काठमाडौँ, मकवानपुर, धादिङलगायतका ठाउँमा जाने गर्दछ । कैदीबन्दीले मेहनतका साथ काम गर्ने हुँदा उत्पादित वस्तु गुणस्तरीय हुने गर्छन् ।

ADV

सम्बन्धित खबर

Advertise