२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

पर्यटन क्षेत्रको विकास गर्न सबैलाई असल व्यवहार गर्न जरुरी छ : गृहमन्त्री लेखक

Nada
२०८१ फागुन २० गते १५:२१
Shares
पर्यटन क्षेत्रको विकास गर्न सबैलाई असल व्यवहार गर्न जरुरी छ : गृहमन्त्री लेखक

भैरहवा : गृहमन्त्री रमेश लेखकले पर्यटन क्षेत्रको विकास गर्न सबैलाई असल व्यवहार गर्न जरुरी रहेको बताएका छन् । रुपन्देहीको बेलहियास्थित अध्यागमन कार्यालयको आज एक कार्यक्रमबिच उद्घाटन गर्दै उनले अध्यागमन कार्यालयमा कार्यरत कर्मचारीलाई पर्यटक र आमसेवाग्राहीसँग नम्र, सरल र मिठासपूर्ण व्यवहार गर्न आग्रह गरे ।

ncell

कर्मचारीको व्यवहारले नै मुलुकको अवस्था बताउने उल्लेख गर्दै गृहमन्त्री लेखकले सचेत भएर सौहार्दपूर्ण तरिकाले सेवा दिन कर्मचारीलाई निर्देशन दिए। ‘अध्यागमन भनेको मुलुकको ऐना हो,’ उनले भने, ‘कर्मचारीले सेवा दिँदा सभ्यता र विनम्रतापूर्वक ढंगले दिनुपर्छ। कहिलेकाहीँ पर्यटक र अन्य सेवाग्राही कागजी प्रक्रिया नमिलेपछि रिसाउन सक्छन्, तर यस्तोवेला कर्मचारी विनम्रतापूर्वक प्रस्तुत हुनुपर्छ। सेवाको भावनाले काम गर्नुपर्छ । रिसाउने र सेवाग्राहीलाई गलत व्यवहार गर्ने छुट कर्मचारीलाई छैन ।’

गृहमन्त्री लेखकले यहाँ निर्माण गरिएका पूर्वाधारले रुपन्देहीको बेलहिया नाकालाई मुलुककै ठुलो नाकाका रूपमा स्थापित गरेको बताए । मुलुकका सीमा क्षेत्रमा १३ अध्यागमन कार्यालय रहेका र ती कार्यालयले पर्यटकलाई नेपालमा घुमफिर गर्न सहज बनाएको उनको भनाइ थियो ।

‘पछिल्ला दिनमा सबै नाकाबाट पर्यटक आगमन राम्रो पाइएको छ । यो ठाउँ बुद्ध जन्मस्थल भएकाले धार्मिक पयर्टनको सम्भावना छ। सरकारले पर्यटनमैत्री वातावरण बनाइरहेको छ, पर्यटकको आगमनलाई व्यवस्थित गरिरहेका छौँ,’ गृहमन्त्री लेखकले भने, ‘सरकारको लक्ष्य पर्यटक आगमन वृद्धि गर्ने हो । पर्यटक बढ्दा यसले मुलुकलाई आर्थिक रूपमा समृद्ध बनाउँछ ।’

नेपालीहरू संसारकै सबैभन्दा राम्रो संस्कृतिमा हुर्किएका नागरिक भएको उल्लेख गर्दै गृहमन्त्री लेखकले अध्यागमन कार्यालयमा जस्तो व्यवहार हुन्छ, नेपालबारे पर्यटकले त्यही बुझ्ने बताए। वर्तमान सरकारले समृद्धिलाई पछ्याइरहेको उनको भनाइ थियो  ।

‘सरकारले भ्रष्टाचार नियन्त्रण गर्ने, सुशासन कायम गर्ने तथा लगानी र व्यवसायीमैत्री वातावरण बनाउने काम गरिरहेको छ,’ गृहमन्त्री लेखकले भने, ‘परिणाम तत्कालै नदेखिए पनि बिस्तारै नतिजा आउँछ।’ सरकारले संविधानको रक्षा गर्दै मुलुकमा दिगो शान्ति, विकास र समृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ थियो ।

पछिल्लो समय मुलुकको अर्थतन्त्रमा राम्रा संकेतहरू देखापरेको गृहमन्त्री लेखकले बताए । ‘सरकारका कामको निजी क्षेत्रबाट प्रशंसा भएको छ । हामीले अर्थतन्त्रमा देखिएका समस्या हल गर्न केही अध्यादेश जारी गरेका छौँ, ती अध्यादेशमा समेटिएका विषयवस्तुको सबैले प्रशंसा गर्दै छिटो कार्यान्वयनमा लैजानुपर्ने सुझाव दिएका छन्,’ उनले भने । गृहमन्त्री लेखकले अध्यादेश केही समयमै पारित हुने र आर्थिक क्षेत्रमा थप सुधार आउने दाबी गरे ।

सोही कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले लुम्बिनीको प्रवेशद्वार भएकाले यहाँको विकासमा लागिपरेको बताए । सीमा क्षेत्रको सडक लामो समय नबन्दा धुलोले स्थानीय र पर्यटकलाई हैरानी भएको उनको भनाइ थियो । ‘यो ठाउँको विकास हुँदा मुलुकले पर्यटन क्षेत्रमा फड्को मार्नसक्ने धेरै आधार छन्,’ प्रमुख खाँले भने ।

१० करोड २५ लाखको लागतमा उक्त कार्यालय भवन निर्माण गरिएको हो । अपांगमैत्री र भूकम्प प्रतिरोधी रहेको यो भवनमा अग्नि नियन्त्रण उपकरण जडित छ ।

ताजा खबर

सम्बन्धित खबर