दोहा कतार : सधैँ रौनकताले भरिने कतारको सनैया क्षेत्रमा रहेको फूलबारी रेस्टुरेन्टमा सोमबार साँझ शान्त थियो । हलमा उपस्थित सबै मौन तथा मलिन अवस्थामा थिए । साँझको साढे सात बजेतिर पोडीएममा रहेका कार्यक्रम सञ्चालक देवराज पुन मगरले अब कार्यक्रमको सुरुवात गरौँ है भने तब हलमा एकाएक सन्नाटा छायो ।
स्टेजमा मन्द मुस्कानसहितको एक फोटोलाई फ्रेममा माल्यार्पण गरी अन्तिम श्रद्धाञ्जलीको लागि राखिएको थियो । उक्त फोटो व्यवसायी तथा सामाजिक व्यक्तित्व गुल्मी जिल्ला मालिका गाउँपालिका ५ छाप निवासी स्वः झविन्द्र आचार्यको रहेको थियो । गत फेब्रुअरी १९ तारिख साँझ ८ बजे कतारको आबुहामुर सडक किनारमा उभिएका आचार्यलाई तीव्र गतिमा अनियन्त्रित भइ आएको लिमोजिन ट्याक्सीले ठक्कर दिँदा घटनास्थलमै ज्यान गएको थियो । आचार्यको १३ औं दिनको पुण्य तिथिको अवसरमा श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा गुल्मी सेवा समाज कतारका अध्यक्ष कमल अर्यालले आचार्यको जीवनी वाचन गरेका थिए । अर्यालले जीवनी वाचन गर्दै गर्दा हलमा उपस्थित अधिकांशको आँखाको डिलमा आँसु प्रस्ट देखिन्थ्यो । आचार्य रोजगारीको सिलसिलामा १२ वर्षको कलिलो उमेरमा भारतको नयाँ दिल्ली पुगेका थिए । केही वर्ष काम गरी सन् २००७ मा श्रमिकको रूपमा कतार छिरेका स्व.आचार्यले केही समय श्रमिक रूपमा काम गरे पनि हाल कतारमै आफ्नै व्यवसाय गर्दै दुई दर्जन भन्दा बढीलाई रोजगारी प्रदान गर्दै आएका थिए ।
कार्यक्रममा सहभागीहरूले आचार्यको फोटोमा फुलगुच्छासहित श्रद्धाञ्जली व्यक्त गर्दै गर्दा हलमा सन्नाटा छाएको थियो । आचार्यलाई श्रद्धाञ्जली अर्पण गर्न आइपुगेका कतारका लागि नेपाली राजदूत रमेश चन्द्र पौडेलले आफू कतारमा नयाँ भएको हुँदा आचार्यसँग सामिप्यता नभए पनि उनी असल समाजसेवी भएको आफूले पाएको बताए । सामाजिक संस्था गुल्मी सेवा समाज कतारको वरिष्ठ सल्लाहकार, गैरआवासीय नेपाली संघ कतारका सह–कोषाध्यक्ष, लुम्बिनी प्रदेश समन्वय परिषद् कतारको उपाध्यक्षको जिम्मेवारीमा रहेका उनी मोना कतार बहुउद्देश्यीय अक्षयकोषका आजीवन सदस्य, बागलुङ सेवा समाज, दाङ देउखुरी सेवा समाज दोहा कतारका मानार्थ सदस्य र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कतार शाखाका सल्लाहकार पदमा थिए ।
कार्यक्रमको अन्त्यमा बोल्दै गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष तथा कार्यक्रमका सभापति रमेश भट्टले आचार्यको दुर्घटना हुनुपूर्व र दुर्घटनापछि घटनाक्रमको स्मरण गरेका थिए । भावुक हुँदै कार्यक्रमको समापन गरेका भट्टले आचार्यको शव पठाउन साथ सहयोग गर्ने सबैप्रति कृतज्ञता ज्ञापन गर्दै शोक सन्तप्त परिवारजनमा कतारमा रहेका सबै नेपालीको तर्फबाट गहिरो समवेदना प्रकट गरेका थिए ।
कतारदेखि गृह जिल्लासम्म आर्थिक नैतिक भौतिक सहयोग गर्न सदैव तत्पर रहने आचार्यको श्रद्धाञ्जली सभामा एनआरएनए आइसीसीका पदाधिकारीहरू, कतारमा स्थापित विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सामाजिक व्यक्तित्व, पत्रकारसहित शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको थियो ।