२०८२ कार्तिक १८ गते मङ्गलवार / Nov 04 , 2025 , Tuesday
२०८२ कार्तिक १८ गते मङ्गलवार
Ads

बाढी पहिरोबाट इलाममा ११ अर्ब ८१ करोडको क्षतिको आकलन

shivam cement
२०८२ कार्तिक १८ गते ११:५४
Shares
बाढी पहिरोबाट इलाममा ११ अर्ब ८१ करोडको क्षतिको आकलन

इलाम : गत असोज १८ र १९ गतेको अकल्पनीय वर्षापछिको बाढीपहिराले इलाममा रु. ११ अर्ब ८१ करोड बढीको क्षति भएको छ । जिल्लास्थित विभिन्न सडक, पुल, भवन, खानेपानी, सिँचाइ, पशुपन्छी, कृषिजन्य क्षेत्रमा इलाममा रु. ११ अर्ब ८१ करोड ७९ लाख ८५ हजार ७०३ बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन्।

जिल्ला प्रशासन कार्यालयले सडक डिभिजन, पूर्वाधार विकास कार्यालय, नेपाल विद्युत् प्राधिकरण, जलस्रोत तथा सिँचाइ डिभिजनसहित सम्बन्धित ११ वटा विषयगत कार्यालयबाट संकलन गरेको क्षतिको प्रारम्भिक विवरणअनुसार सो परिमाणमा क्षति भएको प्रजिअ नेपालले बताइन् ।

बाढी पहिरोबाट सडक डिभिजनअन्तर्गत विभिन्न ११ आयोजनामा पहिरो गई रु. छ अर्ब ९६ करोड ४५ लाखको क्षति भएको छ । पूर्वाधार विकास कार्यालयअन्तर्गत ६२ सडकमा रु. दुई अर्ब ३४ करोड ६५ लाख, २५ वटा पुलमा रु. ८५ करोड र छवटा भवनमा रु. चार करोड बराबरको क्षति भएको छ ।

जिल्ला प्रशासनका अनुसार नेपाल विद्युत् प्राधिकरणअन्तर्गत पाँच वटा आयोजनाको एचटी लाइन, एलटी लाइन र ट्रान्सफर्मरमा रु. दुई करोड ४७ लाख ३५ हजार ९५२ बराबरको क्षति भएको छ । त्यसै गरी, जलस्रोत तथा सिँचाइ विकास डिभिजनअन्तर्गत १६ नदी नियन्त्रण आयोजनाको रु. १३ करोड ४६ लाख ६९ हजार, पाँच वटा पहिरो नियन्त्रण आयोजनाको रु. एक करोड ७४ लाख २२ हजार र ७२ सिँचाइ आयोजनामा रु. १७ करोड ७१ लाख ५९ हजार बराबरको क्षति भएको छ ।

त्यसै गरी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रअन्तर्गत दुई हजार ५२० वटा पशुपन्छीमा रु. दुई करोड ३५ लाख ७६ हजार र दुई सय ४४ वटा गोठ र पोखरीमा रु. एक करोड ९७ लाख ५४ हजार बराबरको क्षति भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभाग धनकुटा फिल्ड एकाइ कार्यालयअन्तर्गत २९ वटा खानेपानी आयोजनामा रु. २८ करोड ७५ लाख र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भद्रपुर झापाअन्तर्गत २ सय २३ आयोजनामा रु. २८ करोड १ लाख बराबरको क्षति भएको प्रजिअ नेपालले जानकारी दिइन् ।

त्यस्तै, कृषि ज्ञान केन्द्रअन्तर्गत तीन हजार ४०९ किसानले ८९२ दशमलव ३२ हेक्टर क्षेत्रमा लगाएको खाद्य तथा नगदे बालीमा रु. २७ करोड ४९ लाख ९५ हजार ७५० र राष्ट्रिय चिया तथा कफी विकास बोर्ड चिया विस्तार योजनाअन्तर्गत २५ चिया बगानमा रु. चार करोड ७५ लाख ५० हजार बराबरको क्षति भएको जनाइएको छ ।

नेपाल टेलिकमअन्तर्गत १० अप्टिकल फाइबर तथा केवलमा रु. पाँच लाख आठ हजार र सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना गैँडे झापाअन्तर्गत ३१ वटा आयोजनामा पहिरोबाट रु. ३२ करोड ९० लाख १६ हजार बराबरको क्षति भएको छ ।

क्षतिको विवरण जानकारी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय र सम्बन्धित विषयगत मन्त्रालयमा पठाइसकिएको प्रजिअ नेपालले बताइन्। “जिल्लाभित्रका विषयगत कार्यालयबाट सम्बन्धित पालिकाको समन्वय र सहजीकरणमा क्षतिको प्रारम्भिक विवरण संकलन गरिएको छ”, प्रजिअ नेपालले भनिन्, “क्षतिको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय र सम्बन्धित विषयगत मन्त्रालयमा पठाएका छौँ ।”

बाढी पहिरोबाट इलाममा ३९ जनाको ज्यान गएको थियो भने २६ जना घाइते भएका थिए । एक जना अझै बेपत्ता छन् । बाढी पहिरोबाट जिल्लामा सात सय ११ घरपरिवार विस्थापित भएका छन् । यसमध्ये सात सय परिवार आफन्तको घरमा र ११ परिवार सामुदायिक भवनमा बसिरहेको जिल्ला प्रशासनले जनाएको छ । बाढी पहिरोबाट जिल्लाको १० स्थानीय तहमा तीन सय ६५ घर पूर्ण र नौ सय ४० घरमा आंशिक क्षति पुगेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर