रुकुम पश्चिम : नेकपा एकीकृत समाजवादी रुकुम पश्चिमको नवौं जिल्ला अधिवेशन खलंगाको बालमन्दिरमा सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ । सुरज परियारको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ ।
उपाध्यक्षमा शेरबहादुर बोहरा र दीपकराज खड्का, सचिवमा धनराज खड्का, उपसचिवमा अमरराज पुन, हिरा रेउले पुरी, खमबहादुर ओली चयन भएका छन् ।
कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले गणतन्त्रले नागरिकको जीवनमा परिवर्तन ल्याउन नसकेपछि राजावादीहरूले अवसर पाएको बताए । उनले गणतन्त्रले राम्रो डेलिभरी दिन नसक्दा अहिले राजावादीहरू सलबलाउने अवसर पाएको बताए ।
'गणतन्त्रमा नेताहरू नसच्चिएको र जनताका आधारभूत आवश्यकता पूरा हुन नसकेका कारण मरेको राजतन्त्रले तर्साउन थालेको छ,' उनले भने । केपी ओलीले संसद् विघटन गरेपछि नेपाली जनताले भरोसा गरेको नेकपा छिन्नभिन्न भएको र त्यसकै कारण अहिले पूर्वराजा ज्ञानेन्द्र शाहले टाउको उठाउन थालेको उनको भनाइ छ ।