काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले आफ्नो कार्यकालमा संघले ऐतिहासिक उपलब्धि हासिल गरेको दाबी गरेका छन् । काठमाडौंको सिफलस्थित संघ कार्यालयको सभाहलमा मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै अध्यक्ष भण्डारीले सो दाबी गरेका हुन् ।
आगामी चैत २९ गते संघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । सोही अवसरमा पत्रकार सम्मेलन आयोजना गरेर अध्यक्ष भण्डारीले आफ्ना कार्यकालका उपलब्धिसहित व्यवसायीहरूका लागि आगामी योजना सार्वजनिक गरेका हुन् ।
अध्यक्ष भण्डारीले संघको वर्तमान कार्यसमितिमा देखिएको एकता र परिणाममूखी काम गर्ने शैलीकै कारण संघको अगुवाईमा एकपछि अर्को उपलब्धिहरु हासिल भएको बताए । व्यवसायीका हकहित, समस्या समाधान, नीतिगत सुधारका प्रयत्न, सामाजिक उत्तरदायित्वलगायतका थुप्रै काम सफलतापूर्वक गरिएको अध्यक्ष भण्डारीले बताए ।
अध्यक्ष भण्डारीले आफ्नो कार्यकालमा संघले स्थापनाको ३२ वर्षपछि आफ्नै प्रशासनिक भवन पाएको बताए । संघमा आबद्ध करिब एक हजार व्यवसायीहरूको छाता संस्थाको आफ्नै भवन खरिद गर्न सक्नु वर्तमान कार्यसमितिको प्रमुख उपलब्धि रहेको उनले उल्लेख गरे ।
अध्यक्ष भण्डारीले आफ्नो कार्यकालमा गुनासो सुनुवाइको सम्यन्त्र अन्तर्गत वैदेशिक रोेजगार विभाग श्रमग्राम परिसरमा उजुरी, गुनासा सुन्न र समाधान गर्न दुई कोठे मेलमिलाप कक्ष निर्माण गरिएको उल्लेख गरे । व्यवसायी तथा कामदारको ३४ सय उजुरी/गुनासाहरू व्यवसायी र कामदारसँगै राखेर समाधान गर्न सफल भएको, सरकारी तथा गैरसरकारी संस्थाहरुसँगको सहकार्य तथा संवादलाई सुमधुर बनाउने कार्य भएको पनि उनले आफ्नो कार्यकालको उपलब्धिमा उल्लेख गरेका छन् ।
यूएईमा रोजगार मेला आयोजना गर्नुका साथै साउदी, कतार, यूएई, मलेसियालगायतका मुलुकमा स्थलगत भ्रमण तथा अन्तरक्रिया कार्यक्रम गरिएको, विदेशमा रहेका नेपाली कुटनैतिक निकायमा नयाँ नियुक्त भएका राजदूत, श्रम सहचारी तथा श्रम काउन्सिलरसँग भेटघाट तथा अन्तरक्रिया गरिएको पनि अध्यक्ष भण्डारीले आफ्नो कार्यकालको उपलब्धिमा उल्लेख गरेका छन् ।
उनले सय संख्याको बाध्यात्मक प्रावधानलाई २ पटकसम्म बाधाअड्काउ फुकाउने काम गराउन सफल र यो व्यवस्थालाई ऐनबाट हटाउने काम अन्तिम चरणमा पु¥याउन सफल भएको पनि उल्लेख गरेका छन् ।
अध्यक्ष भण्डारीले अब आउने संघ कार्यसमितिले समय सापेक्ष ऐन नियम परिमार्जनमा पहल गर्नुपर्ने, सेवा शुल्क व्यवस्थापन र कामदारको लागत निर्धारण गर्नुपर्ने, विभिन्न नयाँ गन्तव्य मुलुकहरूसँंग श्रम सम्झौताका लागि पहल गर्नुपर्ने, मागपत्र प्रमाणीकरण सहजीकरण गर्नुपर्नेलगायतका कार्य गर्नुपर्ने उल्लेख गरेका छन् ।
यस्तै अध्यक्ष भण्डारीले कामदारका लागि आगामी योजनाहरू पनि सार्वजनिक गरेका छन् । उनले रोजगारदाता मुलुकसँग हुने श्रम सम्झौतामा कामदारको २४ घण्टे बीमाको व्यवस्थापनमा पहल गर्नुपर्ने, न्यूनतम ज्यालाको सुनिश्चितताका लागि पहल गर्नुपर्ने, सेन्डिङ कन्ट्रीका व्यावसायिक संगठनहरूसँग साझा धारणा बनाइ अस्वस्थ प्रतिस्पर्धाको अन्त्य गरी कामदारको लागत न्यूूनीकरण गर्नुपर्ने, विभिन्न निकायसँग समन्वय गरी कामदारका लागि सीप विकासका कार्यक्रमहरू ल्याउन पहल गर्नुपर्नेलगायतका योजनाहरू सार्वजनिक गरे ।
पत्रकार सम्मेलनमा पत्रकारहरूले विदेशबाट मागपत्र ल्याउन व्यवसायीहरूबीच अस्वस्थ प्रतिस्पर्धा हुने गरेको, कामदारहरूले अत्यधिक रकम तिर्नुपर्ने अवस्था रहेको, कामदारका समस्याहरू सम्बोधन हुन नसकेको, उजुरीका संख्याहरू बढ्दै गएकोलगायतका विषयमा जिज्ञासा राखेका थिए । जसको प्रतिउत्तरमा अध्यक्ष भण्डारीले संख्या सय नै समस्याको मुल जड रहेको, सेवा शुल्कबारे सरकार उदासीन रहेको र गैरव्यवसायीहरूको अनधिकृत कार्यहरूलाई रोक्न नसकिएको बताएका थिए ।
संघका महासचिव मेघनाथ भुर्तेलले सञ्चालन गरेको पत्रकार सम्मेलनमा प्रथम उपाध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ले स्वागत मन्तव्य राखेका थिए ।