अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका –१ सोहोठेका ईन्द्रबहादुर गेलाङ च्याउखेतीमा व्यस्त छन् । च्याउखेतीमा राम्रो आम्दानी हुन थालेपछि गेलाङ परिवार नै च्याउखेतीमा जुटेका छन् । अहिले गेलाङले दुई वटा टनेल बनाएर च्याउखेती गरेका छन् ।
१४ वर्ष अघि च्याउखेतीको तालिम लिएपछि घरमै टनेल बनाएर व्यावसायिक रुपमा खेती गर्न सुरु गरेको गेलाङले बताए । ‘सुरुमा आफूले खानका लागि मात्र लगाएको थिएँ, अहिले यहि च्याउ बेचेर घरपरिवार टार्ने गरेको छु, विदेशमा लगानी गर्ने श्रमले स्वदेशमा नै दोब्बर आम्दानी गर्न सकिने रहेछ’, उनले भने ।
च्याउमा आम्दानी बढ्दै गएपछि उनले च्याउ फर्म नै दर्ता गरेर अन्य ठाउँहरूमा पनि च्याउखेती गर्ने योजना बनाएका छन् उनले । अहिले उनले उत्पादन गरेको च्याउ अर्घाखाँचीका विभिन्न ठाउँमा बिक्री गर्ने गरेको बताए । च्याउको मूल्य समेत राम्रो पाइरहेको भन्दै उनले अहिले प्रतिकिलो दुई सय असी रुपैयाँ किलोमा च्याउ बिक्री गरेको बताए ।
उनको लागि घरमै समेत च्याउ किन्ने आउनेको संख्या समेत बढको छ । ‘यहाँका मानिसहरूले अहिले मासुभन्दा च्याउ बढी खोज्ने गरेका छन् । त्यसैले माग पूरा गर्न सकेको छैन’ उनले भने, ‘सानो लगानीबाट व्यवसाय सुरु गरेकाले धेरै उत्पादन गर्न सकेको थिइन अब विस्तारै उत्पादन बढाउँदै लैजाने योजना छ ।’ एक सिजनमा उनले च्याउखेती गरेर ३ लाख देखि ५ लाखसम्म आम्दानी गरेको उनले सुनाए ।
उनले दुई वटा टनेलमा दुई सय ३० वटा बल्क राखेका छन । च्याउखेतीमा उनलाई श्रीमतीले सहयोग गर्छिन । च्याउ बेचेर आएको आम्दानीले घर चलाउन निकै सहज भएको गेलाङले बताए । सोही पेशाबाट भएको आम्दानीबाट उनले एक छोरा सिभिल ईन्जिनियर पढाएका छन् भने अर्काे एक छोरा कृषि विषयबाट एमएस्सीएजी अध्ययन गर्दै छन् । च्याउमा तरकारी तथा मासुमा पाईने सबै प्रकारका प्रोटिन तत्वहरू पाइने र सजिलैसँग पचाउन सकिने भएकाले बच्चादेखि वृद्धवृद्धाहरूका लागि अति उपयोगी भएकोले अहिले बजारमा निकै माग भएको उनको भनाइ छ ।
च्याउ किन्नका लागि उपभोक्ताको माग बढेसँगै जिल्लामा च्याउ खेती गर्नेहरू समेत बढिरहरेका छन् । च्याउ खेती गर्नलाई धेरै ठुलो ठाउँ, समय पनि नचाहिने र बेच्नलाई सजिलो भएकाले यसप्रति किसानहरूको आकर्षण बढेको गेलाङले बताए । कम खर्च र कम समयमा गर्न सकिने भएपछि सन्धिखर्क नगरपालिका–७ का जनप्रतिनिधि जिल्ला समन्वय समितिका सदस्य लक्ष्मण कँडेलले पनि च्याउ खेती सुरु गरेका छन् ।
पहिलो पटक लगाएको च्याउखेतीबाट आम्दानी भएपछि व्यवसायिक रुपमा खेती गर्नेगरी ठूलो मात्रामा च्याउ खेती सुरु गरेको उनले बताए । ‘साथीहरूको सरसल्लाह अनुसार पहिलो पटक च्याउखेती गरेको छु, यसबाट आम्दानी लिन सके अर्को वर्ष अझै बढी खेती गर्ने सोच बनाएको छु, अहिले एउटा टनेलमा ७५ वटा पोकामा च्याउखेती गरेको छु’, उनले भने । आम्दानीको अन्य स्रोत भएपनि जनप्रतिनिधिले कृषि पेसालाई प्राथमिकता दिनु पर्ने उनको भनाइ छ ।
सन्धिखर्क नगरपालिका– ७ का मधु केसीले पनि च्याउ बेचेर आएको आम्दानीले घर खर्च राम्ररी टरेको बताए । ‘खेती गर्न सके गाउँमा नै राम्रो आम्दानी लिन सकिने रहेछ’, आम्दानी राम्रै भएपछि व्यवसाय गर्न ढिलो गरेकोमा पछुतो लागेको बताउँदै केसीले भने ‘समय समयमा तालिम र प्रोत्साहनका कार्यक्रम भइदिए अझै व्यावसायिक भएर उत्पादन गर्न सक्ने थियौँ, तर राज्यको सहयोग कम छ’, उनले भने ।