२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

रास्वपामा महामन्त्री मुकुलले गरेको विद्रोह

ADV
मुकुन्द लामिछाने
२०८१ असार २० गते ०६:४५
रास्वपामा महामन्त्री मुकुलले गरेको विद्रोह

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक कलहमा फसेको छ । पार्टी सभापति रवि लामिछाने र महामन्त्री मुकुल ढकाल मुखामुख नै भएका छन् । बुधबार बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालले मुखमा कालो टेप बाँधेर विरोध नै जनाएपछि पार्टीभित्रको आन्तरिक कलह छताछुल्ल भएको छ ।

नेपाली कांग्रेस र नेकपा एमाले नै मिलेर सरकार बनाउनेतिर लाग्दा राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका प्रष्ट्याउनुपर्ने न्यूनतम राजनीतिक दायित्व भुलेर रास्वपा आन्तरिक कलहमा फसेको हो । 

रास्वपाका सभापति लामिछाने वर्तमान सरकारमा उपप्रधान तथा गृहमन्त्री छन् । तर, रास्वपा सरकारबाट बाहिरिने अवस्थामा पुगेको छ । संसदको सबैभन्दा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले नै समीकरण बनाएर सरकार बनाउन अग्रसर भएका छन् । यो बेला बसेको रास्वपाको केन्द्रिय समितिको बैठकमा महामन्त्री ढकालले मुखमा मास्क लगाएर त्यसमाथि कालो टेपको क्रस बनाएर विद्रोह गरेका हुन् ।

बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गरेका महामन्त्री ढकालको प्रस्तावलाई पार्टीे सभापति रवि लामिछानेले अस्वीकृत गरेपछि विरोधस्वरूप महामन्त्री ढकालले मुखमा कालो टेप बाँधेका हुन् । लोकतन्त्र मान्ने र बुझेको मानिसले प्रत्यक्ष प्रसारण गर्नबाट नरोक्ने भन्दै अभिव्यक्ति दिँदै आए पनि केन्द्रीय समितिले उनको प्रस्तावलाई अस्वीकृत गरी बैठक सञ्चालन गरेको छ ।

बुधबार रास्वपाको केन्द्रीय समिति महामन्त्री डा. मुकुल ढकालले तयार गरेको समीक्षा प्रतिवेदनमाथि छलफल गर्न बसेको हो । तर, उक्त बैठकमा केन्द्रीय सदस्यहरु मूल विषयबाट टाढा पुगे र महामन्त्रीको समग्र कार्यसम्पादनकै समीक्षामा जुटे ।

महामन्त्री ढकाल टेप लगाएर बसेपछि केही केन्द्रीय सदस्यहरुले आपत्ति जनाएका थिए । होहल्ला भएपछि सभापति लामिछानेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । त्यसपछि फेरि सभापतिले महामन्त्रीका गतिविधिलाई पार्टी अनुशासनको विषय बनाउने र अनुशासन आयोगले हेर्ने बताएपछि बैठक सुचारु भयो । 

महामन्त्रीले नबोल्ने बताएपछि सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले डेढ घण्टा लगाएर समीक्षा प्रतिवेदन वाचन गरे । त्यसपछि खाना खान बैठक स्थगित भयो । खाना खाएपश्चात प्रतिवेदनमाथि छलफल सुरु गर्न भनेर बसेको बैठकमा केन्द्रीय सदस्यहरु मूल विषयबाट टाढा पुगे ।

सरकारबाट बाहिरिएपछिको रणनीति के हुने, समीक्षा प्रतिवेदनका सन्दर्भमा आफ्नो बुझाई के हो भनेर राख्ने भन्दा बढी महामन्त्रीको कार्यसम्पादन र कार्यशैलीलाई लिएर टिप्पणीमा उत्रिए । केही केन्द्रीय सदस्यले महामन्त्री पार्टीको विधि र अनुशासन विपरीत कामकारबाहीमा संलग्न रहेको भन्दै कारबाहीको माग राखे । 

महामन्त्रीले आफ्नो प्रतिवेदन पार्टीमा बुझाउनुभन्दा अगाडि मिडियाबाजी गरेको भन्दै आलोचना भएको छ । 

ढकालले दुई वर्षदेखि महामन्त्रीको रुपमा कार्यरत छन् । ‘अहिले उहाँविरुद्ध सभापतिविरुद्ध उत्रिन थाल्नुभएपछि सबैको असन्तुष्टि विष्फोट भएको छ’ एक केन्द्रीय सदस्यले भने ।

ADVADV

सम्बन्धित खबर

Advertise