काठमाडौं : नेपाल उद्योग परिसंघ (सीएनआई)ले दोस्रो वमन लिडरसिप समिट २०२५ हुने भएको छ । सीएनआईले आउँदो चैत ३ गते काठमाडौंमा समिट आयोजना गर्ने भएको हो । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको हो ।
सम्मेलन आयोजनाको लागि सीएनआई वमन लिडरसिप फोरमले संयोजन गरेको छ । सम्मेलनमा प्रविधि र इनोभेसन वमन इन सष्टेनेवल एग्रीकल्चर, इन्भेष्टिङ इन वमन बीवेण्ड बाउन्ड्रिज विषयमा सत्रगत रूपमा छलफल हुनेछ ।
मंगलबार परिसंघले पत्रकार सम्मेलनमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले महिला नेतृत्व शिखर सम्मेलनले परिवर्तन प्रेरित महिला नेतृत्व, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूलाई एउटै थलोमा ल्याउने र नीतिगत तहमा नेपाल सरकार, सरोकारवाला निकायहरूले लिनुपर्ने नीतिगत विषयमा गहन रूपमा छलफल हुने बताए ।
सो शिखर सम्मेलन वर्तमान एवं सफल उदाहरणहरूमा केन्द्रित हुनेछ, जसले महिलाहरूलाई प्रेरित गर्नेछ । सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, स्वास्थ्य, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त महिलाहरूसहित करिब ५ सय जनाको सहभागिता हुने सीएनआई महिला नेतृत्व फोरमकी सभापति छाया शर्माले बताइन् ।
परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले यस्ता सम्मेलनले महिलाहरूलाई अगाडि बढाउन सहयोग पुग्ने बताए । सम्मेलनमा मेक इन नेपाल स्वदेशी वस्तुहरूको प्रदर्शनी समेत गरिनेछ ।