काठमाडौं : चलचित्र ‘कर्मा’ र ‘पिताम्बर’ २९ चैतमा रिलिज हुँदै छ । ‘कर्मा’लाई सौरभ चौधरीले निर्देशन गरेका छन् भने ‘पिताम्बर’लाई कृषा चौलागाईंले निर्देशन गरेकी छन् ।
राजेश हमालको कमब्याक भनिएको ‘नरसिंहा अवतार’ पूर्वनिर्धारित मितिमा नआउने भएपछि कृषा र सौरभ चौधरीबीच प्रतिस्पर्धा हुने भएको छ ।
‘कर्मा’मा विपीन कार्की मुख्य भूमिकामा छन् । ‘पिताम्बर’ भने मल्टिस्टार सिनेमा हो । यसमा प्रदीप खड्का, सौगात मल्ल, दयाहाङ राईलगायत कलाकारको अभिनय छ ।
‘कर्मा’ एक्सन चलचित्र हो । यो चलचित्रमा विपीन एक्सन भूमिकामा देखिँदै छन् । यो उनको पहिलो एक्सन चलचित्र हो ।
ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । ‘पिताम्बर’मा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद रहेको छ । यो पनि एक्सन ड्रामा हो । यो बिग बजेटमा बनेको निर्माणपक्षले दाबी गर्दै आएको छ । मल्टिस्टार लाइनअप र एक्सन जानरा भएकाले यसको बजेट उच्च भएको हो ।
‘कर्मा’मा भने विपीनसँगै मुुकुन भुसाल, उपासना सिंह ठकुरी, दिव्य देब, सरिता गिरीलगायत कलाकारको अभिनय छ ।