काठमाडौं : मोबाइल प्रयोगकर्ता इन्टरनेटमा केन्द्रित हुँदा नेपालका टेलिकम उद्योगको आम्दानीमा निरन्तर गिरावट आइरहको छ । पछिल्लो पुस्ताले भ्वाइस कल भन्दा इन्टरनेट डाटा बढी प्रयोग गर्दा त्यसको असर टेलिकम क्षेत्रमा देखिँदै गएको हो । नेपालका टेलिकम कम्पनीले मोबाइल इन्टरनेटको प्रयोग बढाउन नसक्दा त्यसको असर आम्दानीमा देखिएको छ । छिमेकी मुलुक भारतमा मोवाइल इन्टरनेटको प्रयोग ९० प्रतिशत हुँदा नेपालमा मोबाइल इन्टरनेटको प्रयोग २० प्रतिशतमा सीमित छ ।
दक्षिण एसियाली मुलुक बंगलादेश ८० प्रतिशत, पाकिस्तानमा ८० प्रतिशत मोबाइलमै इन्टरनेट प्रयोग हुन्छ । सूचना प्रविधिविज्ञ मनोहरकुमार भट्टराईले डिजिटल अर्थतन्त्र प्रवर्द्धनका लागि मोबाइल उद्योग आधारभूत माध्यम भएपनि पछिल्ला केही वर्षयता मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी)मा टेलिकम क्षेत्रको योगदान तीन दशमलव छ प्रतिशतबाट एक दशमलव आठ प्रतिशतमा झरेको बताए । नेपालको मोबाइल इन्टरनेट प्रयोग अन्य छिमेकी देशहरूको तुलनामा निकै कमजोर हुँदा टेलिकम क्षेत्रमा ठूलो लगानी गर्दा समेत आम्दानी निरन्तर घटेको भट्टराई बताउँछन् ।
सन् २०१६/१७ टेलिकम क्षेत्रले २९ अर्ब ६ करोड नाफा कमाएको थियो । तर सन् २०२२/२३ सम्म आइपुग्दा नेपालको टेलिकम क्षेत्रको नाफा हवात्तै घटेर ५ अर्ब ६० करोडमा मात्र भएको छ । अझै यस्तै गतिमा टेलिकम क्षेत्र जाने हो भने सन् २०२८/२९ मा टेलिकमको नाफा १ अर्बमै सिमित हुने भट्टराई बताउँछन् ।
यस्तै एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले नेपालको दूरसञ्चार क्षेत्र ठूलो संकटको नजिक पुगेकाले सचेत हुनुपर्नेमा जोड दिए । नेपाल जीएसएमको सूचीमा दुई वर्षअघि ११७औं स्थानमा रहेको नेपाल अहिले ११९औं स्थानमा झर्नु चिन्ताको बिषयमा भएको उनले बताए । सन् २०२५ भित्रै एनसेलले थ्रिजी सेवा बन्द गर्ने तयारीमा रहेको समेत उनले बताए । नेपालको टेलिकम व्यापारलाई ‘सब्स्क्रिप्सन मोडल’मा नजाने हो भने आगामी दिन अझै संकटको अवस्था आउने दाबी उनले गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दूरसञ्चार उद्योगलाई दिगो एवं व्यवस्थित बनाउने चुनौती रहेको यसका लागि नियामकको कमजोरीको रूपमा रहेको बताए । उनले भने, ‘नयाँ दूरसञ्चार ऐनका लागि काम अघि बढिसकेको छ, सुझाव लिने काम पनि भइरहेको छ, नयाँ ऐनमार्फत् अहिले हामीले भोगिरहेका कानुनी, नियामकीय, संरचनालगायतका समस्या समाधान हुनेमा विश्वास लिएका छौं ।’
गुरुङले दूरसञ्चार क्षेत्रमा प्रतिस्पर्धात्मक क्षमता सुधार गर्न, नीति र कानुनी संरचना सुदृढ बनाउन, शासकीय क्षमतामा सुधार ल्याउन र नवीनतम व्यापारिक रणनीति अवलम्बन गर्न आवश्यक रहेको बताए । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले दूरसञ्चार सेवाको गुणस्तर नहुँदा टेलिकम कम्पनीको व्यापार इन्टरनेट सेवा प्रदायक (आईएसपी) मा व्यापार सिफ्ट भएको बताए । उनले नेपालका टेलिकम कम्पनी फाइभजी प्रविधिमै केन्द्रित हुुन आवश्यक रहेको भन्दै सेवा प्रदायकहरूले निवेदन दिए एक हप्ताभित्र स्वीकृति दिन प्राधिकरण तयार रहेको समेत बताए ।