२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

क्रोएसियामा नेपाली दूतावास चाहिन्छ : अध्यक्ष लामा

draupadi film
रेशमराज पौडेल
२०८१ चैत १७ गते ०७:१६
क्रोएसियामा नेपाली दूतावास चाहिन्छ : अध्यक्ष लामा

युरोपेली मुलुक क्रोएसियामा नेपाली दूतावास नहुँदा नेपालीहरू ठूलो समस्यामा परेका छन् ।  क्रोएसियामा नेपाली दूतावास नहुँदा यहाँ रहेका करिब ६० हजार बढी नेपालीलाई गैरआवासीय नेपाली संघ क्रोएसियाका अध्यक्ष साइमन लामा (सूर्यबहादुर थिङ)ले अविभावकत्व प्रदान गरिरहेका छन् । 

आकर्षक कमाइ हुने सेन्जेन समूहको यो युरोपेली देशमा नेपालीको संख्या दिन प्रतिदिन बढिरहे पनि उनीहरूलाई सुरक्षा र संरक्षण प्रदान गर्ने नेपाली नियोग वा दूतावास भने छैन । त्यसले नेपालीको बढ्दो संख्या र उनीहरूले भोग्ने समस्या समाधानका लागि एनआरएनएमाथि नै भरपर्ने देखिन्छ ।

नेपालीहरूको समस्या समाधानका लागि एनआरएनए क्रोएसियाका अध्यक्ष लामाले दूतावास वा कन्सुलर कार्यालय स्थापनाका लागि निरन्तर आवाज उठाइरहेका छन् । अहिले उनी प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणाको त्यस विषयमा ध्यानाकर्षण गराउन छोटो समयका लागि काठमाडौं आएका छन् । 

सोही अवसर पारेर मध्यान्ह दैनिकका रेशमराज पौडेलले अध्यक्ष लामासँग क्रोएसियामा नेपाली कूटनीतिक नियोगको आवश्यकता, नेपाली कामदारका समस्या र सम्भावनाका विषयमा गरेको कुराकानी :

क्रोएसियामा नेपाली कामदार र व्यवसायीहरूको संख्या बढ्दै गएको छ । तपाईंले त्यहाँ नेपाली दूतावासको माग गरिरहनुभएको छ । त्यसबारेमा हालको अवस्था के छ ?

क्रोएसियामा बसोबास गर्ने नेपालीहरूले जाग्रेवमा नेपाली दूतावास र कन्सुलर कार्यालय स्थापना गर्न धेरै अगाडिदेखि माग गर्दै आएका छ । अष्ट्रियाको भियनामा रहेकोे नेपाली दूतावासबाट प्रदान गरिने सेवा अपुग भएको र सबैको पहुँचमा पुग्न नसकेको अवस्था छ ।  

गैरआवासीय नेपाली संघ (एनआरएनए)मार्फत पनि हामीले क्रोएसियामा नेपालीहरूको संख्या बढ्दै गइरहेकाले दूतावासको माग गरेका हौं । विगतमा एनआरएनएका केन्द्रीय पदाधिकारीहरूमार्फत पनि पहल गरेका हौं । तर, ठोस उपलब्धि हासिल हुन सकेको छैन ।

हाल म क्रोएसियामा दूतावास स्थापनाका लागि प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. आरजु राणाको ध्यानाकर्षण गराउन काठमाडौं आएको छु । क्रोएसियामा नेपाली दूतावास वा नियोग अतिआवश्यक भएकाले यो विषयलाई सरकारले प्राथमिकतामा राखोस् भन्ने क्रोएसियामा रहेका नेपालीहरूको साझा माग हो । यसमा नेपाल सरकारले तत्कालै ध्यान दिन जरुरी छ । 

दूतावास नहुुँदा त्यहाँ रहेका नेपालीहरूले कस्ता समस्या खेप्नुपरेको छ ?

नेपालीका जन्मदेखि मृत्युसम्मका समस्या छन् । कामका लागि त्यहाँ गएका नेपाली उतै एकआपसमा विवाह गरेर बसिरहनुभएको छ । उहाँहरूका बालबालिकाको दर्ता, विवाह दर्ता, घर जग्गा कारोबारलगायतका लागि चाहिने अधिकृत वारेसनामा, राहदानी नवीकरणदेखि वैदेशिक रोजगारका मागपत्र प्रमाणीकरणका समस्या छन् ।

अष्ट्रियाको भियना जान ५–६ घण्टाको यात्रा गर्नुपर्दा समय र लागत बढेको छ । क्रोएसियामा १० देखि १५ हजार नागरिक रहेको भारतलगायतका देशले दूतावास खोलेर आफ्ना नागरिकलाई सहज रूपमा सेवा दिइरहेका छन् । बोस्नियापछि क्रोएसियामा नेपाली दोस्रो ठूलो समुदायका रूपमा छ । 

यस्तो अवस्थामा नेपालीले दूतावासको माग गर्नु अत्यन्तै न्यायोचित विषय हो । दूतावास हुँदा तत्कालका लागि हामी लाभान्वित भए पनि दीर्घकालीन रूपमा त्यसले राष्ट्रको सम्बन्ध र सम्पर्कदेखि व्यापार तथा लगानी बढाउने, सांस्कृतिक आदानप्रदान गर्ने भएकाले क्रोएसियामा नेपाली दूतावास स्थापना अतिजरुरी ठानेका छौं ।

गैरआवासीय नेपाली संघको अभियानले विदेशी भूमिमा बस्ने नेपालीहरूको समस्या समाधान गर्न महत्त्वपूर्ण योगदान दिएको छ तर सधैंभरि गैरआवासीय नेपाली संघको अभियानले थेग्न सक्दैन ।

दूतावास स्थापनाका लागि हालसम्म ठोस पहल नभएकाले सफलता प्राप्ति नभएको त होइन ?

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल इटालीको रोम जाँदा दूतावास स्थापनाको आवश्यकता र औचित्य समेटिएको ज्ञापनपत्र नै बुझाएका थियौं । त्यसपछि युरोपका पोर्चुगललगायतका ८ देशमा दूतावास खोल्ने निर्णय हुँदा हामी आशावादी भएका थियौं । तर, नेपालमा सरकार परिवर्तन भएकाले काम अघि बढ्न सकेन ।

नेपालीलाई सुुरक्षा प्रदान गर्न गैरआवासीय नेपाली संघको मात्र जिम्मेवारी हो भनेर हुँदैन । हामी सामाजिक र सांस्कृतिक काम मात्र गर्न पाउने अवस्थामा छौं । अन्य समस्याको समाधानका लागि त दूतावास वा कन्सुलर कार्यालय नै चाहिन्छ ।

क्रोएसियामा ६० हजारको संख्यामा नेपालीहरू रहेका तपाईंले बताउनुभयो । नेपालीहरूले कस्तो खालका काम गरिरहेका छन् ?

क्रोएसियामा नेपालीहरू ठूलो संख्यामा कन्स्ट्रक्सन वर्करका रूपमा रहेका छन् । क्रोेएसियाको अर्थतन्त्रको मुख्य आधार पर्यटन हो । उक्त क्षेत्रमा पनि ठूलो संख्यामा नेपालीहरूले काम गरिरहेका छन् । यसका अतिरिक्त प्रोसेसिङ, प्याकेजिङ, सप्लाई सेनअन्तर्गतका बाइक राइडर र कृषि क्षेत्रमा काम गरिरहेका छन् । 

नेपालबाट वर्क पर्मिटमा गएका कतिपय नेपालीहरूले समयमै तलब नपाउने र कामको ग्यारेन्टी नभएको बताए पनि ठूला समस्या देखिएका छैनन् । व्यक्तिगत वर्क पर्मिटमा जानेमध्ये धेरैले दुःख पाएका छन् । कतिपयलाई सेन्जेन भिसा भनेर ठूलो रकम लिएर बिचल्लीमा पारेको पनि बेलाबेलामा सार्वजनिक हुने गरेको छ ।

युरोपेली देशमा रहेका दूतावासले मागपत्र प्रमाणित नगरेकाले समस्या भएको व्यवसायीहरूले भन्ने गरेका छन् । यस समस्याको समाधान कसरी गर्न सकिन्छ ?

पहिले संस्थागत हुँदा समस्या थिएन तर पछि विभिन्न कारणले व्यक्तिगत भयो । यसलाई म विडम्बना नै भन्छु । संस्थागत रूपमा जाँदा लागत कम र रोजगारीको सुरक्षाको सुनिश्चितता हुन्छ । व्यक्तिगत रूपमा अरूको भनाइमा लागेर जाँदा नेपालमा बाचा गरिएअनुसारको काम, तलब र सेवा सुविधा नपाउने समस्या  बढी हुन्छ ।

व्यक्तिगत रूपमा जाँदा लामो समय रोजगारीविहीनको अवस्थामा पुग्न सकिन्छ । व्यक्तिगत रूपमा अनुचित प्रकारका प्रलोभनमा पारिएको पनि देखिन्छ । त्यसैले, हामीले दूतावास स्थापना गरेर श्रम सम्झौता गरेर हाल फिलिपिन्सले जस्तै कामदारको सेवा सुविधाको सुनिश्चितता गरेर मात्र पठाउनुपर्नेमा निरन्तर जोड दिएका हौं । 

क्रोएसियामा रहेका रोजगारीका अवसर लिन नेपाली युवा–युवतीलाई तपाईंको सल्लाह के छ ?

नेपालीहरू तयारी गरेरभन्दा सपना देखेर वा देखासिकी गरेर लहैलहैमा लागेर ठूलो धनराशि बिचौलियालाई खुवाएर समस्यामा परेका देखिन्छ । समय परिवर्तन भएको छ । युरोपमा अंग्रेजी भाषाको ज्ञान र सीप अनिवार्य छ । कृषि, कन्स्ट्रक्सन, ठूला सवारी साधन चलाउने ड्राइभर, कुक, वेल्डर आदि प्रशस्त क्षेत्रमा रोजगारीको अवसर छ । यी काम जानेकाहरूले मासिक १ लाख रुपैयाँ सजिलोसँग बचत गर्न सक्ने अवस्था छ । तर, सीपबिना केही हुँदैन । हातमा कुनै पनि सीप नभएको व्यक्तिले युरोपमा रोजगारीको सपनामा लगानी गर्नु आत्मघाती ठहरिन सक्छ ।

ADV

सम्बन्धित खबर

Advertise