२०८२ वैशाख २ गते मङ्गलवार / Apr 15 , 2025 , Tuesday
२०८२ वैशाख २ गते मङ्गलवार
Ads

संघलाई व्यवस्थित र व्यवसायीलाई सुरक्षित बनाउने छु : कर्णराज कटुवाल

draupadi film
२०८१ चैत २८ गते ०६:२५
संघलाई व्यवस्थित र व्यवसायीलाई सुरक्षित बनाउने छु : कर्णराज कटुवाल

डाइनामिक स्टाफिङ सोलुसन प्रा. लि.का सञ्चालक कर्णराज कटुवाल नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमिति सदस्य र सचिवको जिम्मेवारी पूरा गर्दै हाल महासचिवको उम्मेदवार बनेका छन् । सचिवको जिम्मेवारीमा रहँदा वैदेशिक रोजगार विभागमा पर्ने कामदारको उजुरी फरफारक गरेर व्यवसायी र फर्केका कामदारको तनाव कम गर्न महत्वपूर्ण भूमिका निभाएका कारण उनी चर्चामा छन् । सरल तथा सबैसँग घुलमिल गर्ने स्वभावका कटुवाल महासचिव पदमा निर्वाचित भएपछि संघलाई कुशल प्रशासनिक नेतृत्व प्रदान गर्ने, विभागका समस्या समाधानका लागि विगतको पहललाई निरन्तरता दिने र वैदेशिक रोजगार ऐनमा रहेका व्यवसायी विरोधी प्रावधान हटाउन पहल गर्ने बताउँछन् । प्रस्तुत छ संघको चुनावी माहोलबारे महासचिवका उम्मेदवार व्यवसायी कर्णराज कटुवालसँग मध्यान्हले गरेको कुराकानीको सम्पादित अंश :

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा नरेश गेलाल प्यानलमा महासचिवको उम्मेदवार हुनुहुन्छ । तपाईंका एजेन्डा के–के छन् ?

नेपाली अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको वैदेशिक रोजगार क्षेत्रलाई नीतिगत तथा व्यावहारिक दुवै दृष्टिकोणले पारदर्शिताका आधारमा अगाडि बढाउनुपर्छ भन्ने मान्यतामा म महासचिवको उम्मेदवार बनेको छु ।

विश्व श्रम बजारमा सिर्जना भएका रोजगारीका अवसरहरू नेपाली बेरोजगार युवा–युवती समक्ष ल्याउन सरकारका कतिपय अस्पष्ट नीति निर्णयका कारणले बाधा पु¥याइरहेको छ । यसले व्यवसायीहरूमा आत्मविश्वास गुमाएको छ ।

म अघिल्लो कार्यसमितिको सचिव भएका नाताले कुन काम कहाँ कस्तो अवस्थामा छ, सबै जानकारीमा छ । निर्वाचित हुने  नयाँलाई जस्तो मलाई काम गर्न समस्या छैन । व्यवसायी भलाइ कोष, सेवा शुल्क परिमार्जन, फेमिस समस्या समाधान, वैदेशिक रोजगार ऐन तथा नियमावली परिमार्जन जस्ता नीतिगत र व्यावहारिक विभिन्न समस्यामा जेलिएको वैदेशिक रोजगारलाई नीतिगत र व्यावहारिक रूपमा स्पष्ट बनाउने विषयमा मैले काम गर्ने छु ।

वैदेशिक रोजगार क्षेत्रमा हाल रहेका मुख्य समस्या के–के हुन् ?

वैदेशिक रोजगारका क्षेत्रमा सरकारले कतिपय अवस्थामा नियन्त्रण, कतिपय  अपारदर्शी र अव्यावहारिक निर्णय लादेको छ । वैदेशिक रोजगार ऐन र नियमावलीमा  नीतिगत परिवर्तन गर्दा स्टेक होल्डरसँग छलफल गर्नुपर्ने उल्लेख छ । तर, सिजनल भिसाका नाममा स्थानीय तहलाई ऐजेन्टका रूपमा बदनाम गर्ने प्रयास भइरहेको छ, त्यसलाई रोक्नुपर्छ ।

हाम्रो प्यानलले कामदारको लागतको परिभाषा नै स्पष्ट नगरी  बिनाअध्ययन फ्रि भिसा, फ्रि टिकटको निर्णय लागू गरिएको तर व्यवसायीले पाउने सेवा शुल्क परिमार्जन नभएको विषयलाई गम्भीरताका साथ उठाएको छ ।

व्यवसायीहरूले वैदेशिक रोजगारका क्षेत्रसँग सम्बन्धित अभिमुखीकरण तालिम तथा अन्य व्यवसाय संचालन गर्न नपाउनेगरी अनुचित प्रतिबन्ध लगाइएको छ । ऐन संशोधन गर्दा यी विषय परिवर्तन हुनुपर्ने छ । इजाजतपत्र नवीकरण गर्दा वार्षिक सय जना कामदार अनिवार्य रूपमा विदेश पठाउनुपर्ने बाध्यता परिवर्तन गर्नुपर्छ ।

वैदेशिक रोजगारमा जाने श्रमिकहरूलाई रोजगार करारपत्रका आधारमा अन्तिम श्रम स्वीकृति दिइँदैन । उच्च दक्ष, अर्धदक्ष र अदक्ष गरी ४ क्याटेगोरीमा अन्तिम श्रम स्वीकृति दिनुपर्नेमा हजारौं पद सृजना गरेर व्यवसायीहरूलाई दुःख र हैरानी दिने अवस्था छ ।

कूटनीतिक नियोगहरूलाई परिपत्र गरेर समस्याको समाधान गर्नुपर्छ । नेपाली श्रमिकहरूका लागि आकर्षक मानिएका युरोपेली गन्तव्य मुलुकहरूको मागपत्र प्रमाणीकरमा कूटनीतिक नियोगहरूमा चरम उदासीनता छ ।

त्यस्तै, वैदेशिक रोजगार विभागले परीक्षणका नाममा लागू गरेको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)मा रहेका झन्झटको सुधार जस्ता अनगिन्ती समस्याभित्र वैदेशिक रोजगार जकडिएको छ । यी समस्या समाधान नगरेसम्म वैदेशिक रोजगार अघि बढ्न सक्दैन । समस्या थाँती राखेर कामदारहरू पनि सुरक्षित हुँदैनन् । ऐन र नियमावली तथा सेवा शुल्क परिमार्जन नै मेरा मुख्य लक्ष्य हुन् ।
 
वैदेशिक रोजगारमा हाल खडा भइरहेका समस्या समाधान हुन सकेनन् । ती समस्यालाई कसरी हेर्नुभएको छ त ?

समग्र राज्य संयन्त्रको वैदेशिक रोजगार क्षेत्रलाई हेर्ने दृष्टिकोण स्पष्ट छैन । त्यसमा मन्त्रीलाई व्यक्तिगत रूपमा जिम्मेवार ठहर्‍याउनु भन्दा पनि राज्य संरचना र राज्य संयन्त्रमा कायम रहेको अपरिपक्व र पूर्वाग्रहका कारणले व्यवसायविरोधी नीति बन्छन् भनेर बुझ्नुपर्छ ।

देखिएका समस्याको समाधान कसरी निकाल्नु हुन्छ ?

म व्यवसायमा र संघमा विगतमा विभिन्न जिम्मेवारीमा रहँदा औंला उठाउने एउटा पनि कमजोरी गरेको छैन । तत्काल समाधान हुनुपर्ने साउदी एम्बुलेन्स स्ट्याम्पिङ, मलेसियाको मेडिकल समस्या, फेमिस समस्या समाधान, भलाइ कोषको कार्यान्वयन, सेवा शुल्क तार्किक निष्कर्षमा पुर्‍याउने, वैदेशिक रोजगारीमा जाने कामदारको लागत परिभाषित गराउने, विगतमा फ्रि भिसा, फ्रि टिकट निर्णय लागू गर्दा श्रम मन्त्रालयले गरेको ३१ बुँदे सहमतिमा पुनरावलोकन गर्नेसहित संघको भवन निर्माण र व्यवसायीका दैनिक समस्या कुनै विलम्ब नगरी समाधान गर्न पहल गर्ने छु । 

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनमा आवद्ध व्यवसायी फरक–फरक प्यानलबाट प्रतिस्पर्धा गरिरहनुभएको छ, कस्तो लागिरहेकोे छ ?

व्यवसायीका समस्या पहिचान र समाधानका लागि हामी अनुभवी र जानकार छौं । एसोसिएसनमा लामो समय क्रियाशील केही व्यवसायी लहलहैमा अन्यत्र उम्मेदवार बन्नुभयो । सुरुमा केही अलमल भएर यताउता लागे पनि निर्वाचनमा प्रजातान्त्रिक प्रणालीमा विश्वास गर्ने व्यवसायीले योग्य र इमान्दार उम्मेदवारका पक्षमा मतदान गर्नुहुने छ ।

म व्यवसायीका समस्याको समाधानका लागि इमान्दार प्रयासका लागि उम्मेदवार बनेकाले जुनसुकै आस्था र विचार बोक्ने तथा तटस्थ सबै विचारमा रहेका व्यवसायीज्यूहरूलाई मेरो विगत र व्यावसायिक निष्ठा हेरेर मतदान गर्न आग्रह गर्दछु ।

ADV

सम्बन्धित खबर

Advertise