२०८१ फागुन २० गते मङ्गलवार / Mar 04 , 2025 , Tuesday
२०८१ फागुन २० गते मङ्गलवार
Ads

माध्यमिकी परिक्रमाका यात्री महोत्तरीको मडैमा

hardik ivf
मध्यान्ह
२०८१ फागुन २० गते ११:००
माध्यमिकी परिक्रमाका यात्री महोत्तरीको मडैमा

महोत्तरी : मिथिला माध्यमिकी परिक्रमाका यात्री आज महोत्तरी गाउँपालिकाको मडै पुगेका छन् । सोमबार जलेश्वरमा पाँचौँ दिनको रात्रि विश्राम गरेका उनीहरू मिथिलाविहारी(श्रीराम) र किशोरीजी (सीताजी)का प्रतिमा राखिएका डोला (डोली) साथ मडै पुगेका हुन् । मडैमा डोलासहितका यात्रीलाई महोत्तरी गाउँपालिकाका अध्यक्ष दिलीपकुमार पाण्डेसहितका गाउँवासीले स्वागत गरेका छन् ।

आइतबार मटिहानीबाट महोत्तरी प्रवेश गरेका यात्रीको जिल्लाको तेस्रो र यात्राको छैटौँ दिनको पडावस्थल (विश्रामस्थल)हो । जलेश्वरबाट चार किलोमिटरको दूरीको मडै अहिले परिक्रमाका यात्री र परिक्रमा मेला हेर्न आउनेको भीडले खचाखच छ । मडै पुगेपछि यात्रामा महोत्तरीको कुल दूरी २५ किलोमिटरमध्ये नौ किलोमिटर पूरा भएको छ । अब सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवन रात्रिबासपछि महोत्तरीको यात्रा पूरा हुनेछ ।

फागुन औँसीका दिन धनुषाको कचुरीस्थित मिथिलाविहारी मन्दिरबाट सुरु भएको १५ दिने डोलायात्रामा धनुषा, महोत्तरी र भारतको मधुवनीसहितका एक सय ३३ किलोमिटरको वृत्तभित्र यात्रा गरिन्छ । यसमा महोत्तरीमा पाँच, धनुषामा छ र मधुवनीमा चार रात्रिबासको परम्परा छ ।

अघि त्रेतायुगमा राम सीताले विवाहपश्चात् मिथिलाका विभिन्न क्षेत्रमा वनविहार गरेका पदचाप पछ्याउँदै १८औँ शताब्दीमा परिक्रमा परम्परा सुरु भएको मानिन्छ । राम सीताको डोलासहित गरिने यो यात्रा कल्याणदायक र मोक्षदायक रहेको मैथिल जनविश्वास छ ।

ADV

सम्बन्धित खबर

Advertise