२०८१ चैत २३ गते शनिवार / Apr 05 , 2025 , Saturday
२०८१ चैत २३ गते शनिवार
Ads

जीवा लामिछानेको रोमाञ्चक यात्रा : ‘अक्षत अन्टार्कटिका’

draupadi film
२०८१ चैत २३ गते ०६:२५
जीवा लामिछानेको रोमाञ्चक यात्रा : ‘अक्षत अन्टार्कटिका’

–रसुवाली कवि 

‘मान्छेसँग संगत गरेको धेरै नभएकाले त्यहाँका सिल र पेन्गुइनले मान्छे कस्ता प्राणी हुन् भनेर अझै चिन्न सकेका छैनन् । त्यसैले, उनीहरू मान्छेसँग ज्यादै घुलमिल हुन्छन् । लामो संगतको अभावका कारण उनीहरूले मान्छेसँग कुनै इतर व्यवहार गर्दैनन् । जुन दिन मान्छे उनीहरूको अस्तित्वका लागि खतरा हुन् भन्ने थाहा पाउँछन्, उनीहरूको व्यवहार फरक हुने छ । उनीहरूको इनोसेन्स गायब हुने छ । त्यस्ता कुरामा अब हामी तत्काल सचेत भइहाल्नु जरुरी छ ।’ ‘अक्षत अन्टार्कटिका’, पृष्ठ : १८० ।

नियात्राकार जीवा लामिछाने अन्टार्कटिका यात्रामा भएको बखत छोरा अनुरागले लेखेको चिठीको अंश हो यो । प्रायः सिल र पेन्गुइनहरूको बासस्थान रहेको अन्टार्कटिका प्रायद्वीपबारे अनुरागको यो चिन्ता र चासो आजको साझा पर्यावरणीय मुद्दा पनि हो । अनुराग जस्ता युवाहरूले आजको विश्व पर्यावरणबारे चिन्ता गर्नु अत्यावश्यक पनि छ ।

नियात्राकार जीवा लामिछानेको ‘अक्षत अन्टार्कटिका’ पढिरहँदा जैविक विविधता, पर्यावरण, जलवायु परिवर्तनबारे चासो, चिन्ता, कौतूहलपूर्ण आशयहरू प्रकट भएका छन् । ‘अक्षत अन्टार्कटिका’ शीर्षकले नै अन्टार्कटिकाको विशालता, मौलिकता र जीवन्ततालाई जोड दिएको छ भन्न सकिन्छ ।

यो नियात्राले कुनै सन्देश दिन्छ भने त्यो हो– अन्टार्कटिकाको मौलिकतालाई जोगाउनुपर्छ, जुन हरेक पृथ्वीबासीका लागि महत्त्वपूर्ण छ । अन्टार्कटिकाको दुःख पृथ्वीको साझा दुःख पनि हो । अन्टार्कटिकाको मौलिकता जीवन्त हुनु पृथ्वीबासीका लागि सधैं खुसीको खबर पनि हो ।

अधिकांश नेपालीहरूले अन्टार्कटिकाको भ्रमण गर्न सक्दैनन् । अन्टार्कटिकाको पर्यटन जोखिम, कौतूहल, रोमाञ्चकता र रहस्यसँग जोडिएको पर्यटन हो । त्यहाँ जान चाहनेहरूले २ वटा कुरा महसुस गर्छन् : एउटा, जोखिम उठाउन सक्छु भन्ने जोस र त्यहाँ पुगेपछि कस्तो होला भन्ने कौतूहल । मूलतः यी २ कुरा सोचेर पर्यटकहरू त्यहाँ पुगिरहेका छन् । जीवा लामिछाने त्यस्तै यात्री हुन् । उनी पर्यटक हुन् र यात्रालाई लेख्न सक्ने सफल लेखक पनि ।

मस्को स्टेट युनिभर्सिटी अफ सिभिल इन्जिनियरिङबाट स्नातकोत्तर जीवा लामिछानेलाई धेरैले व्यवसायीका रूपमा चिन्छन् । गैरआवासीय नेपाली अभियन्ता लामिछाने गैरआवासीय नेपाली संघका संस्थापक सदस्य एवं पूर्वअध्यक्ष हुन् । उनले खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान स्थापना गरी नेपाली साहित्यको सेवा गरिरहेका छन् । 

संसारका १३० भन्दा धेरै देशमा पुगिसकेका लामिछाने आफू पुगेको ठाउँका बारेमा यात्रा निबन्धको मीठो बान्की बुन्छन् । जीवाको भाषामा काव्यिकताको मात्रा प्रशस्त हुन्छ, जसका कारण पाठकहरूलाई जीवाका नियात्राले बाँधी राख्न सक्छन् । 

यसअघि बजारमा आएको जीवा लामिछानेका ‘सरसर्ती संसार’ र ‘देश देशावर’लाई व्यापक रुचाइयो । जीवाले लेखेका नियात्राभित्र सम्बन्धित ठाउँको वर्णन मात्र हुँदैन, उनी त्यहाँका ऐतिहासिक पक्षलाई केलाउँछन् । समग्रताको बयान गर्छन् । यस्तो व्यापक चेत कमै मात्र नियात्राकारमा हुन्छ । 

तारानाथ शर्माले धेरै पहिला लेखे– ‘बेलायततिर बरालिँदा ।’ झर्रो नेपाली भाषाका अभियन्ता शर्माको एउटा मीठो यात्रा निबन्ध छ– ‘घनघस्याको उकालो काट्दा ।’ पश्चिम नेपालको यात्रामा निस्केका शर्माले त्यहाँको जीवन, संस्कृति, चालचलन र आफ्नो अनुभूतिलाई तीव्रतामा पु¥याएर लेखेका थिए । उक्त यात्रा निबन्ध (नियात्रा) विद्यालय र विश्वविद्यालयमा थुप्रै विद्यार्थीले पढे । आज पनि पढ्दै छन् ।

जीवा लामिछानेको नियात्रा ‘देश देशावर’ पढिरहँदा तारानाथ शर्मालाई सम्झें । त्यति समृद्ध शैलीमा समकालमा लेखिरहेका को–को छन् भन्ने जिज्ञासा पनि लागिरह्यो । मैले त्यस्तो कलम जीवामा पाएँ । जीवाको नियात्रा नेपाली साहित्यको सम्पत्ति हो ।

बदलिँदो, फेरिँदो वा वैज्ञानिक फड्को हानिरहेका देशहरूको वर्णन गरेर मात्र छाडेका छैनन् जीवाले । आदिवासी बस्तीमा पुगेका छन् । उनीहरूको इतिहासलाई उनेका छन् । त्यहाँ खाना खाएका छन् । कुनै ग्रामीण इलाकामा पुगेका छन् । त्यहाँका खेतीहरूबारे लेखेका छन् ।

साहित्यकार र दार्शनिकको चिहानमा उभिएर उनले तिनको योगदानको चर्चा गरेका छन् । इतिहासलाई छाम्नु र वर्तमानलाई तीखो गरी अनुभूत गर्दै लेख्नु जीवाको लेखकीय विशेषता हो ।

‘अक्षत अन्टार्कटिका’ छोटो समयमा गरिएको यात्रा वर्णन र अनुभूति हो । तर, यात्रा क्यानभास फराकिलो छ । बेलायतबाट अन्टार्कटिका पुगेकाहरूको प्रसंग होस् वा पानीजहाजमा हुने डकैत प्रसंगका रोचकतालाई उनेर जीवाले शब्दहरूको मोहक माला बनाएका छन् ।

जीवा चढेको जहाजका यात्रीहरूमा बढेको आत्मीयताले विश्वबन्धुत्वको भाव जागृत बनाउँछ । मानिस जहाँको भए पनि उसमा शरद्को सयपत्री फुलिरहने मानवता हुन्छ र त्यो भावना साझा हुन्छ भन्ने भाव जीवाका यात्रा प्रसंगमा आएका छन् ।

नत्र छोटो यात्रामा भेटिएकाहरू किन परिवारका सदस्य जस्ता हुन्छन् ? किन छुट्टिने बेलामा रसाउँछन् युवतीका आँखाहरू ? किन जीवाका छोराहरू पठाइरहन्छन् इमेल ? किन जीवा जीवन संगिनी बिन्दितालाई प्रेमिल भावले सम्झिरहन्छन् ? किन यात्रामा देखिएको सपनामै विश्वप्रसिद्ध जहाजको डकैत गर्ने मान्छे आउँछ ?

जीवाका नियात्रामा मानवीय भावनाको नदी बग्छ, चितवनको नारायणीझैं शान्त भएर । उनी विश्वको पल्लो छेउमा पुगेर चितवनलाई पनि सम्झिरहन्छन् । भनिन्छ– वनको चरीलाई सुनको गुँड काम लाग्दैन । जीवा जहाँ पुगे पनि नेपालीकै तरिकाले सोचिरहेका हुन्छन् र त उनी एक्लै अन्टार्कटिका जान सकेनन्, घनश्याम दाइ सहयात्रीका रूपमा लिएर यात्रामा हिँडे । 

नेपालीहरू एक्लै हिँड्दैनन् । धरान बजारमा सुन्तला बेच्न भोजपुरबाट ढाकर बोकेर झरिरहेका मानिसहरूका बारेमा हाम्रो साहित्यमा लेखिएकै छैन जबकि जीवा पनि अन्टार्कटिका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मलाई भेट्न पुगेका छन् नेपाल आउनेबित्तिकै ।

भुवनसिंहले सुनाएको प्रसंगले उनलाई बेग्लै अनुभूति दिलाएको छ । भुवन अन्टार्कटिकाको चिसोमा नारायणगोपालको गीत– ‘भोलि उठी कहाँ जाने केही थाहा छैन...’ सुन्दा रहेछन् । यो गीतले त्यहाँको मनस्थितिलाई बोक्छ ।

अन्टार्कटिकामा विभिन्न देशका स्टेसनमा रहने वैज्ञानिक र प्रतिनिधिले पनि यस्तै सोच्दा हुन् सायद । उनीहरू नारायणगोपालको गीत बुझुन् पो कसरी !

घनश्याम दाइसँग जीवाले यात्राभर धेरै अनुभूतिहरू साटेका छन् । यो पुस्तक आख्यान हुन्थ्यो भने घनश्याम दाइ मुख्य पात्रमा पर्थे  । भलै, यो नियात्रा हो । नियात्रामा वास्तविक पात्र हुन्छन् । नियात्रालाई रोचक बनाउन जीवाले आख्यानात्मक शैलीलाई पनि ठाउँठाउँमा पछ्याएका छन् ।

अन्टार्कटिका चिसो छ । यति चिसो संसारमा कतै पनि हुँदैन । अन्टार्कटिका हिउँको राज्य हो, यति बाक्लो गरी हिउँ संसारमा अन्त कतै पनि जम्दैन ।

पेन्गुइनहरू मान्छेसँग आत्मीय हुन्छन् । अन्टार्कटिकाबाहेक अन्त पेन्गुइनसँग मान्छे यति आत्मीय हुँदैन । यहाँ लाखौं वर्षदेखि चिसो हावा बहेकै छ । यति चिसो संसारमा अन्त कतै बहँदैन पनि ।

पेइन्गुन आमाहरूले शत्रुबाट जोगाइरहेका छन् बच्चाहरू । आमाहरूको कुनै जात हुँदैन । यिनीहरू ब्रह्माण्डीय चेतका हुन्छन् । अशोक सुवेदीले गीतमा लेखेजस्तो आमाहरू जूनझैं शीतल हुन्छन्, समुद्रझैं विशाल हुन्छन्, पवनझैं शान्त हुन्छन् । अन्टार्कटिकाका पेन्गुइनहरूबारे जीवाले ममताको कोणबाट लेखेका छन् । पर्यावरणीय कोणबाट उत्तिकै सचेततापूर्वक कलम चलाएका छन् । पेन्गुइन बच्चाहरू जोगाइरहेका आमाहरू सायद आदर्श हो ।

नियात्राकार जीवा भावुक यात्री हुन् । उनले यो यात्रामा त्यस्तै भावुकता सँगालेका छन् । उनी नर्डिक मुलुकहरूमा लोककथालाई यसरी उल्लेख गर्छन् :

‘मानव जातिको देउता मानिने ठूलो आकारको एउटा कागले एक पटक समुद्र किनारमा हल न चलको अवस्थामा रहेको ह्वेललाई देख्यो । बिरामी ह्वेल देखेर देउता काग साह्रै दुःखी भयो । दुःखी हुनुको कारण के थियो भने यो ह्वेल बिरामी भएयता संसारमा कुनै पनि चिज सहज तरिकाले चलिरहेको थिएन । उसले ईश्वर (ग्रेट स्पिरिट)सँग प्रार्थना गर्‍यो– यो ह्वेल इन्तु न चिन्तुको अवस्थामा छ । यसलाई समुद्रमा धकेल्ने मेरो शक्ति छैन । मलाई विशेष किसिमको च्याउ देऊ । त्यो खाएर शक्ति बटुल्छु र ह्वेललाई ठेलेर समुद्रमा पठाइदिन्छु । त्यसपछि त्यही नियममा चल्ने छ ।’ ‘अक्षत अन्टार्कटिका’, पृष्ठ : १३३ ।

ह्वेल ठूलो जीव हो । यो जीवको सिकार खेल्नेहरू थुप्रै बढेका छन् । ह्वेलको तेलको व्यापार गर्नेहरू पनि बढेका छन् । यो लोककथाको उदाहरणले ह्वेललाई बचाउने कुरालाई जोड दिएको छ ।

यात्राका क्रममा जीवा ह्वेलको दीर्घ जीवनको कामना गरिरहेका ती काग देवता जस्ता लाग्छन् । काग देवताले ईश्वरसँग शक्ति मागेझैं जीवाको काव्यिक हृदय भन्छ– हामी मानवहरूले पर्यावरण र जीवजन्तुको जीवन्त आयु मास्यौं, बेलैमा सचेत होऔं । उनले अन्टार्कटिकालाई अक्षत भन्नुको कारण पनि त्यही हो ।

अन्टार्कटिका हिजो पनि अक्षत थियो, भोलि पनि अक्षत हुनुपर्छ भन्नेमा जीवा लामिछाने जोड दिन्छन् । उनका छोरा अनुरागले लेखेको चिठीको पनि त्यस्तै बेजोड भाव छ ।

‘म/छोरा’ अध्यायमा एउटा छोटो कविता समावेश छ, जुन कविताको अंश निकै बेजोड छ :

संसारलाई अब 
हामी सबैले हेर्नु जरुरी रहेछ 
नयाँ आँखाले 
नयाँ चेतनाका साथ । ‘अक्षत अन्टार्कटिका’, पृष्ठ : १७८ ।

कविता संसारलाई हेर्ने दृष्टिकोणबारे बोल्छ । अबका दिनहरूमा हामी कसरी दुनियाँलाई हेर्छौं, त्यसका लागि नयाँ चेतना चाहिन्छ । नयाँ मानिसहरूमा उम्रने नयाँ चेत अतिआवश्यक छ । अन्टार्कटिका फर्किएपछि जीवाले यस्तै सोचे होलान् । मैले यो किताब पढिसकेपछि एउटा गीत सुनें, जुन यस्तो छ :

हिमालसरि म अग्लिरहेछु
समात, समात, समात मलाई 
बादलसरि म पग्लिरहेछु 
सम्हाल, सम्हाल, सम्हाल मलाई ।

शब्द/संगीत– गोपाल योन्जन 
स्वर– नारायणगोपाल/अरुणा लामा

ADV

सम्बन्धित खबर

Advertise