२०८२ वैशाख ३ गते बुधवार / Apr 16 , 2025 , Wednesday
२०८२ वैशाख ३ गते बुधवार
Ads

देशले गर्नुपर्ने समीक्षा

draupadi film
२०८२ वैशाख १ गते ०६:१०
देशले गर्नुपर्ने समीक्षा

विक्रम सम्बत् २०८२ सुरु भएको छ । सम्बत् २०८१ लाई बिदाइ गर्दै नयाँ वर्षको स्वागत गरिरहँदा धेरैले गर्ने भनेको संकल्प हो । सुरक्षित र समृद्ध भविष्यको अपेक्षासहित आफ्ना जीवन संस्कृति परिवर्तनको संकल्प प्रायः नयाँ वर्षकै दिन सुरु गर्ने प्रचलन छ । समय अवधिमा वर्ष दिन मानिसको जीवनचक्रमा अर्थपूर्ण हुने भएकाले पनि यही संकल्प गरिएको हुनुपर्छ । उसो त महिना, साता अथवा दिनमा पनि संकल्प गरिन्छ तर ती संकल्प छोटो अवधिका हुने भए । दशक, रजत र शताब्दी मानिसको जीवनमा लामो कालखण्ड हुने भयो । त्यसो हुँदा वर्ष दिन संकल्पका निम्ति उपयुक्त अवधि मानिन्छ र नयाँ वर्षका दिन संकल्प गरिन्छ । 

संकल्पको आधार भने समीक्षा नै हो । बितेका समयमा गरिएका कामहरूको समीक्षाले नै नयाँ संकल्पको आधार सिर्जना गर्छ । हाम्रा आनीबानी कस्ता छन् ? कमजोरी के भए ? राम्रा पक्ष के हुन् ? जस्ता पक्षहरूको समीक्षाबाटै संकल्पको बलियो आधार सिर्जना हुन्छ । त्यसो हुँदा परिवार र व्यक्तिको सुधारका निम्ति व्यक्तिकै कामहरूको समीक्षा आवश्यक छ । समाज सुधारका निम्ति समाजकै समस्याहरूमाथि मन्थन जरुरी छ । मुलुक र मानव जातिका निम्ति गरिने संकल्पका निम्ति अझ ठूलो र वैज्ञानिक प्रणालीमा विगतका समीक्षा गर्न हुन्छ । बिनाआधार गरिने संकल्प भावनात्मक विषय मात्र हुन् । भगवान् भरोसाको अर्थ मानवीय प्रयत्न शून्य हुनु हो । 

अतः व्यक्तिगत संकल्पका कुरा व्यक्तिगत चाहनामा निर्भर छ । बहस गरिनुपर्ने एजेन्डा भने सामाजिक संकल्पको हो । हाम्रा राजनीति, अर्थनीति, कूटनीति, संस्कृति र समाज कसरी चलिरहेका छन् ? गरिनुपर्ने सुधार के हुन् ? ती विषयहरूमा चिन्तन जरुरी छ । हाम्रो राजनीतिमा देखिएको यति धेरै अस्थिरता र अविश्वासका कारण खोजी गरिनु जरुरी छ । राजनीतिले लिक छाड्दा समाजका इन्जिनहरूले पनि काम नगर्दा रहेछन् । अरू संस्थाहरू पनि दुर्घटनामा पर्दा रहेछन् । राजनीति सबै नीतिको पनि मूल नीति हुने भएकाले राजनीतिमा सुधार अत्यावश्यक छ । त्यसैले, नयाँ वर्षमा गरिनुपर्ने आमसमीक्षा र संकल्प राजनीतिको पनि हो । सँगै व्यक्तिगत आँचरण, सोच र जीवन प्रणालीको सुधारमा पनि अर्को वर्ष नकुरी संकल्प गरौं । नयाँ वर्ष, २०८२ को हार्दिक शुभकामना !

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise