काठमाडौं : गायक सुरेश लामा र गायिका त्रिशाला गुरुङको स्वर रहेको गीत ‘माया के हो ?’ सार्वजनिक गरिएको छ । काठमाडौंको जमलमा रहेको विश्वज्योति सिनेप्लेक्समा आयोजना गरिएको पत्रकार सम्मेलनमा गीतका संगीतकार अर्जुन पोखरेल, निकेश खड्का, अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री उगेन छोदेन उपस्थित थिए । प्रेम राजा अधिकारीको शब्द रहेको गीतको भिडिओलाई कुलेखानीको मनोरम दृश्यमा छायांकन गरिएको छ । निर्देशक खड्काले गीतको भाव अनुसार नै भिडिओ तयार गरेको बताए ।
‘यो गीत सुन्दा नै गुनगुनाई रहने किसिमको बनेको छ । गीतमा व्यक्त भएको प्रेम भावलाई भिडिओमा देखाउने कोसिस गरेको छु । दर्शकलाई एउटा फ्रेश केमेष्ट्री पनि हुनेछ’, उनले भने । संगीतकार पोखरेलले पछिल्लो समय देखिएको रोमान्टिक गीतसंगीतको कमीलाई यस गीतले पूरा गर्ने बताए ।
‘पछिल्लो समय सामाजिक विषयवस्तुका फिल्म बढी बनिरहेको सन्दर्भमा कम रोमान्टिक गीत कम सुनिन थालेको छ । रोमान्टिक गीतको प्रतीक्षामा रहेका दर्शकलाई यसले तृप्त बनाउँछ जस्तो लागेको छ । गीतको अडियो झैं भिडियो पनि रोमान्टिक बनेको छ’, उनले भने ।
अभिनेता श्रेष्ठले आफूले केही समयको अन्तरालमा भिडिओमा काम गरेको बताए । ‘म अहिले मेरो व्यवसायिक कामसँगै फिल्मकै कारण भिडिओमा पनि कम देखिएको छु । यो गीत सुन्दा मन पर्यो साथै यसलाई भिडिओ बनाउने टिमसँग म पहिले देखि काम गरिरहेकोले यो सहकार्य सम्भव भएको हो । मेरो बीचको केहि ग्यापलाई यो गीतले न्याय गर्छ जस्तो लागेको छ’, अभिनेता श्रेष्ठले भने ।
अभिनेत्री छोदेनले फिल्मपछि गीतमा काम गर्दा छुटै अनुभव सङ्गालेको बताइन । उनले ‘दुई नम्बरी’ फिल्मपछि भिडिओमा काम गरेकी हुन् । उनले अभिनेता श्रेष्ठ, निर्देशक खड्का लगायतले आफूलाई सहज बनाएको बताइन ।
‘मैले सहजताका साथ काम गरें । यो टिम निकै सरल र सहयोगी छन् । म फिल्मपछि गीतमा देखिन पाउँदा उत्साहित छु, म नेपाली फिल्म र गीतसङगीतमा काम गर्न सधै तयार छु । मैले नेपालबाट पाइरहेको माया अमुल्य छ, म कृतज्ञ छु’, उनले भनिन् ।
ङागस्तो दोर्जी योञ्जनले निर्माण गरेको सार्वजनिक भिडियोमा हरि हुमागाईंकको छायांकन, सुवास तिमल्सेनाको शृंगार, कुसुम बुटिकको ड्रेस, विकास धमलाको सम्पादन रहेको छ । भिडिओ ङागस्तोकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।