२०८१ फागुन २० गते मङ्गलवार / Mar 04 , 2025 , Tuesday
२०८१ फागुन २० गते मङ्गलवार
Ads

विदेशमा कमाएको भन्दा फूल खेतीबाट धेरै आम्दानी

hardik ivf
मध्यान्ह
२०८१ फागुन २० गते ११:५९
विदेशमा कमाएको भन्दा फूल खेतीबाट धेरै आम्दानी

दाङ : घोराही उपमहानगरपालिका-१४ झिंगौराका ३९ वर्षीय किसान लोकेन्द्र रोका मगरको बारीमा अहिले पनि सय पत्रिका फुल ढकमक्क फुलेका छन् । उनी बेमौसमी समयमा पनि फूल, माला बिक्री गर्न व्यस्त छन् ।

उनले भने “आजभोलि फूल रु. चार सय किलो र माला रु. सात सय ६५ देखि रु. सात सय ९० सम्ममा बिक्री गर्दै आएका छु । ” चाडपर्वमा मात्रै नभई मगरको बारीमा अघिपछि पनि फूल फुलिरहेको हुन्छ । व्यावसायिक रूपमा फूल खेती गरेका उनी यही व्यवसायमा सन्तुष्ट छन् । आम्दानीको पाटो पनि राम्रो भएको छ, उनको फूल खेतीबाट । फूल खेती गर्नुभन्दा अघि उनी वैदेशिक रोजगारमा थिए ।

“विगत लामो समयदेखि विदेशमा रोजगार गरेर फर्केपछि फूल खेती थालेको हुँ”, उनले भने, “बाहिरी देशमा कमाएको भन्दा फूल खेतीबाटै आम्दानी हुने गरेको छ, अब विदेश नजाने बरु यही व्यवसायलाई अझ बढाउँदै लैजाने सोच छ ।”

रोजगारीका सिलसिलामा सात वर्ष कतारमा बिताएका रोका मगरले जिल्लामा दसैँ, तिहारलगायत पर्व एवं अन्य शुभ कार्यका लागि फूलको माग देखेपछि फूल खेती गर्न थालेका हुन् । उनले विगत १२ वर्षदेखि फूल खेती गर्दै आएका छन् । उनले गएको तिहारको समयमा डेढ बिघा जग्गा भाडामा लिएर फूल खेती गरेका थिए भने हाल दुई कठ्ठामासयपत्रीका फूल उत्पादन गरिरहेका छन् । अहिले घोराही, तुलसीपुर, लमहीलगायत ठाउँबाट फूलमालाको माग आइरहेको बताउँछन् ।

“जिल्लामा चाडपवको समयमा मात्र फूल खेती गर्ने किसान धेरै भएकाले बेमौसमी समयमा मागअनुसारको फूलमाला पुर्‍याउनै सकिरहेको छैन”, उनले भने, “यो समयमा फूल चिसोका कारण मर्ने भएकाले धेरै जोगाउन समस्या भएको हुँदा बढी क्षेत्रफलमा फूल खेती गर्न सकिँदैन, फागुन पहिलो हप्ताबाट बिक्री गर्न सुरु गरेको फूल जेठसम्म रहने छ ।” विभिन्न सभा, सम्मेलन, कार्यक्रम र विवाह, पूजालगायतका कार्यमा फूलमाला बिक्री भइरहेको उनी बताउँछन्।

घोराही-१४, झिंगौरामा यही फागुन २ देखि १८ गतेसम्म सञ्चालन भएको छैटौँ कृषि, पर्यटन तथा व्यापार महोत्सवमा किसान मगरले फूल, माला तथा विभिन्न फूलका बिरुवा बिक्री गरेर रु. एक लाख ५० हजार बढी आम्दानी गरेको बताउँछन् । साथै उनले विवाहको माला पनि तयार पारेर बिक्री गर्दै आएका छन् । उक्त माला रु. एक हजारमा बिक्री गर्ने गरेका छन् । किसान मगरले माला बनाउनका लागि विजलीको फूल पनि उत्पादन गरेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise