२०८२ वैशाख ५ गते शुक्रवार / Apr 18 , 2025 , Friday
२०८२ वैशाख ५ गते शुक्रवार
Ads

प्रस्ट भिजन र बलियो टिम नै हाम्रो जित्ने आधार हो : नरेश गेलाल

draupadi film
२०८१ चैत २७ गते ०६:१०
प्रस्ट भिजन र बलियो टिम नै हाम्रो जित्ने आधार हो : नरेश गेलाल

खोटाङ जिल्ला पुर्ख्यौली घर भई सिरहामा जन्मिएर नेपालगंजबाट प्रारम्भिक शिक्षा र काठमाडौंको अमृत साइन्स क्याम्पसबाट विज्ञान विषयमा उच्च शिक्षा हासिल गरेका नरेश गेलाल आगामी २९ चैतमा हुने नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायीको अर्काे पक्ष र एकीकृत वैदेशिक रोजगार संगठनबीचको तालमेलमा गठित संयुक्त व्यवसायी समूहका अध्यक्षका उम्मेदवार हुन् ।

संघको महासचिव र प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको अध्यक्ष भएर परिपक्व नेतृत्व प्रदान गरिसकेका एचआर इन्टरनेसनल प्रा.लि.का संचालक गेलाल वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्या समाधान गरेर वैदेशिक रोजगार व्यवसायलाई सेवा उद्योगको हैसियतमा स्थापित गर्न प्रस्ट भिजन र बलियो टिमसहित चुनावी मैदानमा आएको र त्यही नै जित्ने मुख्य आधार भएको बताउँछन् ।

पदाधिकारीसहित प्यानलका सबै १७ उम्मेदवार आफ्नो क्षेत्रको जिम्मेवारी सफलतापूर्वक पूरा गर्न सक्ने अनुभवी र परिपक्व रहेका उनको भनाइ छ । प्रस्तुत छ संघको चुनावी माहोल र प्रतिस्पर्धी प्यानलबारे अध्यक्षका उम्मेदवार व्यवसायी नरेश गेलालसँग मध्यान्हले गरेको कुराकानीको सम्पादित अंश :

यही २९ चैतमा संघको निर्वाचन हुँदै छ, तयारी कस्तो छ ?

उम्मेदवारी दर्तापछि क्षेत्रीय भेलाहरूमा केन्द्रित छौं । मतदाता व्यवसायीका भनाइ सुनिरहेका छौं । म लामो समयदेखि वैदेशिक रोजगार क्षेत्रमा सक्रिय छु । संघ र व्यवसायीका हकहितका लागि निरन्तर लड्दै आएको छु । संघमा हुँदा होस् वा बाहिर, व्यवसायीहरूको पक्षमा मैले सधैं दृढ अडान लिएको छु । मेरो नेतृत्व तथा सबै व्यवसायीहरूको एकता र समन्वयमा आधारित प्रचारप्रसार भइरहेको छ । हामीप्रति व्यवसायीहरू आकर्षित हुनुहुन्छ ।

वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्या समाधानका लागि तपाईंका मुख्य एजेन्डा के–के छन् ?

म प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालको अध्यक्ष र संघको महासचिव भएर काम गरेकाले वैदेशिक रोजगार क्षेत्रमा रहेका सबै समस्या र त्यसको समाधानका उपायबारे गहिरो जानकारी राख्छु । वैदेशिक रोजगार व्यवसाय मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको भए पनि यसलाई अस्तव्यस्त बनाउने षड्यन्त्र भयो ।

इजाजत नवीकरणका लागि अनिवार्य गरिएको संख्या सय खारेजी, मागपत्र प्रमाणीकरणमा सहजता, लागत परिभाषित गरेर सेवा शुल्क परिमार्जन, व्यवसायी भलाइ कोष कार्यान्वयनलगायतका समस्या तत्कालै समाधान हुनुपर्छ । 

वैदेशिक रोजगार ऐन संशोधन, युरोपेली देशमा नयाँ श्रम गन्तव्यहरूको खोजी, वैदेशिक रोजगारीमा जाने कामदारहरूलाई तालिम जस्ता दीर्घकालीन प्रकृतिका कामहरू गर्नुपर्ने छ । 

नेपाली दूतावासबाट अनिवार्य मागपत्र प्रमाणीकरणको प्रावधानले व्यवसायीहरू अत्यन्तै पीडित हुनुहुन्छ । मागपत्र प्रमाणीकरण नभएको अवस्थामा वैदेशिक रोजगार क्षेत्र बन्द भएर रेमिट्यान्समा निर्भर देशको अर्थतन्त्र प्रभावित हुने खतरा छ ।

हाल नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वले त्यसबारे दबाब दिइरहेको छ । हामी थप दबाब दिएर मागपत्र प्रमाणीकरणको समस्या दीर्घकालीन रूपमा समाधान गर्छाैं । 
यसका अतिरिक्त एकै परिवारका सदस्यले व्यवसाय गर्न नपाउने व्यवस्था जस्ता विषय पनि खारेज गर्नुपर्ने छ । हामी निर्वाचित भएपछि कुनै विलम्ब नगरी लामो समयदेखि समाधान नभएका समस्या समाधानका लागि जुट्ने छौं ।

संघमा अति राजनीति भएकाले संघ प्रभावकारी भएन भन्ने व्यवसायीको गुनासोलाई कसरी हेर्नुभएको छ ?

विगतको अनुभव केही तितो छ तर संघको वर्तमान कार्यसमिति संस्थागत रूपमा अघि बढ्ने विषयमा केही ऐतिहासिक मानकहरू तयार गरेर व्यवसायीहरूका अगाडि आदर्शको उदाहरणका रूपमा प्रस्तुत भएको छ ।

मैले पनि ‘नाफिया बियोन्ड पार्टी पोलिटिक्स’ अर्थात् राजनीति संघको परिधिभन्दा बाहिर भन्ने मान्यता राख्छु । म महासचिवको जिम्मेवारीमा रहँदा व्यवसायीहरूको हकहितका लागि निरन्तर लडेको व्यक्ति हुँ । समस्या समाधानका लागि ठोस योजनासहित सरकारसँग नीतिगत छलफल गर्ने अनुभवी टिम चाहिन्छ । त्यो हामीले तयार गरेका छौं ।

प्रथम उपाध्यक्षदेखि सदस्यसम्मका उम्मेदवार हेर्नुभयो भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यवसायीका एजेन्डामा तर्क र आत्मविश्वासका साथ आँखामा आँखा जुधाएर छलफल गर्ने, विभागका समस्या तत्कालै समाधान गर्न सक्ने, परीक्षणमा खरो प्रमाणित भएका व्यवसायी उम्मेदवार हुनुहुन्छ ।

त्यसैले, अब राजनीति होइन, संघ नेपालका सन्दर्भमा इज्जतका साथ सबैले नाम लिने पूर्ण रूपमा व्यावसायिक संस्था बन्ने छ । नयाँ तथा पुराना सबै व्यवसायीले आफ्ना समस्या राख्ने र समाधान खोज्ने प्रभावकारी संस्थाका रूपमा संघलाई पाउनु हुने छ ।

आमव्यवसायी भने चुनावी मैदानमा आएका प्यानलहरू नै भित्री रूपमा व्यवसायीविरोधी सिन्डिकेटका सहयोगी छन् भने टिप्पणी गरिरहेका छन् । के भन्नुहुन्छ ?

हाम्रो प्यानल सिन्डिकेटविरोधी प्यानल हो । अहिले मलेसियामा सम्भावित २५ वटा म्यानपावर कम्पनीलाई मात्र काम गर्न दिने र अन्यत्र पनि सिन्डिकेट लाग्ने भनेर व्यवसायीलाई गुमराहमा राख्ने प्रयास भएको छ ।

म आफ्नो स्वच्छ छवि कुनै पनि अवस्थामा धमिलो हुन दिने छैन भनेर कसम खाएको छु । उम्मेदवारी दर्ता गर्ने दिन आमाको आशीर्वाद लिन गएको थिएँ । मैले प्रण गरेको छु– मलेसियालगायत अन्य कुनै पनि नाममा आउने सिन्डिकेटमा संलग्न हुने छैन ।

व्यवसायीविरोधी सिन्डिकेटमा सहभागी हुनु आमाको रगत खानु सरह हो भन्ने मेरो मान्यता छ । फटाहा कुरा र जालीझेली कुरामा नलाग्न र विश्वास नगर्न पनि मेरो व्यवसायीज्यूहरूसँग आग्रह छ ।

विगतमा सिन्डिकेट लगाउन मतियारका रूपमा काम गरेका केही खलपात्र, जो व्यवसायी पनि होइनन्, उनीहरू चुनावी कार्यक्रममा अतिथिका रूपमा विराजमान गराइएका कारण व्यवसायीका मनमा चिसो पसेको छ, शंका उब्जिएको छ । 

त्यस्ता अनुहार देखेर व्यवसायी त्रसित हुनुभएको होला तर हामी ती सिन्डिकेटधारीका दिवास्वप्न पूरा हुन दिने छैनौं । समय बदलिएको छ ।

चुनावी प्रतिस्पर्धामा अर्को प्यानल पनि तपाईंहरू जस्तै गठबन्धन गरेर आइरहेको छ । कसरी हेरिरहनुभएको छ ?

मेरो नेतृत्वमा बनेको टिम व्यवसायीहरूको हकहितका लागि प्रतिबद्ध छ । हामी हाम्रा एजेन्डा, प्रतिबद्धतापत्र र घोषणापत्रसहित आएका छौं । म प्रतिस्पर्धी साथीहरूलाई व्यक्तिगत रूपमा विरोध गरेर चुनाव जित्न पनि चाहन्नँ । उम्मेदवार र टिमको भिजन, कार्यक्रम र योजनाका आधारमा व्यवसायी मित्रहरूले सही मूल्यांकन गर्नुपर्छ ।

विगतमा हामी ५५ जना व्यवसायी युरोपेली मुलुकको श्रम बजारका बारेमा अध्ययन भ्रमणमा गयौं । कतिपयले घुम्न गए भनेर पनि टिप्पणी गर्नुभयो । तर, त्यसैको परिणाम हाल १५० बढी व्यवसायीले ५० हजार बढी कामदार पठाउन सक्ने वातावरण बनेको छ ।

सहज रूपमा मागपत्र प्रमाणीकरण हुने हो भने अझै ठूलो संख्यामा नेपाली युवा–युवतीले आकर्षक तलबको रोजगारी पाउने अवस्था छ । हामी  क्षेत्रीय, भेगीय वा जातीय कुरामा व्यवसायीहरूलाई भावनात्मक र क्षणिक कुरा गरेर होइन, कूटनीतिक तहमा समन्वय गर्न सक्ने, नीति निर्माण तहमा प्रभावकारी रूपमा कुरा उठाउन सक्ने टिम लिएर आएका छौं । 

मन्त्री, सचिव, मुख्य सचिव आवश्यक परे प्रधानमन्त्रीसम्मलाई भेटेर छलफल गर्ने, तथ्य–तथ्यांक जस्ता पक्ष समेटेर उहाँहरूलाई हाम्रा एजेन्डामा सहमत गराएर कानुनी र नीतिगत परिवर्तन गराउनुपर्ने छ ।

वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्व के हो ? कस्तो हुनुपर्छ भनेर निर्णय गर्ने जिम्मेवारी व्यवसायी मित्रहरूको हो । म आफूलाई पूर्ण सक्षम देख्छु र मलाई समर्थन गर्न अपिल गर्दछु ।

ADV

सम्बन्धित खबर

Advertise