नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी २९ चैतमा हुने निर्वाचनका लागि प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको असन्तुष्ट पक्ष र एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनबीचको तालमेलमा गठित संयुक्त व्यवसायी समूहको प्रथम उपाध्यक्षका उम्मेदवार हुन् नोकरी नेपाल प्रा. लि.का संचालक नरेन्द्रप्रसाद ढकाल । यस समूहको अध्यक्षमा संघका पूर्व द्वितीय उपाध्यक्ष तथा गुरुङ म्यानेजमेन्ट प्रा. लि.का संचालक भुवनसिंह गुरुङले उम्मेदावरी दिएका छन् । प्रस्तुत छ संघको चुनावी माहोलबारे प्रथम उपाध्यक्षका उम्मेदवार व्यवसायी नरेन्द्रप्रसाद ढकालसँग मध्यान्हले गरेको कुराकानीको सम्पादित अंश :
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा प्रथम उपाध्यक्षको उम्मेदवार हुनुहुन्छ । तपाईंका एजेन्डा के–के छन् ?
नेपाली अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको वैदेशिक रोजगार क्षेत्रलाई नीतिगत तथा व्यावहारिक दुवै दृष्टिकोणले पारदर्शिताका आधारमा अगाडि बढाउनुपर्छ भन्ने मान्यतामा म नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका तर्फबाट प्रथम उपाध्यक्षमा उम्मेदवार बनेको छु ।
श्रम बजारमा वार्षिक रूपमा आउने करिब ५ लाख युवा–युवतीलाई आन्तरिक रूपमा पर्याप्त रोजगारीको अवसर सिर्जना हुन सकिरहेको छैन । वैदेशिक रोजगार ऐन, कानुनका व्यवसायीविरोधी प्रावधान हटाउँदै विश्व श्रम बजारमा सिर्जना भएका रोजगारीका अवसर नेपाली बेरोजगार युवा–युवती समक्ष ल्याउन नीतिगत र व्यावहारिक समस्याहरूको समाधान गर्न मैले काम गर्ने छु ।
वैदेशिक रोजगार क्षेत्रमा हाल रहेका मुख्य समस्या के–के हुन् ?
वैदेशिक रोजगारका क्षेत्रमा सरकारले नियन्त्रणमुखी, अपारदर्शी र अव्यावहारिक निर्णय लादेको छ । फ्रि भिसा, फ्रि टिकटको अत्यन्तै अव्यावहारिक निर्णय लागू गरियो । तर, व्यवसायीले पाउने सेवा शुल्क परिमार्जन भएन । अनावश्यक रूपमा बढाइएको इजाजतपत्रको धरौटी तथा बैंक ग्यारेन्टीले गम्भीर खालका नकारात्मक असर पारेको छ ।
इजाजतपत्र नवीकरण गर्दा वार्षिक सय जना कामदार अनिवार्य रूपमा विदेश पठाउनुपर्ने बाध्यता छ । वैदेशिक रोजगारमा जाने श्रमिकहरूलाई रोजगार करारपत्रका आधारमा अन्तिम श्रम स्वीकृति दिइँदैन ।
नेपाली श्रमिकहरूका लागि आकर्षक मानिएका युरोपेली गन्तव्य मुलुकहरूको मागपत्र प्रमाणीकरणमा कूटनीतिक नियोगहरूमा चरम उदासीनता हुँदा सरकारले राजस्व लिएका हजारौं फाइलको काम अड्किँदा आमव्यवसायी निराश छन् ।
व्यवसायीहरूले वैदेशिक रोजगारका क्षेत्रसँग सम्बन्धित अभिमुखीकरण तालिम तथा अन्य व्यवसाय संचालन गर्न नपाउनेगरी अनुचित प्रतिबन्ध लगाइएको छ । त्यस्तै, वैदेशिक रोजगार विभागले परीक्षणका नाममा लागू गरेको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा रहेका झन्झटको सुधार जस्ता अनगिन्ती समस्याभित्र वैदेशिक रोजगार जकडिएको छ ।
यी समस्या समाधान नगरेसम्म वैदेशिक रोजगार अघि बढ्न सक्दैन । समस्या थाँती राखेर कामदारहरू पनि सुरक्षित हुँदैनन् । ऐन र नियमावली तथा सेवा शुल्क परिमार्जनमा नै मेरो जोड रहने छ । सय संख्या समाधान, सेवा शुल्क परिमार्जन र सिन्डिकेट अन्त्य हाम्रो साझा प्रतिबद्धता हो ।
वैदेशिक रोजगारमा हाल रहेका केही समस्या तपाईंहरूले समर्थन गर्ने नेपाली कांग्रेसका नेताहरू मन्त्री हुँदा सिर्जना भएका समस्या छन् । ती समस्यालाई कसरी हेर्नुभएको छ ?
नेपाली कांग्रेस वा नेकपा एमाले आबद्ध नेताहरू मन्त्री हुँदा भएका निर्णयले समस्या सिर्जना भएको भए पनि त्यो समग्र राज्य संयन्त्रको वैदेशिक रोजगार क्षेत्रलाई हेर्ने दृष्टिकोणले उत्पन्न गरेको परिवेश हो । त्यसमा मन्त्रीलाई व्यक्तिगत रूपमा जिम्मेवार ठहर्याउनु भन्दा पनि वैदेशिक रोजगार प्रशासनमा रहेको अपरिपक्वता र पूर्वाग्रहका कारणले व्यवसायविरोधी नीति बनिरहेका छन् भनेर आमव्यवसायीले बुझ्नुपर्छ ।
लामो समयसम्म समाधान नभएका यी समस्याको समाधान कसरी निकाल्नुहुन्छ ?
म विगत २ दशकदेखि यस व्यवसायमा रहेकोे र नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको कुशलतापूर्वक नेतृत्व गरेका कारणले निःस्वार्थ रूपमा काम गर्दा समस्याको समाधान गर्न सकिन्छ ।
विगतमा विभिन्न जिम्मेवारीमा रहँदा व्यवसायीले औंला उठाउने एउटा पनि कमजोरी गरेको छैन । तत्काल समाधान हुनुपर्ने वैदेशिक रोजगारीमा जाने कामदारको लागत परिभाषित गरेर सेवा शुल्कको तार्किक निष्कर्ष पुर्याउने काममा कुनै विलम्ब नगरी समाधान गर्न पहल गर्ने छु ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनमा आबद्ध व्यवसायी फरक–फरक प्यानलबाट प्रतिस्पर्धा गरिरहनुभएको छ, कस्तो लागिरहेको छ ?
एसोसिएसनको आधिकारिक प्यानलको नेतृत्व हामीले गरेका छौं । व्यवसायीका समस्या पहिचान र समाधानका लागि हामी अनुभवी र जानकार छौं । एसोसिएसनमा लामो समय क्रियाशील केही व्यवसायी लहलहैमा लागेर अन्यत्र उम्मेदवार बन्नुभयो ।
वैदेशिक रोजगार क्षेत्रमा एसोसिएसनले सशक्तता यथावत् कायम गरिरहेको देखाएको छ । सुरुमा केही अलमल भएर यताउता लागे पनि यस पटकको निर्वाचनमा प्रजातान्त्रिक प्रणालीमा विश्वास गर्ने व्यवसायीले आधिकारिक उम्मेदवारका पक्षमा मतदान गर्नुहुने छ ।
म व्यवसायीहरूको समस्या समाधानका लागि इमान्दार प्रयास गर्न उम्मेदवार बनेकाले जुनसुकै आस्था र विचार बोक्ने तथा तटस्थ विचारमा रहेका व्यवसायीज्यूहरूलाई व्यावसायिक निष्ठा हेरेर मतदान गर्न आग्रह गर्दछु ।