२०८१ चैत ११ गते सोमवार / Mar 24 , 2025 , Monday
२०८१ चैत ११ गते सोमवार
Ads

बझाङमा बढ्दै बलात्कारका घटना

draupadi film
सत्यराज सिंह
२०८१ चैत ९ गते २०:४०
बझाङमा बढ्दै बलात्कारका घटना

बझाङ : बझाङमा पछिल्लो समय बलात्कारका घटना बढ्दै गएको पाइएको छ । बझाङमा बलात्कारविरुद्धका अभियान, कार्यक्रमहरू सञ्चालन गरिएपनि बलात्कारका घटनाहरू भने बढी नै रहेको जिल्ला प्रहरी कार्यालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको तथ्यांकले देखाएको छ । जसमध्ये आर्थिक अवस्था कमजोर भएका, विपन्न, अपाङ्गता भएका, नाबालिका, गर्भवतीदेखि वृद्ध उमेरसम्मका महिला बलात्कारको शिकार हुने गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो समय बलात्कारको घटना दर्ता गर्नेको संख्या बढेको छ । 

धमाधम पक्राउ पर्दै अभियुक्त 
 

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले थलारा गाउँपालिका–४ का ६० वर्षीय गम्भीरे सार्कीलाई यही चैत ८ गतेमात्रै पक्राउ गरेको छ । आरोपितले २०८१ भदौ १५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले चैत ८ गते जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएपछि आरोपितलाई घरबाटै पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

यसैबीच १३ वर्षीया बालिकालाई असोज २८ गते बलात्कार गरेको भन्दै सुर्मा गाउँपालिका–४ का २१ वर्षीय पवन बोहराविरुद्ध पीडित पक्षले चैत ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दियो । पीडितको स्वास्थ्य परीक्षण चैत ६ जिल्ला अस्पताल, सिमखेतमा भयो । प्रहरीले आरोपितलाई चैत ६ गते सदरमुकाम चैनपुरबाट पक्राउ ग¥यो । प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत चैत ६ गते जबरजस्ती करणी अन्तर्गत जिल्ला अदातलमा मुद्दा दर्ता ग¥यो । आरोपित बोहरालाई जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस्तै २ वर्षीया नाबालिकालाई २०८१ फागुन १ गते बलात्कार गरेको भन्दै तलकोट गाउँपालिका–२ ढुंगानाका १८ वर्षीय पारस बोहरा र १८ बर्षीय सानु बोहराविरुद्ध पीडित पक्षले फागुन १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दियो । पीडितको स्वास्थ्य परीक्षण फागुन २ गते जिल्ला अस्पताल, सिमखेतमा भयो । प्रहरीले आरोपितलाई फागुन २ गते घरबाटै पक्राउ ग¥यो । प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत फागुन २ गते जबरजस्तीकरणी अन्तर्गत जिल्ला अदातलमा मुद्दा दर्ता ग¥यो । आरोपित बोहरालाई जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

माथिका घटनाहरू केही प्रतिनिधि मात्रै हुन् । प्रहरीको तथ्यांक अनुसार २०८१ को साउन महिनादेखि हालसम्म जिल्लामा ९ जना बलात्कृत भएका छन् । प्रहरीको तथ्यांक अनुसार २०८१ को साउन महिनामा १, भदौमा १, माघमा २, फागुनमा ३ र चैतमा २ गरी ९ घटना घटेका छन् । 

कार्यालयका सूचना अधिकारी लोकेन्द्र ठगुन्नाका अनुसार आफूविरूद्ध भएका अन्यायविरूद्ध आवाज उठाउने र न्यायिक लडाईं लड्ने महिलाहरूको संख्या बढेका छन् । ‘महिला दिदीबहिनी पहिलाको तुलनामा अहिले अलि धेरै सचेत हुनुभएको छ । बालबालिकामाथि हुने यौन दुव्र्यवहार तथा करणीका घटनाबारे प्रहरीमा जाहेरी दिनुपर्छ भन्ने चेतना फैलिएको छ’ उनले भने । सामाजिक सञ्जालका कारण पनि यस्ता घटनाहरू धेरै समय लुकेर बस्न नसक्ने उनको भनाइ छ । 

पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगसँगै त्यसको दुरूपयोग पनि बढ्दै गएको छ, त्यसैले यस्ता घटनाहरू बढिरहेको सूचना अधिकारी ठगुन्ना बताउँछन् । ‘मदिरा सेवनपनि एउटा कारण मान्न सकिन्छ’ उनले भने,‘समाजमा यस्ता घटना बढ्नुको पछाडि सामाजिक संरचना, अशिक्षा, गरिबी, अभिभावकले गर्ने व्यवहारदेखि धेरै कुराहरू पर्छन् ।’ समाजमा हुने बलात्कारका घटनाहरू न्यूनीकरणका लागि स्थानीय सरकार, समाजसेवी, स्थानीयले भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।

प्रहरीले विद्यालय, समुदायका बालबालिका, किशोरकिशोरीहरुलाई बालविवाह, सामाजिक सञ्जालको सदुपयोग, यौन हिंसाबाट बच्ने उपाय सहित सचेतना कार्यक्रम चलाइरहेको छ । स्थानीय तहमा समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत पनि यस्ता घटनाहरूबारे जनचेतना फैलाउने काम भइरहेको उनले बताए । 

नेपालमा बलात्कार तथा यौन जन्य अपराधका सम्बन्धमा विभिन्न कानुनी व्यवस्था छ । मुलुकी अपराध संहिता २०७४ मा कसैले कुनै महिलालाई निजको मन्जुरी नलिइ करणी गरेमा वा मन्जुरी लिएर भएपनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिने उल्लेख छ । वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबरजस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ । 

त्यस्तै, मानवरोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एचआइभी पोजेटिभ) भएको थाहा पाउँदा पाउँदै जबरजस्ती करणी भएको भए दफा १ सय ५ बमोजिमको सजाय, अन्य सरुवा यौन रोग (सेक्सुअली ट्रान्समिटेड डिजिज) भएको थाहा पाउँदा पाउँदै जबरजस्ती करणी भएको भए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था ऐनले गरेको छ । १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिला भए जन्म कैद हुने कानुनी व्यवस्था छ ।

१० वा १० वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरे २० वर्षसम्म कैद हुने व्यवस्था कानुनमा छ । १४ वा १४ वर्षभन्दा बढी १६ वर्षभन्दा कम उमेरकी बालिकालाई बलात्कार गरे १२ देखि १४ वर्षसम्म कैद हुने व्यवस्था छ । १६ वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० देखि १२ वर्षसम्म, १८ वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सातदेखि १० वर्षसम्म कैदको व्यवस्था ऐनले गरेको छ ।

सामूहिक रुपमा जवर्जस्ती करणी गरेमा वा छ महिनाभन्दा बढीको गर्भवती, अशक्त वा अपाङ्ग वा शारीरिक वा मानसिक रुपमा अस्वस्थ महिलालाई वा हातहतियार देखाइ जबरजस्ती करणी गरेमा उपदफा ३ मा लेखिएको सजायमा थप ५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।
 

ADV

सम्बन्धित खबर

Advertise