२०८१ चैत ४ गते सोमवार / Mar 17 , 2025 , Monday
२०८१ चैत ४ गते सोमवार
Ads

दर्शकको साथ पाउनेमा ‘द्रौपदी’ टिम आशावादी

draupadi film
मध्यान्ह
२०८१ चैत ३ गते १०:२६
दर्शकको साथ पाउनेमा ‘द्रौपदी’ टिम आशावादी

पोखरा : चलचित्र ‘द्रौपदी’को टोली यतिबेला प्रचार अभियानमा जुटेको छ । यसै सिलसिलामा ‘द्रौपदी’को टोलीले पोखरामा चलचित्र पत्रकार संघ नेपाल, कास्कीको आयोजनामा निर्माता, कलाकार, लेखक तथा निर्देशकहरूको उपस्थितिमा एक कार्यक्रम आयोजना गरेको थियो ।

८ चैतदेखि प्रदर्शनमा आउन लागेको चलचित्रका निर्देशक तथा लेखक ऋषिराज आचार्य हुन् । कार्यक्रममा उनले चलचित्रले मौलिक कथा प्रस्तुत गर्ने जानकारी दिए । डोल्पाका सुन्दर भू–दृश्यहरू समेट्दै छायांकन गरिएको यो फिल्म महिला सशक्तीकरणको कथामा केन्द्रित रहेको बताइएको छ ।

चलचित्रका कलाकार तथा गायक रवि ओडले ‘द्रौपदी’प्रति ठूलो अपेक्षा रहेको बताए । चलचित्रका गीत र ट्रेलरले राम्रो प्रतिक्रिया पाइरहेको उल्लेख गर्दै दर्शकहरूको साथ र माया आवश्यक रहेको बताए । आफ्ना लागि अभिनय कला नयाँ भए तापनि मिहिनेत गरेको उनको भनाइ छ । उनी स्थानीय कुलेको भूमिकामा चलचित्रमा देखिएका छन् ।

चलचित्रका निर्माता तथा कलाकार प्रकाश ज्ञवालीले कन्टेन्टले आफूलाई तानेको बताए । अस्पताल व्यवसायमा संलग्न भए पनि राम्रो कथाले आफूलाई यो फिल्म निर्माणमा संलग्न गराएको बताए । निर्देशक आचार्य आफ्नो पुरानो साथी भएको र कथाको विषयवस्तु मनपरेका कारण नै आफू लगानीका लागि तयार भएको उनको भनाइ छ । चलचित्रमा कलाकारको भूमिकामा उनी पनि देखिएका छन् ।

नायिका आश्विनी शाहीले ‘द्रौपदी’ एउटा सशक्त कथावस्तु बोकेको चलचित्र भएको बताइन् । उनले अनुहार हेरेर चलचित्र नहेर्न बरु कन्टेन्टलाई प्राथमिकता दिन दर्शकलाई अनुरोध गरेकी छन् । ‘द्रौपदी’को हिरो नै कन्टेन्ट भएको उनको भनाइ छ । चलचित्रको कन्टेन्टले दर्शकलाई निराश नबनाउने विश्वास उनले लिएकी छन् ।

चलचित्रकी अर्की नायिका सुजाता तिमल्सिनाले विकट भेगको कथा दर्शकसामु ल्याउन पाउँदा खुसी लागेको बताइन् । बलियो कथामा आधारित सिनेमामा आफू बाँधिन पाउँदा उनी हर्षित छन् ।

सो अवसरमा चलचित्रका टिजर, गीत तथा ट्रेलरले दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाइरहेको र चलचित्र अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा छनोट भइसकेको जानकारी गराइएको थियो ।

निर्देशक आचार्यले विभिन्न स्थानबाट दर्शकहरू चलचित्र हेर्न उत्साहित रहेका बताए । दर्शकहरूको माया र समर्थनले चलचित्रले उत्कृष्ट व्यापार गर्नेमा आफूहरू विश्वस्त रहेको टिमले जनाएको छ । करिब २ करोड लगानीमा चलचित्र निर्माण भएको निर्माण पक्षले जनाएको छ ।
४८ दिन लगाएर छायांकन गरिएको सिनेमा अन्तर्राष्ट्रिय अवार्डका लागिसमेत छनोट भएको बताइएको छ । मौलिक कथालाई आत्मसात् गरिएका कारण पनि दर्शकको राम्रो साथ मिल्नेमा निर्माण टिम आशावादी छ ।
 

ADV

सम्बन्धित खबर

Advertise