विशेषगरी २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालीहरू वैदेशिक रोजगारीमा जाने क्रम निकै बढेको हो । खाडी, मलेसिया मात्र नभएर पछिल्लो समय विश्वका धनी र सम्पन्न पहिलो विश्व भनिने युरोप र अमेरिकाका देशहरूसँगै अस्ट्रेलिया, जापान, क्यानाडालगायत धेरै देशहरूमा नेपाली दक्ष, अर्धदक्ष कामदारका रूपमा गइरहेका छन् । यसरी विदेश गएका नेपालीहरूले पठाएको रकम अर्थात् रेमिट्यान्सले देशको अर्थतन्त्रको ठूलो हिस्सा धानेको छ । यही भएर त वैदेशिक रोजगारीप्रति सरकारलगायत आमजनको चासो बढी नै देखिन्छ । वैदेशिक रोजगारीमा गएका नेपाली युवा जनशक्तिले फठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रलाई मजबु्त बनाएको भर्खरै नेपाल राष्ट्र बैंकले जारी गरेको प्रतिवेदनमा समेत उल्लेख छ ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा रेमिट्यान्स साढे १० खर्बभन्दा बढी भित्रिएको छ । आर्थिक वर्ष २०८१/०८२ को ८ महिनामा १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ भित्रिएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ दशमलव ४ प्रतिशतले बढी हो । नेपालबाट रोजगारीका लागि देश छाड्नेको संख्या बढ्दै जाँदा नेपाल आउने रेमिट्यान्ससमेत बढिरहेको छ । यसरी हेर्दा वैदेशिक रोजगारीप्रति हामीले सकारात्मक हुने प्रशस्त ठाउँ छ । तर, दक्ष र सशक्त युवा जनशक्ति विदेशतिर श्रम गर्न जाँदा देश विकासमा कतिको असर पर्छ भनेर पनि सोच्नु आवश्यक हुन्छ । यद्यपि, संसार नै विश्वग्राममा परिणत भइरहेका बेला हाम्रो जनशक्तिले विदेशमा गएर सीप सिकेर दक्षता हासिल गरेर स्वदेश फर्किएर त्यसको सदुपयोग गर्न सकेमा त्यसको फाइदा हामीलाई नै पुग्ने छ ।
यद्यपि, वैदेशिक रोजगारीमा समस्या पनि उत्तिकै छन् । विदेश जानुअघि देशमै भोग्नुपर्ने अनेक सरकारी र अन्य झन्झट अनि विदेश टेकिसकेपछि भोग्नुपर्ने अन्योल, शोषण, ठगी, कम्पनीको बेवास्ता, कम तलब जस्ता कामदारका समस्यामा सरोकारवालाहरू गम्भीर बन्न नसकेको अवस्था विद्यमान छ । आज नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३१औं अधिवेशन र निर्वाचन हुँदै छ । यसमा करिब १ हजार व्यवसायहरू संलग्न छन् । वैदेशिक रोजगारीका समस्या समाधानमा संघको र व्यवसायीहरूको पनि उत्तिकै भूमिका हुन सक्छ । यसरी नै व्यवसायीका समस्या पनि उस्तै छन् । ती समस्यालाई शीघ्र सम्बोधन गरेर समाधान गरी उचित वातावरण तयार पारिदिने दायित्व सरकारको पनि हो । वैदेशिक रोजगार व्यवसायीहरूको निर्वाचन शान्त, सौहार्द र सफल बनोस्, हार्दिक शुभकामना ।