२०८१ फागुन २२ गते बिहिवार / Mar 06 , 2025 , Thursday
२०८१ फागुन २२ गते बिहिवार
Ads

संघको साधारणसभा र निर्वाचनको नयाँ मिति घोषणा

hardik ivf
२०८१ फागुन २१ गते ०६:२०
संघको साधारणसभा र निर्वाचनको नयाँ मिति घोषणा

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आगामी २९ चैत शुक्रबार निर्वाचनसहितको साधारणसभाको मिति तोकेको छ । संघ कार्यसमितिको मंगलबार बसेको बैठकले निर्वाचनसहितको साधारणसभाको मिति तोकेको हो ।

संघले भवन खरिद, संख्या सय समस्या समाधान, सेवा शुल्क परिमार्जनसहित विभिन्न समस्या वर्तमान कार्यसमितिले टुंगोमा पुर्‍याउन सहज हुने कारणहरू देखाउँदै गत २ फागुनान तय भएको कार्यसमितिको निर्वाचनसहितको साधारणसभा १७ असारका लागि सारेको थियो ।

संघका सचिव कर्णराज कटुवालले भवन खरिदको ऐतिहासिक काम सकिएको र विभिन्न घटक तथा वैदेशिक रोजगार व्यवसायीबाट कार्यसमिति निर्वाचन छिटो हुनुपर्ने माग निरन्तर आएकाले पूर्वनिर्धारित मितिभन्दा साढे २ महिनाअघि नै कार्यसमितिको निर्वाचनसहितको साधारणसभाको मिति तोकिएको जानकारी दिए ।

२ फागुनको साधारणसभा सार्ने संघको निर्णयअघि संघका पूर्वअध्यक्ष विमलप्रसाद ढकाल, संघका पूर्व प्रथम उपाध्यक्ष तथा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका पूर्वअध्यक्ष प्रज्ञान न्यौपाने, एसोसिएसनका पूर्वकार्यकाहक अध्यक्ष तथा संघ पूर्वमहासचिव सुजितकुमार श्रेष्ठले संघमा लिखित निवेदन दर्ता गराउँदै मिति परिवर्तनको माग गरेका थिए । त्यसपछि संघ कार्यसमितिले निर्वाचन सार्ने निर्णय गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई जानकारी गराएको थियोे ।

निर्वाचन सार्ने संघको निर्णयलगत्तै तत्काल संघको साधारणसभा र निर्वाचन हुनुपर्ने माग गर्दै नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनसहित वैदेशिक रोजगार क्षेत्रका ८ संस्थाले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको ध्यानाकर्षण गराएका छन् ।

एसोसिएसनसहित नेपाल वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च, एकीकृत वैदेशिक रोजगार व्यवसायी संस्था नेपाल, नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समिति, नेपाल वैदेशिक रोजगार तमुधी समाज, नेपाल वैदेशिक रोजगार तामाङ समाज, तराई वैदेशिक रोजगार व्यवसायी समाज, नेपाल वैदेशिक रोजगार व्यवसायी मगर समाज विरोधमा उत्रिएका थिए ।

एसोसिएसनका अध्यक्ष दीपक थापाले आमव्यवसायीको दबाब र खबरदारीको परिणामस्वरूप संघ निर्वाचनको मिति तोक्न बाध्य भएको भन्दै कुनै पनि शर्तमा २९ चैतमा साधारणसभा र निर्वाचन गरिनुपर्ने टिप्पणी गरे ।

यसअघि सम्पूर्ण तयारी पूरा भएको अवस्थामा निर्वाचनको मिति सारेर संघ नेतृत्वले छलकपट र बद्नामीको भारी बोकेको भन्दै उनले संघलाई विश्वसनीय संस्थाको हैसियतमा स्थापित गर्न तोकिएको समयमा निर्वाचनका लागि खबरदारी जारी राखिने बताए ।

सचिव कटुवालले संघले सबै पक्षको माग सम्बोधन गर्दै २९ चैतका लागि निर्वाचनको मिति तोकेको र उक्त मितिमा साधारणसभा र निर्वाचन हुने बताए ।
संघले निर्वाचनका लागि यसअघि संयोजक तोकिएका प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका पूर्वअध्यक्ष टंकबहादुर राउतलाई नै निर्वाचन समितिको संयोजक तोक्ने निर्णय पनि गरेको छ । कानुनी सल्लाहकार सदस्य सचिव रहने निर्वाचन समितिमा १ जना सदस्य पछि तोकिनेगरी निर्णय भएको पनि सचिव कटुवालले मध्यान्ह दैनिकलाई जानकारी दिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise