२०८२ वैशाख २ गते मङ्गलवार / Apr 15 , 2025 , Tuesday
२०८२ वैशाख २ गते मङ्गलवार
Ads

सबै व्यवसायीको पेसा सुरक्षित गर्ने मेरो प्रतिबद्धता : भुवनसिंह गुरुङ

draupadi film
२०८१ चैत २८ गते ०६:१५
सबै व्यवसायीको पेसा सुरक्षित गर्ने मेरो प्रतिबद्धता : भुवनसिंह गुरुङ

लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन र नेकपा (माओवादी केन्द्र) निकट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च प्यानलका अध्यक्ष पदका उम्मेदवार भुवनसिंह गुरुङ नेपाली कांग्रेस समर्थित तमुधीका सभापतिसमेत हुन् । 

गुरुङ म्यानेजमेन्ट प्रा. लि.का संचालक गुरुङ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व द्वितीय उपाध्यक्षसमेत हुन् । कतिपयले उनी सोझो र बढ्ता इमान्दार रहेकोे टिप्पणी गर्छन् । तर, गुरूङ आफैं भने वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्या समाधानका बारे आफू लाटो नरहेको र ऐन कानुन पल्टाउन आवश्यक नरहेको बताउँछन् । प्रस्तुत छ, नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका सन्दर्भमा गरिएको कुराकानीको सम्पादित अंश :

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा अध्यक्षको उम्मेदवार हुनुहुन्छ । तपाईंका एजेन्डा के–के छन् ?

वैदेशिक रोजगार क्षेत्र नेपाली अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको छ । यसमा आाबद्ध करिब ९०० वैदेशिक रोजगार व्यवसायीको व्यवसाय गर्ने अधिकारलाई सुरक्षित गर्ने र यस क्षेत्रमा रहेका नीतिगत तथा व्यवहारिक दुवै समस्या हटाउने मेरा मुख्य प्रतिबद्धता हुन् ।

एकातिर अव्यावहारिक प्रमाणित भइसकेको फ्रि भिसा, फ्रि टिकट नीतिअन्तर्गत १० हजार रुपैयाँ सेवा शुल्क तोक्ने, अर्कातिर सामान्य कमीकमजोरी र त्रुटिमा जनही १ लाख रुपैयाँसम्म जरिमाना गर्ने जुन प्रवृत्ति देखिएको छ, त्यसको अन्त्यलगायतका सुधारका अन्य काम गरेर व्यवसायमा दोस्रो र युवा पुस्तालाई हस्तान्तरण गर्ने लक्ष्य छ ।

यसअघि कार्यसमितिको प्रयत्नका बाबजुद सबै समस्या समाधान हुन सकिरहेका छैनन्, तपाईं कसरी समस्याको समाधान गर्न सक्नुहुन्छ ?

सबैभन्दा पहिला समस्याको समाधान गरेरै छाड्छु भन्ने मनमा अठोट हुनुपर्छ । त्यसपछि सबै वातावरण बन्दै जान्छ । दलीय व्यवस्थामा राजनीतिक दलहरू एक प्रकारले सरकारका अंगका रूपमा रहेका छन् । हामी व्यवसायी विभिन्न पार्टीका नीति, कार्यक्रममा जोडिएका छौं । सबैले सबैतिरबाट पहल गरेर र विभागीय मन्त्रीसँग समन्वय गरेर समस्याको हल गर्न सकिन्छ । मेरो नेतृत्वको टिमले त्यो काम गर्ने छ ।

१५ वर्षदेखि विभिन्न प्रकारले यसै क्षेत्रमा सक्रिय रहेकाले वैदेशिक रोजगार ऐन र नियमावली कठस्थ छ, कहाँ समस्या छ ? भन्ने थाहा छ र समाधानको उपायबारे जानकारी छ । हिजो संघमा आवधिक निर्वाचन गराउन नसक्नेले आज समस्याको समाधान गर्छु भनेर चर्का कुरा गर्न सुहाउँदैन । कतिपयलाई त निवर्तमान भन्न पनि लाज लाग्नुपर्ने हो ।

संघको यस पटकको निर्वाचनको सन्दर्भमा अन्य विषयभन्दा सिन्डिकेटको विषय बढी चर्चामा छ । कतिपयले तपाईंप्रति सिन्डिकेट लगाउनेलाई ठाउँ दिएको भनेर पनि निशाना बनाइरहेका छन् । तपाईंको भनाइ के छ ?

म वैदेशिक रोजगारमा २ दशक बिताएको स्वच्छ छवि कायम राखेको र विगतमा सिन्डिकेटको विरोधमा उभिएको व्यवसायी हुँ । नेपालका करिब ९०० व्यवसायीभित्र मात्र होइन, भुवन गुरुङ सिन्डिकेटविरोधी हो भनेर मेरो नाम मलेसियामा पनि चर्चामा छ । सुनलाई कसी लगाउन पर्दैन ।

अहिले निर्वाचनमा पराजित हुने निश्चित भएपछि विरोधी प्यानलले कपोल्कल्पित र निराधार आरोप लगाएको मात्र हो । विपक्षीहरू सेक्युरिटीमा सिन्डिकेट लगाउने भनेर ४ पटकसम्म मलेसिया पुगेर छलफल गरे । तर, हाम्रो दबाबले उनीहरू अगाडि बढ्न सकेनन् । त्यसैका लागि संघको निर्वाचन अनिश्चितकालसम्म सार्ने काम गरियो ।

हामीले गृहमन्त्री र सीडीओलाई दबाब दिएर बल्ल निर्वाचन हुन लागेको छ । विरोधी सिन्डिकेट लगाउने लोभीपापीको समूह हो ।

तपाईंमाथि व्यवसायीका एजेन्डा छाडेर जातीय र क्षेत्रीय सहानुभूति मात्र लिन खोजेको टिप्पणी पनि छ नि ?

वैदेशिक रोजगारका क्षेत्रमा सरकारले नियन्त्रणमुखी सोचका साथ फ्रि भिसा, फ्रि टिकटको अत्यन्तै अव्यावहारिक निर्णय लागू ग¥यो । तर, व्यवसायीले पाउने सेवा शुल्क परिमार्जन भएन । त्यसपछि अनावश्यक रूपमा बढाइएको इजाजतपत्रको धरौटी तथा बैंक ग्यारेन्टीको विरोधमा म निरन्तर उभिएको छु । 
संख्या सय समाधान, सेवा शुल्क परिमार्जन र सिन्डिकेड अन्त्य गरेर व्यवसायीलाई सुरक्षित गर्नु हाम्रो साझा प्रतिबद्धता हो । त्यसबाट सन्तुष्ट भएर सबै जातजाति, क्षेत्र र भेगका व्यवसायी मेरो पक्षमा उभिनुभएको छ ।

हाम्रो प्यानलले सबै पक्षलाई समेटेर उम्मेदवारी दिएको छ । विगतमा संख्या सयको समस्या समाधान गर्न हामी प्रत्यक्ष÷अप्रत्यक्ष सहभागी थियौं । यो सबै विश्लेषण गरेर व्यवसायी एक ठाउँमा आउनुभएको हो । एजेन्डामा पराजित भएकाले चरित्रमाथि आरोप लगाउनु हारको मानसिकता हो ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनमा आबद्ध व्यवसायी फरक–फरक प्यानलबाट प्रतिस्पर्धा गरिरहनुभएको छ, कस्तो  लागिरहेको छ ?

एसोसिएसनको आधिकारिक प्यानलको नेतृत्व हामीले गरेका छौं । एसोसिएसनको कार्यसमितिको दुई तिहाइ मतले निर्णय गरेकोे हो । त्यसविपरीत जानेलाई विधानले ठेगान लगाउँछ ।

विधानले कारबाहीको व्यवस्था गरेको होला । त्योभन्दा अघि त निर्वाचनमा मत प्रभावित होला नि ?

अराजक गतिविधि गर्ने अन्यत्र विलय भएपछि मेरो जित सुनिश्चित भएको छ । भुवनसिंहले जित्ने पक्कापक्की भएपछि कुनै जानकारी नै नदिएर चुनाव सार्नेहरूबाट मतदाताले जबाफ मागेका छन् । जबाफ दिनुपर्दैन ? 

अन्त्यमा मतदाता व्यवसायीमा के आह्वान छ ?

व्यवसायीका समस्या पहिचान र समाधानका लागि हामी अनुभवी र जानकार छौं । गुलियो कुरा गरेर व्यक्तिगत स्वार्थ पूरा गर्न पल्केकाहरू को हुन् ? छुट्याएर मतदान गर्नुहोस् । एसोसिएसनमा लामो समयदेखि बोलाउँदा अन्यत्र विलय हुन जानेले व्यवसायीका समस्या समाधान गर्ने छैनन् । उनीहरूलाई ब्यालेटमा शून्य बनाएर हैसियत देखाउने बेला आएको छ । 

सुरुमा केही अलमल भएर यताउता लागे पनि यस पटकको निर्वाचनमा प्रजातान्त्रिक प्रणालीमा विश्वास गर्ने व्यवसायीले आधिकारिक उम्मेदवारका पक्षमा मतदान गर्नुहुने छ । म व्यवसायीका समस्या समाधान गर्न इमानदार प्रयासका लागि उम्मेदवार बनेकाले जुनसुकै आस्था र विचार बोक्ने तथा तटस्थ विचारमा रहेका व्यवसायीज्यूहरूलाई व्यावसायिक निष्ठा हेरेर मतदान गर्न आग्रह गर्छु ।

अन्य व्यवसाय जस्तै व्यवसायीको पहिचान सुधार गरेर दोस्रो पुस्ताको नेतृत्वमा व्यवसाय सुम्पनेबाहेक तपाईंको ‘सोल्टी’ भुवन गुरुङको कुनै स्वार्थ छैन । अनेकौं कुरा गरेर दिउँसै रात पार्नेको पछि नलाग्नुहोला ।

ADV

सम्बन्धित खबर

Advertise