२०८१ फागुन २२ गते बिहिवार / Mar 06 , 2025 , Thursday
२०८१ फागुन २२ गते बिहिवार
Ads

आजीवन नेता, बदलिनै पर्ने प्रवृत्ति

hardik ivf
२०८१ फागुन २१ गते ०६:१५
आजीवन नेता, बदलिनै पर्ने प्रवृत्ति

पार्टी निर्माणको ५० वर्षपछि पनि नारायणमान बिजुक्छे नै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष चयन भएका छन् । भक्तपुरमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट ८४ वर्षीय बिजुक्छे निर्विरोध अध्यक्ष चयन भएका हुन् । उक्त पार्टीबाट प्रतिनिधिसभा सदस्य रहेका प्रेम सुवाल सचिव चयन भएका छन् भने २९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको छ । यो पार्टीका संस्थापक नेता बिजुक्छे नै हुन् । कम्युनिस्ट पार्टीहरू छिन्नभिन्न रहेका अवस्थामा २०३१ सालमा बिजुक्छेले आफ्नै नेतृत्वमा नेमकिपा गठन गरेका थिए । पार्टी गठनदेखि निरन्तर उनी नेमकिपाका अध्यक्ष छन् । कुनै बेला यो पार्टीको प्रभाव देशैभर थियो । विशेषगरी पश्चिम पहाडबाट संसदीय निर्वाचन जित्ने अवस्थामै नेमकिपा थियो तर अहिले भक्तपुर केन्द्रित छ, अरूतिर नाम मात्रको संगठन छ । 

भक्तपुरको एउटा क्षेत्र र भक्तपुर नगरपालिकामा अरू पार्टीको प्रभाव बढ्न नदिएर नेमकिपाले पृथक् पहिचान बनाएको छ । गत आमनिर्वाचनदेखि बिजुक्छे आफैं भने निर्वाचन लड्न छाडेर प्रेम सुवाललाई अगाडि बढाएका छन् । तर, पार्टी नेतृत्व भने यो उमेरमा पनि हस्तान्तरण गर्न जरुरी ठानेनन् । वैधानिक सुविधाकै कारणले पनि थप ५ वर्ष बिजुक्छे पार्टी अध्यक्ष हुने छन् । अरू कुरा बिर्सने हो भने बिजुक्छे ९० वर्षको आसपाससम्म पनि अध्यक्ष रहने कुरा नेपाली राजनीतिकै प्रवृत्ति हो । बिजुक्छे मात्र नभएर अरू नेताले पनि जीवित रहेसम्म नेतृत्व नछाड्ने प्रवृत्ति कायम राखेका थिए । 

नेपाली कांग्रेसमा प्रायजसो आजीवन सभापतिहरू रहे । हालका सभापति शेरबहादुर देउवा २०५९ देखि नेतृत्व तहमा छन् । कम्युनिस्टहरू अझ डरलाग्दो प्रवृत्ति छ । नेतृत्वबाट हट्नुपरे पार्टी नै फुटाउने रोग कम्युनिस्टहरूमा देखिन्छ । मोहनविक्रम सिंह, माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल, सीपी मैनालीहरू ४ दशक पहिले पनि पार्टी प्रमुख नै थिए । केपी शर्मा ओली एमालेको तेस्रो पटक अध्यक्ष बन्ने संभावनाबारे चर्चा हुने गरेको छ । मधेश केन्द्रित दलहरूमा पनि महाधिवेशन गर्ने तर नेतृत्व नफेर्ने रोग सरेको छ, जबकि युवा नेतृत्वको खोजी आमप्रवृत्ति बन्न पुगेको छ । गत आमनिर्वाचनको सन्देश पनि नेतृत्व परिवर्तन नै हो । तर, सर्वसाधारणको आमप्रवृत्ति बेवास्ता गर्ने डरलाग्दो रोग नेतृत्व पंक्तिमा छ । यस्तो परस्पर विरोधी प्रवृत्ति सधैं सँगै नचल्न सक्छ, बेलैमा सोच्न आवश्यक छ ।

ADV

सम्बन्धित खबर

Advertise