सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको अभाव सामान्य विषय जस्तै भइसकेको छ । प्रत्येक वर्ष गर्मी मौसम सुरु भएसँगै यहाँ पानीको अभाव हुनु सुरु हुन्छ ।
प्रदेश राजधानीमै भएको पानीको समस्याले अन्य ठाउँको समस्यालाई समेत देखाएको छ । प्रदेशको राजधानी भएपछि बढ्दो शहरीकरण तथा जनघनत्वका कारण बर्सेनि खानेपानीको समस्या झेल्दै आएको छ वीरेन्द्रनगरले ।
योसँगै सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले सुख्खा खडेरीका कारणले यहाँ ४ दिनमा १ दिन पानी वितरण गर्ने जनाएको छ ।
सुर्खेत उपत्यकामा खानेपानी वितरण गर्दै आएको संस्थाले अबदेखि ९६ घण्टापछि उपभोक्ताका धारामा पानी वितरण गरिने भएकाले खानेपानीको समस्या सुरु भएको छ । सुख्खा खडेरीका कारण पानीको स्रोत घट्दै गएपछि संस्थाले ३ दिनको फरकमा पानी वितरण गर्न लागेको हो ।
पछिल्लो समय वीरेन्द्रनगरमा बढ्दो शहरीकरणका कारण पनि खानेपानीको अभाव हुने गरेको सुर्खेत खानेपानी उपभोक्ता संस्थाका कार्यालय प्रमुख डम्बरबहादुर गौतमले बताए ।
‘खानेपानीको मुहान सुकेका कारण अहिले हामीले ४ दिनमा १ दिन खानेपानी वितरण गर्ने गरेका छौं’, उनले भने, ‘वैकल्पिक उपाय नभएमा यो समस्या रहिरहन्छ ।’
संस्थाले हाल नगरका २० हजार उपभोक्तालाई खानेपानी वितरण गर्दै आएको छ । खडेरीमा हरेक वर्ष उपत्यकामा पानीको हाहाकार हुने हुँदा मागअनुसार पानी पु¥याउन नसकेको प्रमुख गौतमले बताए । ‘अहिले २० हजार उपभोक्ता छन्’, उनले भने, ‘खानेपानीको नयाँ धारा जडानको माग पनि बढेकै छ । विगत केही वर्षदेखि नयाँ धारा जडान गरेका छैनौं ।’
उपत्यकामा सहज रूपमा खानेपानी आपूर्ति गर्न दैनिक ३८८ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक छ । वर्षा र हिउँदको समयमा समेत आयोजनाको डिजाइन क्षमताअनुसार झुप्रा खोलाबाट ८६, खरीखोला बोरीखोलाबाट ३०, इत्राम खोलाबाट २७, दुन्दुरे खोलाबाट ५ र खोर्के खोलाबाट १० लिटर प्रतिसेकेन्ड गरी जम्मा १५८ लिटर प्रतिसेकेन्ड खानेपानी उपलब्ध हुने गरेको थियो ।
खानेपानीका स्रोतहरूमा ह्रास आएपछि अहिले झुप्रा खोलाबाट ५०, खरीबोरी खोलाबाट २०, इत्राम खोलाबाट १०, दुन्दुरे खोलाबाट ५ र खोर्के खोलाबाट ५ लिटर प्रतिसेकेन्ड १५८ लिटर पानी आपूर्ति भइरहेको संस्थाका प्रमुख इन्जिनियर बालाराम तिवारीले बताए । अबदेखि ४ दिनको फरकमा खानेपानी वितरण गर्नेगरी वितरण समय तालिका बनाएको तिवारीले बताए ।
उपत्यकाको असमान भू–बनोटका कारण कुनै धारामा पानी जाने, कुनैमा नजाने समस्या देखिन सक्ने भएकाले संस्थालाई खबर गर्न इन्जिनियर तिवारीले जानकारी दिए । ‘हाम्रा ९ वटा स्किम छन्’, उनले भने, ‘तिनै स्किममा समस्या पर्ने भएकाले कार्यालयमा जानकारी दिन भनेका छौं ।’
२०६२ देखि २०७७ सालसम्म डिजाइन अवधि रहेको आयोजनाको हाल उक्त अवधि समाप्त भइसकेको छ । हाल वीरेन्द्रनगरको जनसंख्या २ लाख बढी छ । उपत्यकामा बढ्दो शहरीकरणसँगै जनसंख्या वृद्धि हुँदै जाँदा खानेपानीको मागअनुसार आपूर्तिमा सन्तुलन कायम गर्न नसक्दा अहिलेको समस्या आएको हो ।
२५ वर्ष पुरानो खानेपानीको स्रोतले वीरेन्द्रनगरमा मागअनुसारको खानेपानीको आपूर्ति धान्न नसक्ने भन्दै २०६८ सालदेखि नै आयोजनाको पुनरावलोकनका लागि आवाज उठाउँदै आएको भए पनि सरकारी तवरबाट हालसम्म कुनै सुनुवाइ भएको छैन ।
वीरेन्द्रनगर नगरपालिकाको खानेपानीको विकल्पमा रूपमा लिइएको बहुचर्चित भेरी पम्पिङ आयोजनाअन्तर्गत पहिलो चरणको काम भइरहेको छ । यो काम अबको साढे २ वर्षमा सम्पन्न गरिने छ ।
उक्त काम सम्पन्न भएपछि खानेपानीको समस्या समाधान हुने नगरपालिकाको दाबी छ । नगरपालिकाले कुल १६ वटा वडामध्ये १३ नम्बर वडामा खानेपानी वितरण गर्ने लक्ष्य राखेको छ ।