२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

सुध्रिँदै अर्थतन्त्र

hardik ivf
छबि सापकोटा
२०८१ फागुन २७ गते ०६:३५
सुध्रिँदै अर्थतन्त्र

काठमाडौं : विदेशी सञ्चिति निरन्तर बढ्दै जाँदा मुलुकको अर्थतन्त्र मजबुत बनेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१÷८२ को माघसम्मको समग्र आर्थिक तथा वित्तीय अवस्था विवरण अनुसार विदेशी सञ्चिति अहिलेसम्म धेरै जम्मा भएको हो । 

माघ मसान्तसम्म विदेशी सञ्चिति १६.१ प्रतिशतले बढेर २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । यस्तै ७ महिनामा अमेरिकी डलरको मुद्रा सञ्चिति ११.७ प्रतिशत बढेर १७ अर्ब ५ करोड पुगेको छ । 

कुल विदेशी विनिमय सञ्चिति मध्ये राष्ट्र बैंकसँग २१ खर्ब ५ अर्ब १४ करोड रुपैयाँ बराबरको छ भने अन्य बैंक तथा वित्तीय संस्थासँग २ खर्ब ६३ अर्ब ९३ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । जसमा भारतीय मुद्रा सञ्चिति अंश सबैभन्दा धेरै २२ प्रतिशत छ । 

चालु आर्थिक वर्षको ७ महिनाको आयातलाई आधार मान्दा हालको सञ्चितिले १७.२ महिनाको वस्तु र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ । 

घट्यो महँगी दर 

विदेशी सञ्चिति बलियो हुँदा राज्यको ढुकुटीमा पनि बलियो बनेको हो । यस्तै चालु आर्थिक वर्षको माघसम्ममा महँगी दर घटेको छ । माघसम्मको समग्र आर्थिक तथा वित्तीय अवस्था विवरणअनुसार महँगी घटेर ४.१६ प्रतिशतमा सिमित रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा महँगी ५.०१ प्रतिशत थियो भने पुस २०८१ मा ५.४१ प्रतिशत रहेको थियो । 

यस्तै समीक्षा अवधिमा काठमाडौं उपत्यकामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५३ प्रतिशत, पहाडमा ४.११, तराईमा ४.२५ र हिमालमा ५.२१ प्रतिशत रहेको छ । यसरी हेर्दा सबैभन्दा कम महँगी काठमाडौं उपत्यकामै रहेको देखिन्छ । 

७ महिनामा खाद्य तथा पेय पदार्थ समूहको महँगी ४.९५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ३.७४ प्रतिशत रहेको छ । माघमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घिउ तथा तेल उपसमूहको बार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १२.८० प्रतिशत, दाल तथा गेडागुडी ९.०६ प्रतिशत, तरकारी ७.५६ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ६.३६ प्रतिशत महँगी दर छ । 

आयात र निर्यातमा सुधार

चालु आर्थिक वर्षको ७ महिना नेपालको आयात र निर्यात दुवै बढेको छ । अर्थतन्त्र चलायमान बन्दै जाँदा आयात र निर्यातमा सुधार हुँदै गएको हो । आर्थिक वर्ष ०८१÷८२ को ७ महिनामा वस्तु निर्यात ४६.५ प्रतिशतले वृद्धि भई १ खर्ब २७ अर्ब २० करोड पुगेको छ । सबैभन्दा धेरै भारतमा ६६.९ प्रतिशत, चीनमा ८.६ प्रतिशत र अन्य मुलुकमा निर्यात ३.५ प्रतिशतले वृद्धि भएको हो । 

सबैभन्दा धेरै निर्यात हुने वस्तुमा भटमासको तेल, पोलिस्टर यार्न र थ्रेड, चिया, अलैंची लगायत छ । पाम तेल, जिंक शिट, अदुवा, जडिबुटी, तयारी पोशाक लगायतका वस्तुको निर्यात कम भएको छ । 

त्यस्तै, माघमसान्तसम्म कुल वस्तु आयात १०.१ प्रतिशतले वृद्धि भई ९ खर्ब ८८ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । 

वस्तु आयात हुने देशमा सबैभन्दा धेरै चीनबाट ११.२ प्रतिशत, भारतबाट ७.५ प्रतिशत र अन्य मुलुकहरूबाट १७.५ प्रतिशतले आयात वृद्धि भएको छ । 

७ महिनाको तथ्यांकलाई हेर्न हो भने नेपालको व्यापार घाटा ६.२ प्रतिशतले बढेर ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा १.८ प्रतिशतले कमी थियो । 

७ महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २ खर्ब ८३ अर्ब ४६ करोड अर्थात ५.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ९७ अर्ब २१ करोड अर्थात ४.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । 

निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ५.९ प्रतिशत, विकास बैंकहरूको ३.१ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह ५.२ प्रतिशतले बढेको छ ।

ADV

सम्बन्धित खबर

Advertise