२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

ब्रिटिस फिल्म ‘कामा’मा टंक

hardik ivf
मध्यान्ह
२०८१ फागुन २५ गते ११:३३
ब्रिटिस फिल्म ‘कामा’मा टंक

काठमाडौं : बेलायतमा बसोबास गर्ने अभिनेता टंक धमाला पछिल्लो समय चर्चामा छन् । उनले अभिनय गरेको ब्रिटिस फिल्म ‘कामा’ बेलायत र आयरल्याण्डका हलहरुमा मार्च ७ देखि प्रदर्शन भइरहेको छ । ब्रिटिस विज्ञापन तथा फिल्म ‘डेन्जरस गेम’ मा समेत अभिनय गरिसकेका अभिनेता धमालाको यसमा मुख्य भूमिकामा छन् । 

विश्वासघात र बदलाका लागि मान्छे कुन हदसम्म पुग्न सक्छ भन्ने देखाइएको फिल्म ‘कामा’ उनले हलिउड कलाकार म्याट वेकफोर्डनट, जेमिमा टोम्स, मिया बेनेट, साउथ इन्डियन अभिनेत्री पूजा गुप्ताका साथमा स्क्रीन सेयर गरेका छन् । 

उनले फिल्ममा आर्मीको भूमिका निर्वाह गरेका छन् । जो युद्धबाट फर्किएर घर आइपुग्दा आफ्नी श्रीमतीको मृत्युको खबर थाहा पाउछन् । त्यसपछि आउने घटनाक्रमले थ्रिलर फिल्मका दर्शकलाई भरपुर मनोरञ्जन दिने अभिनेता धमालाले बताए । 

‘यो फिल्ममा मैले आर्मीको भूमिकाका लागि शारीरिक रुपमा फिट गर्ने देखि प्राविधिक पक्षलाई पनि ध्यान दिएर तयारी गरें । आर्मीले सोच्ने तरिका, शारीरिक हाउभाउ, उसको मानसिकतालाई ग्रहण गर्नका लागि मैले प्रशिक्षण लिएर आफ्नो पात्रलाई तयार गरेको थिएँ’, उनले भने । 

उनले ब्रिटिस एक्टिङ कोच साइमन गिब्बनसँग अभिनय प्रशिक्षण समेत लिएको बताए । अभिनेता धमालाले बलिउडको ब्लकबष्टर फिल्म ‘एनिमल’, नेपाली फिल्म ‘सरौतो’ मा समेत अभिनय गरिसकेका छन् । 

इटलीमा सम्पन्न ‘मिलान इन्टरनेशनल फिल्म फेस्टिभल’ मा भएको ‘कामा’ को प्रदर्शनीमा टंकले सर्वाेत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । सार्वजनिक प्रदर्शन अगाडि आयोजित प्राइभेट स्क्रीनिङमा समीक्षकले उनले निर्वाह गरेको भूमिकाको प्रसंसा समेत गरेका थिए । यस्तै,‘म्याड्रिड इन्टरनेशनल फिल्म फेस्टिभल २०२४’ मा सर्वाेत्कृष्ट अभिनेतासहित अन्य अवार्ड जितेको फिल्म ‘कामा’ ले बेलायत र आयरल्याण्डका हलमा समेत राम्रो प्रतिक्रिया पाइरहेको छ ।

शारीरिक बनोट र पर्सानिलिटीले उनलाई नोटिस गराइरहेको छ । पेसाले चार्टर एकाउन्टेन्ट भएता पनि उनले फिल्म सम्बन्धी अध्यन गरेर मोडलिङ सुरू गरेका थिए । सन् २०१८ देखि मोडलिङमा सक्रिय अभिनेता धमालाले ब्रिटिस एयरवेज, स्वीस एयर, कोकाकोला लगायतका विज्ञापनमा काम गरिसकेका छन् ।

‘फिल्म सम्बन्धी अध्यन गरेका कारण पनि कलाकारितालाई म निरन्तरता दिईरहेको छु । नेपाली फिल्मसँगै भारतीय र ब्रिटिस फिल्ममा काम गर्ने क्रममा मैले उनीहरुको कार्यशैलीलाई नजिकबाट बुझ्ने मौका पाएँ । यो अनुभवले मलाई आगामी दिनमा अभिनय यात्रामा मदत गर्नेछ भन्ने लागेको छ’, अभिनेता धमलाले भने । 

उनलाई ‘सरौतो’ पछि केही नेपाली फिल्ममा समेत अभिनय गर्ने प्रस्ताव गएको थियो । यद्यपि ‘कामा’ को तयारी र आफ्नै दैनिकीले गर्दा उनले समय दिन सकेनन् । अब उनी नेपाली फिल्मका लागि पनि तयार भएको बताउँछन् । 

‘ब्रिटिस फिल्ममा अनुबन्धित भएकै कारण मैले केही राम्रा अफर पनि स्वीकार गर्न सकिन, किनकि म सम्झौताले बाधिएको थिए । तर, अब नेपाली फिल्ममा सुहाउँदो भूमिका पाएमा म आफूलाई प्रस्तुत गर्न तयार भएको छु । सङ्ख्यात्मक भन्दा पनि गुणात्मक फिल्ममा देखिने मेरो चाहना छ’, उनले भने । 

ब्रिटिस मोडल एवं एक्टर एजेन्सी लङफोर्ड एसोसियटसँग आवद्ध भएर काम गरिरहेका अभिनेता धमालाले केही नयाँ प्रोजेक्टको तयारी गरिरहेका छन् ।

ADV

सम्बन्धित खबर

Advertise