इटहरी : स्थानीय तहले सडक बत्तीको रु. पाँच करोड ९१ लाख ६० हजार बक्यौता तिर्न बाँकी रहेको छ ।
इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका र बरा क्षेत्र नगरपालिकाले सडक बत्तीको बक्यौता तिर्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण इटहरी वितरण केन्द्रका प्रमुख रामउदगार साहले जानकारी दिए । बक्यौता तिर्न पटक-पटक सूचना जारी गरे पनि हालसम्म नतिरेको उनले बताए । इटहरी उपमहानगरपालिकाले रु. तीन करोड ७७ लाख ४० हजार, बराहक्षेत्र नगरपालिकाले रु. एक करोड ३५ लाख २५ हजार र रामधुनी नगरपालिकाले रु. ७८ लाख ९४ हजार बक्यौता तिर्न बाँकी रहेको छ ।
प्रमुख साहले भने, “बक्यौता रकम तिर्न पालिकालाई पत्र पठाउँदै आएका छौँ ।”
इटहरी वितरण केन्द्रका सूचना अधिकारी सुरज गोसाईंका अनुसार प्रत्येक महिना सडक बत्तीको बिल पालिकालाई पठाउने गरिएको छ । प्राधिकरणले बक्यौता नतिर्नेको विद्युतको लाइन काट्दै आएको छ । चालू आर्थिक वर्ष २०८१-८२ मा साउन महिनायता १२ हजार ८२ जनाको लाइन काटिएको उनले बताए ।